शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
इतिहास

हिमाली महासङ्घ राज्यका प्रस्तावक मुख्तियार भीमसेन थापा

शनिबार, ०८ वैशाख २०८१, १२ : १५
शनिबार, ०८ वैशाख २०८१

नेपालको राजनीतिक इतिहासमा दुई अमरसिंह थापा चर्चित छन्— सानाकाजी जनरल अमरसिंह थापा (जन्म ः वि.सं. १८१६) र बडाकाजी अमरसिंह थापा (जन्म ः वि.सं. १८०८) ।

बलिराज थापाका दुई छोरामध्ये जेठा रामचन्द्र थापाका वंश क्रमबाट विक्रम थापाका नाति, वीरभद्र थापाका छोरा सानाकाजी जनरल अमरसिंह थापा (जन्म ः वि.सं. १८१६) का छोरा मुख्तियार भीमसेन थापा (जन्म ः वि.सं. १८३२) राष्ट्रिय विभूति हुन् । 

बलिराज थापाकै कान्छा छोरा लक्ष्मण थापाको वंश क्रमबाट रणञ्जयसिंह (रञ्जै) थापाका नाति बाघ भीमसिंह थापाका छोरा बडाकाजी अमरसिंह थापा (जन्म ः वि.सं. १८०८), जो राष्ट्रिय विभूति हुन् । यसरी आत्रेय गोत्री बगाले थापा क्षेत्री वंशको पारिवारिक नाता क्रममा बडाकाजी अमरसिंह थापा र मुख्तियार भीमसेन थापा काका–भतिज हुन् । 

मुख्तियार भीमसेन थापाका बुबा सानाकाजी अमरसिंह थापा पाल्पाका शासक थिए, जसले आधुनिक नेपालको एकीकरण दौरानमा आफ्नो सम्पूर्ण जीवन राष्ट्रिय हित र एकताका लागि सुम्पेको राजनीतिक इतिहास साक्षी छ । 

भीमसेन थापाले ३१ वर्ष (वि.सं. १८६३–१८९४) मुख्तियार भई तत्कालीन नेपाल सरकारको प्रमुखका रूपमा राष्ट्रको सेवा गरे । उनै भीमसेन थापाले ‘हिमाली महासङ्घ राज्य’ स्थापनाका लागि नेतृत्व गर्दै अभियान प्रारम्भ गरे । भीमसेन थापा नेतृत्वको शासनकालमा अङ्ग्रेजले तत्कालीन नेपाल सरकारलाई दिएको समय सीमाभन्दा अगाडि नै नेपालमाथि गरेको आक्रमण (सन् १८१४–१८१६)ले ‘नेपाल–अङ्ग्रेज युद्ध’को स्वरूप लिएको थियो । यस सन्दर्भमा मुख्तियार भीमसेन थापाका बारेमा खोज–अनुसन्धान गरी ज्ञानु ढुङ्गेलले लेखेको ‘मुख्तियार भीमसेन थापा र तत्कालीन नेपाली साहित्य’ पुस्तकमा भीमसेन थापालाई कमान्डर इन् चिफको उपाधि दिँदा गरिएको लालमोहरमा लेखिएको तथ्यलाई यसरी प्रकाश पारेका छन्, ‘प्रारम्भमा भीमसेन थापा युद्ध गर्ने पक्षमा थिएनन् । विवादित क्षेत्रका अधिकारीलाई अहिले विवाद नगर्नु भनी भीमसेन थापाले पत्र पठाएका थिए । मुख्तियार भीमसेन थापाको आदेशलाई कार्यान्वयन गराउन नपाउँदै अङ्ग्रेजले युद्ध प्रारम्भ गरेछ ।’ 

यसबाट पनि के प्रमाणित हुन्छ भने अङ्ग्रेजले तत्कालीन नेपाल सरकारलाई सरप्राइज दिएर एक्कासि आक्रमण गरी युद्ध प्रारम्भ गरेको बुझिन्छ । 

उता, विभिन्न कालक्रममा ‘नेपाल–भोट चीन युद्ध’ समेत घटेको थियो । नेपाल–अङ्ग्रेज युद्ध केवल अङ्ग्रेजले नेपालविरुद्ध गरेको आक्रमणको नेपाली प्रत्याक्रमण मात्र थियो भन्नु अपुरो बुझाइ हुन सक्छ । फेरि यो युद्धको प्रतिरोध युद्ध अर्थात् प्रत्याक्रमण युद्ध पृथ्वीनारायण शाहद्वारा निर्देशित आधुनिक नेपालको एकीकरणको अपुरो कार्य मात्रै पनि थिएन । एकीकरणका बडाकाजी अमरसिंह थापा र मुख्तियार भीमसेन थापाको भित्री राजनीतिक योजना र अभिलाषा थियो— यो युद्धको मौका पारेर नेपाललाई तत्काल पूर्वमा टिस्टा, पश्चिममा कस्मिरसम्म फैलाउने । यसैको रणनीतिक योजनाअनुरूप क्रमशः राजा गीर्वाणयुद्धविक्रम शाह र राजेन्द्रविक्रम शाहको राजकीय नेतृत्वमा राष्ट्रिय विभूतिद्वय अमर–भीमसेन (काका–भतिज)द्वारा परिचालित युद्ध कमान्ड दौरान अङ्ग्रेजी साम्राज्यवादविरुद्ध प्रत्याक्रमण युद्ध सञ्चालन हुन गयो । 

मुख्तियार भीमसेन थापाले आफ्नो रणनीति अनुसार नेपाल–अङ्ग्रेज युद्ध सकिनासाथ हिमाली राज्यहरूलाई मिलाएर एउटा महासङ्घ बनाउने प्रस्ताव राखेका थिए । यसै सन्दर्भमा उनले बर्मादेखि इरान, अफ्गानिस्तान र फ्रान्ससँग समेत पत्राचार गरेको देखिएको प्रा.डा. गोपाल शिवाकोटी लगायत राजनीतिशास्त्रीको दाबी छ ।

युद्ध योजनामा भीमसेन थापाले ‘ग्रान्ड डिजाइनर’को भूमिकामा रहेर काम गरेका थिए भने एकीकरणका बडाकाजी अमरसिंह थापाले युद्ध मैदानमा महारथीको भूमिकामा थिए । भीमसेन थापाको प्रशासकीय नेतृत्वमा भएको सो युद्धमा बडाकाजी अमरसिंह थापा मात्र थिएनन्, उनीसँगै रामकृष्ण कुँवर, भक्ति थापा, स्वरूपसिंह कार्की, नयनसिंह थापा, अभिमानसिंह बस्न्यात, बलभद्र कुँवर, बम शाह, पारथ भण्डारी, दामोदर पाण्डे लगायत थुप्रै वीर युद्ध–कार्याधिकृत कमान्डर थिए । यसमा एकीकरणका बडाकाजी अमरसिंह थापा पूरै युद्धकालका ओभरल–कमान्डर थिए ।

मुख्तियार भीमसेन थापाको नेतृत्वअन्तर्गत काठमाडौँ बाहिर नेपाली सेनाका कमान्डरहरू खटिएका थिए । बडाकाजीका छोरा कर्णेल बख्तावरसिंह थापाको नेतृत्वमा करिब दुई हजार सेनासहितको पहिलो डफ्फा विजयपुर क्षेत्रमा खटिएको थियो । यिनै बख्तावरसिंह थापा दोस्रोपटक (सन् १८१२–१८१३) नेपाली सौगात मण्डल (क्विनक्वेनियल मिसन) को नेतृत्व गर्दै चीनको पेकिङ गएका थिए । 

कर्णेल रणवीरसिंह थापाको नेतृत्वमा करिब चार हजार सेनाको दोस्रो डफ्फा मकवानपुर क्षेत्रमा खटिएको थियो । पाल्पा क्षेत्रमा कर्णेल उजिरसिंह थापाको नेतृत्वमा करिब तीन हजार सेनासहितको तेस्रो र चौथो डफ्फा

तीन भागमा बाँडिएर खटिएका थिए, यिनीहरूले नेपालको मध्यभागमा तैनाथ अङ्ग्रेजतर्फका तीन डफ्फाविरुद्ध प्रत्याक्रमण युद्ध गरेका थिए । 

पश्चिमको कुमाउँ र गढवालका दुई क्षेत्रमा रहेको करिब तीन हजार सेनाको पाँचौँ डफ्फाका साथमा बडाकाजी अमरसिंह थापा र उनका छोराहरू काजी रामदास थापा, काजी रणजोर थापाले युद्ध गरेका थिए । यिनै रणजोर थापा सन् १८१७ मा नेपाली सौगात मण्डलको नेतृत्व गर्दै चीनको पेकिङ गएका थिए । त्यसै गरी बडाकाजीका छोरीपट्टिका नातिहरू वीरभद्र कुँवर, राष्ट्रिय विभूति भक्ति थापा लगायत नेपाली सेनाका कमान्डरले सो प्रत्याक्रमण युद्ध गरेका थिए । 

