बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय
पत्रकार सम्मेलन

राम्रो काम गरे पूरै कार्यकाल प्रचण्ड प्रधानमन्त्री : महासचिव पोखरेल

शुक्रबार, ०७ वैशाख २०८१, १६ : ४५
शुक्रबार, ०७ वैशाख २०८१

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकारले राम्रो काम गरे पूरै कार्यकाल प्रचण्ड प्रधानमन्त्री बन्ने बताएका छन् । शुक्रबार एमाले पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीको जिज्ञासामा महासचिव पोखरेलले एमालेको चिन्ता मुलुक, जनता र राष्ट्रको भविष्यप्रति भएको भन्दै एमाले प्रधानमन्त्री परिवर्तनको पक्षमा नरहेको दाबी गरे । 

‘कतिपयले आलोपालो प्रधानमन्त्री भनेका छन् । तर हामी यो सरकारले राम्रो काम गर्छ भने यसलाई निरन्तरता दिन तयार छौ भनेर भनिराखेका छौँ’, महासचिव पोखरेलले भने, ‘किनकि हाम्रो चिन्ता मुलुक, जनता र राष्ट्रको भविष्यप्रति हो ।’

महासचिव पोखरेलले गणतन्त्र र लोकतन्त्रको सुदृढीकरणका सवालमा सबै पक्षसँग एमाले मिलेर जान तयार रहेको समेत बताए । ‘मुलुकलाई ओरालो यात्राबाट सुरक्षित यात्रामा डोर्‍याउने कुरा नै प्राथमिकता हो’,महासचिव पोखरेलको भनाइ छ । उनले लोकतन्त्रमाथि सङ्कट आएका बेला कांग्रेससँग पनि मिलेर काम गर्नुपर्छ भनेर भनिरहेको बताए ।  

नेता पोखरेलले प्रदेशहरूमा देखिएको अस्थिरता राष्ट्रिय राजनीतिमा भएको कोर्स करेक्सनको प्रभाव भएको पनि टिप्पणी गरे । केन्द्रको राजनीतिक समीकरण अनुसार नै प्रदेश सरकारहरू बनेपछि मात्र मुलुकले स्थायित्व प्राप्त गर्ने पोखरेलको दाबी छ । 

‘नयाँ राजनीतिक कोर्स करेक्सनका कारण प्रदेशहरूमा जुन प्रकारको परिवर्तन देखा परेको छ त्यसलाई अस्थिरता ठानिराख्नुभएको छ भने त्यो स्वाभाविक रूपमा राष्ट्रिय राजनीतिको कोर्स करेक्सनको प्रभाव हो’, महासचिव पोखरेलले भने, ‘अब सातवटै प्रदेशहरूमा केन्द्रमा जुन प्रकारको राजनीतिक समीकरण बनेको छ त्यही समीकरणको जगमा प्रदेश सरकारहरू बन्दा मुलुकले स्थायित्व प्राप्त गर्नेछ ।’

महासचिव पोखरेलले अस्थिरताको जगमा खडा भएका प्रदेश सरकारहरू परिवर्तन जरुरी रहेको बताए ।  ‘जहाँ नीति विहिनता, उद्देश्य, लक्ष्य विहिनता र नीति नमिल्ने दलहरूबिचको गठबन्धनको अवस्थाबाट सापेक्षित रूपमा वामपन्थी र नयाँ शक्ति मिलेर अहिलेको समीकरण बनेको छ’, पोखरेलको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप