शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
ब्लग

सिस्टमले चलेको देश जापान

शनिबार, ०८ वैशाख २०८१, १५ : २३
शनिबार, ०८ वैशाख २०८१

जापानबारे सानैदेखि पढ्दै र सुन्दै आएको थिएँ— सूर्योदयको देश, विकसित देश, प्रविधिमा अगाडि रहेको देश, दोस्रो विश्वयुद्धमा अमेरिकाले अणु बम खसालेको देश, मानिसको औसत आयु बढी भएको देश आदि–आदि । 

जापान कसो कसो मेरो सपनाको देश बन्न पुग्यो । विभिन्न प्रक्रिया पु¥याएर सन् २०२२ जुलाईमा म आफ्नो सपनाको देश जापानको कान्साई एयरपोर्टमा उत्रिएँ, विद्यार्थी भिसामार्फत । कान्साई एयरपोर्टबाट मैले पढ्ने कलेजसम्म रेलमा गएको थिएँ । अकासेपुल, पुल, रेलमार्ग, अन्डरग्राउन्ड बाटो, सब–वे, हाई–वे, टनेल–वे, केबलकार, हवाई सञ्जाल इत्यादि देखेपछि मलाई लाग्यो– विकास भनेको यो रहेछ । 

जापान अन्य मुलुकभन्दा प्रविधिमा आत्मनिर्भर छ । खाने, सुत्ने, उठ्ने र शौचालय, कृषिकार्य लगायत हरेक कामको सहजताका लागि जापानीहरू प्रविधिमा निर्भर छन् ।

जापान आएको केही महिनामा मैले बेन्टो कम्पनीमा काम थालेको थिएँ । त्यहाँ लगभग ८० प्रतिशत काम मेसिनले नै गर्छ । विज्ञान र प्रविधिमा जापान जति अगाडि छ, त्यति नै त्यहाँका मानिस अनुशासित छन् । 

  • फोहोर व्यवस्थापन

यहाँको कलेजमा पढ्न गएको पहिलो दिन, कक्षा सकिएपछि शिक्षकले केही विद्यार्थीको नामै लिएर भने, ‘रामु सान, ताइन सान र एसोतो सान ! तिमीहरूले कक्षाकोठा सफा गर । सिगो सान र राना सानले भ¥याङ सफा गर । सिफत्तो सान र हासन सानले शौचालय सफा गर ।’ 

विद्यार्थी पनि आफ्नो काममा लागे । मैले शिक्षकलाई सोधेँ– हाम्रो काम पढ्ने हो । किन यस्तो काममा लगाउनुभएको ? 

22089739_1014494842025689_7855454995284495819_n

उनले भने, ‘विद्यालय सफा गर्ने कामलाई जापानमा पाठ्यक्रमकै एउटा अंशको रूपमा राखिएको छ ।’

पाठ्यक्रममै राखिएकाले सबैले पालैपालो सफा गर्नुपर्ने रहेछ । त्यही दिन शिक्षकले म लगायत विदेशी विद्यार्थीलाई जापानको सामान्य नियम जानकारी गराउन एउटा हलमा लिएर गए । प्रत्येक विद्यार्थीलाई अङ्ग्रेजी भाषाका एक–एकवटा किताब दिइयो ।

त्यही किताबमा आधारित रहेर उनले हामीलाई फोहोर व्यवस्थापनका बारेमा बुझाए । घरघरमा उब्जने फोहोरलाई चार प्रकारले छुट्ट्याउनुपर्ने रहेछ— जल्ने, नजल्ने, पुनःप्रयोग गर्न सकिने र ठुला आकारका फोहोरमा । यी चारै प्रकारका फोहोर लिनका लागि तोकिएको बार र तोकिएको समयमा गाडी आउने रहेछ । 

जापानमा विद्यार्थीले कक्षा कोठाबाट बाहिर पनि आफ्नो वरपरको क्षेत्रलाई सफा राख्न सचेत हुनुपर्ने रहेछ । उनले उदाहरण दिँदै भने— एकजना बेलायती महिलाले जापानमा बेन्टो खाएर त्यसको बक्स नजिकैको पोस्ट बक्समा खसालेकी थिइन् । प्रहरीले देखेर उनलाई प्रकाउ ग¥यो र फोहोर व्यवस्थापनको नियम उल्लङ्घन गरेकामा जरिवाना तिरायो । फोहोर व्यवस्थापनको नियम उल्लङ्घन गर्नेलाई जापानमा पाँच वर्षसम्म जेल र पाँच लाख येनसम्म जरिवाना हुने कानुनी व्यवस्था रहेछ ।

शिक्षकले सन् २०१८ को विश्वकपको प्रसङ्ग समेत उठाए । त्यतिबेला बेल्जियमसँग हारे पनि जापानका समर्थकहरू सरसफाइ गर्न पछि परेनन् । ब्राजिलमा सन् २०१४ मा र रुसमा सन् २०१८ मा भएको विश्वकप फुटबल प्रतियोगितामा जापानका राष्ट्रिय टोलीका प्रशंसकले खेलपछि पनि आफू बसेको स्थान वरपर सफा गरेर विश्वलाई चकित पारेका थिए । खेलाडीले पनि आफ्नो लुगा परिवर्तन गर्ने कोठालाई एकदमै सफा राखेका थिए ।

जापानमा कतै पनि बाटोमा थुकेको, फोहोर फालेको देखिँदैन । बिहानै ८ बजे कार्यालयका कामदार वा पसलका कर्मचारीहरूले आफ्नो कार्यक्षेत्र वरपरका गल्लीहरू सफा गरेका दृश्य देखिन्छन् । 

जापान आएको पहिलो दिन नै मलाई लागेको थियो, जताततै कति सफा हो ! बिस्तारै थाहा पाएँ, सबै जापानीहरू सरसफाइमा सचेत रहेछन् ।

आफूले कुनै खाद्य पदार्थ खाँदा निस्कने फोहोरलाई सार्वजनिक स्थानमा राखिएको डस्टबिनमा हाल्ने र नजिकै डस्टबिन नभेटिए झोलामा बोकेर हिँड्नु जापानीहरुका लागि स्वभाव नै बनिसकेको छ । नागरिक चेतना, शासकीय हस्तक्षेप र पूर्वाधारको पर्याप्तताका कारण यो सम्भव भएको हो ।

एकपटक मैले एउटा रेस्टुरेन्टमा काम सुरु गरेको थिएँ । त्यहाँ रेस्टुरेन्टका मालिक र म मात्रै थियौँ । रेस्टुराँमा खाना खानेहरूले आफूले खाएको फोहोर र प्लेट समेत आफैँले उठाएर निश्चित स्थानमा राखिदिएको देखेर म छक्क परेँ । खाना लिन पनि चुलो वा फ्रन्ट डेस्कसम्म ग्राहक नै जानुपर्ने । 

438237670_800743768131274_6556331624822819219_n

  • शौचालय

पहिलोपटक जापानको शौचालय पस्दा