राष्ट्रिय विभूति बडाकाजी अमरसिंह थापाका छोरीपट्टिका नाति राष्ट्रिय विभूति बलभद्र कुँवर र बडाकाजीका छोरा रणजोर थापा नेतृत्वको गोरखाली सेनाले जैथक किल्लाको रक्षाको जिम्मेवारी पाएका थिए । चौतारिया बम शाह, वीर भक्ति थापा, काजी रणजोर थापा र बलभद्र कुँवर नेतृत्वको फौज पश्चिममा कस्मिरको छेउ चम्बासम्म हिमाली राज्य विस्तार अभियानमा लागेको थियो । यस अभियानका युद्ध रणनीतिकार बडाकाजी अमरसिंह थापा थिए । त्यसकारण बडाकाजी अमरसिंह थापालाई ‘हिमाल रणकेशरी’ पनि भनिन्छ । उनलाई नेपालको ‘जिउँदो सिंह’ उपाधिले पनि विभूषित गरिएको छ । यहाँनिर विचारणीय तथ्य के छ भने यो ‘एङ्गलो–नेपाल युद्ध’ को नेपाली प्रत्याक्रमण युद्धमा प्रायः सबै कमान्डरहरू राष्ट्रिय विभूति बडाकाजी अमरसिंह थापाका छोरा, नाति र राष्ट्रिय विभूति मुख्तियार भीमसेन थापाका भाइ, भतिजाहरू अर्थात् एउटै बराजु बलिराज थापाका सन्तान–सन्तति थिए । 

वास्तवमा भीमसेन थापाद्वारा प्रस्तावित हिमाली महासङ्घको रणनीति एसियाली एकताको हितमा थियो, यो कसैको पनि पक्ष वा विपक्षमा थिएन । किनकि ‘एसिया भनेको एसियालीहरूकै हुनुपर्छ’ भन्ने अवधारणाको विकास पनि भीमसेन थापाले नै गरेका थिए ।

त्यसैगरी दामोदर पाण्डे, रामकृष्ण कुँवर, पारथ भण्डारी, बडाकाजी अमरसिंह थापा लगायतको नेतृत्वको फौजले पूर्वमा टिस्टासम्म हिमाली राज्य विस्तार गर्न सफल भएका थिए तर सन् १८१६ को सुगौली सन्धिले वर्तमान नेपालको क्षेत्रफल निर्धारण गरेसँगै तत्कालीन युद्धको अन्त्य भयो । 

मुख्तियार भीमसेन थापाले आफ्नो रणनीति अनुसार नेपाल–अङ्ग्रेज युद्ध सकिनासाथ हिमाली राज्यहरूलाई मिलाएर एउटा महासङ्घ बनाउने प्रस्ताव राखेका थिए । यसै सन्दर्भमा उनले बर्मादेखि इरान, अफ्गानिस्तान र फ्रान्ससँग समेत पत्राचार गरेको देखिएको प्रा.डा. गोपाल शिवाकोटी लगायत राजनीतिशास्त्रीको दाबी छ । 

ज्ञानु ढुङ्गेलद्वारा लिखित ‘मुख्तियार भीमसेन थापा र तत्कालीन नेपाली साहित्य’मा भीमसेन थापाले साम्राज्यवादी शक्तिलाई परास्त गरी देशलाई स्वतन्त्र र परार्ईको भयमुक्त पार्न विभिन्न राष्ट्रहरूलाई आह्वान गर्दै एसियाली एकताको प्रस्ताव राखेको तथ्य प्रकाश पारिएको छ । भीमसेन थापाले बर्मादेखि कस्मिरसम्मका हिमाली राज्यलाई महासङ्घमा आबद्ध गर्नका लागि पठाएको प्रस्तावलाई कस्मिर राज्यले नेपालको साम्राज्यवादी नीतिको विस्तारका रूपमा बुझ्यो । 

अतः कस्मिरले भीमसेन थापाको त्यो प्रस्तावलाई ठाडै अस्वीकार गरी अङ्ग्रेजसँग सम्बन्ध विस्तार ग¥यो । वास्तवमा भीमसेन थापाद्वारा प्रस्तावित हिमाली महासङ्घको रणनीति एसियाली एकताको हितमा थियो, यो कसैको पनि पक्ष वा विपक्षमा थिएन । किनकि ‘एसिया भनेको एसियालीहरूकै हुनुपर्छ’ भन्ने अवधारणाको विकास पनि भीमसेन थापाले नै गरेका थिए । भीमसेन थापाको यो योजना सफल भइदिएको भए दक्षिण एसियाको राजनीतिक इतिहासले कोल्टे फेर्ने थियो भनेर राजनीतिक तथा कूटनीतिक वृत्तमा चर्चा चल्ने गरेको छ । भीमसेन थापाको प्रस्तावलाई बेवास्ता गरेका तत्कालीन कतिपय राज्यहरू आज शक्तिसम्पन्न राष्ट्रका गुलाम बनिरहेका छन् ।

डा. सूर्यमणि अधिकारीले पनि ‘नेपालको इतिहास र समाज अध्ययन’मा भीमसेन थापाले एसियाली एकताको पक्षमा आवाज उठाएको प्रसङ्ग उल्लेख गरेका छन् । हिमालय महासङ्घ र एसियाली एकताको पक्षमा भीमसेन थापाले चीन र तिब्बतलाई पनि पत्र पठाएको उनको दाबी छ, तर एसियाली एकताको आह्वानप्रति ऐक्यबद्धता दर्शाउने साहस एसियाली राज्यहरूले गर्न सकेनन् । उता, अङ्ग्रेजहरू नेपालको आह्वानलाई विफल पार्न कटिबद्ध भएको तथ्यलाई सो कृतिले उजागर गरेको छ । 

प्रा.डा. नरविक्रम थापाले ‘बगाले थापा वंशावली खुर्कोट, सिन्धुली, बागमती प्रदेश’ कृतिमा यसरी उल्लेख गरेका छन् ः मुख्तियार जनरल भीमसेन थापाद्वारा एसियाली एकताको आह्वान गर्दै बर्मा, अफगानिस्तान, फारस, पन्जाब, ग्वालियर, अवध एवं बङ्गालसम्म आफना दूतहरू पठाएका थिए । 

सोमबहादुर थापाद्वारा लिखित ‘बगाले थापा क्षत्री वंशावली’मा इस्ट इन्डिया कम्पनीको प्रवृत्तिविरुद्ध लड्न भीमसेन थापाले फ्रान्ससँग पनि रणनीतिक योजना बनाएथे, तर फ्रान्सको ढिलाइका कारण समय लागेको हुँदा पछि त्यो योजना सेलायो भनी उल्लेख गरिएको छ । 

प्रा.डा. सुरेन्द्र केसीद्वारा लिखित ‘नेपालको कूटनीतिक इतिहास’मा भीमसेन थापाले ‘एसियाली सङ्घ’ बनाउने आह्वान गरेअनुरूप पृथ्वीविलासलाई दूत बनाई पन्जाब रणकेशरी रणजित सिंहको दरबारमा पठाएको तथ्य उल्लेख छ । यो कृतिमा संवत् १८७० मा पण्डित पद्मपाणि शर्मालाई ग्वालियर पठाए पनि अङ्ग्रेज सेनाले नेपालका विभिन्न स्थानबाट आक्रमण गर्ने उद्देश्य टर्न सकेन भनी लेखिएको छ । 

यसरी इतिहासकारहरूको मूल्याङ्कन अनुसार, भीमसेन थापाको कुरा नसुन्दा अङ्ग्रेजी विस्तारवादका सिकार भएका राष्ट्रहरू गुलामीको अभिशप्तबाट मुक्त भएपछि पनि गुलामीकै धङधङीबाट मुक्त रहन नसक्दा स्वतन्त्रता दिवस मनाउँछन् भनिएको छ । नेपालले यस्तो खाले नियति भोग्नुपरेन । भलै आफूले जितेको दुईतिहाइ भूभाग गुमाउनुपरे पनि स्वतन्त्र रूपमा बाँच्न सक्यो, बाँचिरहेछ भनी मूल्याङ्कन गरिएको पाइन्छ । 

भीमसेन थापाको एसियाली सङ्घ बनाउने प्रस्तावउपर अन्तर्राष्ट्रिय समुदायले पनि न्यायोचित मूल्याङ्कन गर्दै आएको पाइन्छ । मुख्तियार भीमसेन थापाले एसियाली सङ्घ निर्माणलाई आफ्नो कार्यकालको केन्द्रबिन्दु मान्दै आफ्नो यस योजनालाई सफल बनाउन सहयोग गर्ने भाइ, भतिजाहरूको छनोट गरेका थिए । जसअनुसार बडाकाजी अमरसिंह थापाका छोरा काजी रणध्वज थापाले भीमसेन थापाको कार्यकालका कारोबारी काजी पद सम्हालेर कार्य गरेका थिए । रणध्वजले भीमसेन थापाका सहायक भई काम गर्थे । 

काजी रणजोर थापा बाबु अमरसिंह थापाका सहयोगी भई बसेका थिए । नेपाल–अङ्ग्रेज युद्ध (वि.सं. १८७१–७२)मा यिनलाई नाहानतर्फको अभिभारा सुम्पिएको थियो । जैथकको किल्लामा बसी अङ्ग्रेजहरूसँग युद्ध गरी वीरताका साथ बारम्बार उनीहरूलाई धपाई जैथक किल्लाको रक्षा गरेथे । 

बडाकाजीकै अर्का छोरा काजी भक्तवीर थापा पनि भीमसेन थापाको सहयोगी भएर केन्द्रमा बसेका थिए । उनले नेपाल–अङ्ग्रेज युद्धमा धनकुटा, मोरङ क्षेत्रको नेतृत्व लिएका थिए । त्यसपछि वि.सं. १८७३ आश्विन–कात्तिकमा यिनी काजीको पद लिई नेपालको प्रतिनिधि भई चीन गएका थिए । 

बडाकाजीका अर्का छोरा काजी अर्जुन थापा नेपाल–अङ्ग्रेज युद्धपछि लाहोर गएर पन्जाबकेशरी रणजित सिंहको सेनामा क्याप्टेन भएर काम गरेका थिए । बडाकाजी अमरसिंह थापाको अर्का छोरा काजी भूपालसिंह थापा नेपाल–अङ्ग्रेज युद्धपछि देहरादुनको नालापानीबाट पन्जाब गएका थिए । यिनले पनि पन्जाबकेशरी रणजित सिंहको सैन्यमा भर्ना भई क्याप्टेनका रूपमा काम गरेका थिए । 

भीमसेन थापाले बडाकाजी अमरसिंह थापाका नाति सुरतसिंह थापालाई केन्द्रमा प्रशस्त अधिकार दिएर राखेका थिए । बडाकाजीका अर्का नाति रिपुमर्दन थापा नेपाल–अङ्ग्रेज युद्धमा बहादुरीका साथ संलग्न रही अङ्ग्रेजलाई परास्त गरेका थिए । यसरी मुख्तियार भीमसेन थापा, उनका भाइहरू र बडाकाजी अमरसिंह थापाका छोरा, नातिहरू मिलेर तत्कालीन नेपाललाई ‘हिमाली महासङ्घ राज्य’ बनाउने नीतिअनुरूप युद्ध कार्य सञ्चालन गरेका थिए । यद्यपि, थापा मिसनको यो प्रस्तावले तत्कालीन साम्राज्यवादी शक्ति केन्द्रहरूमा ठूलो हलचल पैदा गराएको थियो । ब्रिटिस इस्ट–इन्डिया कम्पनी र कस्मिरजस्ता तत्कालीन शक्ति केन्द्रहरूले भीमसेन थापाको यो अभियानलाई ठाडै अस्वीकार गरी राजनीतिक प्रतिशोधको योजनासम्म बनाउन पछि परेनन् । जसका कारण भीमसेन थापालाई अन्ततः वि.सं. १८९६ (सन् १८३९) मा ६४ वर्षको अल्पायुमै आत्महत्या गर्न बाध्य बनाइएको थियो । परिणामतः भीमसेन थापाको हिमाली महासङ्घ राज्य बनाउने सपना अधुरो नै रह्यो । त्यति मात्र होइन, वि.सं. १८७१÷७२ मा अङ्ग्रेजसँग भएको युद्धमा नेपालको हार भई नेपालले आफ्नो केही भूमि गुमाई बाध्यतावशः सुगौली सन्धिजस्तो असमान सन्धिमा हस्ताक्षर गर्न बाध्य हुनुप¥यो । 

तथापि भीमसेन थापाले राष्ट्रिय स्वाभिमान, स्वाधीनता र स्थायित्वलाई दृष्टिगत गरेरै समयसापेक्ष यो कार्य गर्न पुगेका थिए । यसरी सुगौली सन्धिका कारणले वर्तमान नेपालको सिमाना व्यवस्थित भई नेपालले विश्वमा आफूलाई एक सार्वभौम राष्ट्रका रूपमा अस्तित्व कायम राख्न सफल भएको छ । 

(लेखक राष्ट्रिय विभूति भीमसेन थापा स्मृति प्रतिष्ठानका कार्यकारी सदस्य हुन् ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शैलेन्द्रबहादुर थापा
शैलेन्द्रबहादुर थापा
लेखकबाट थप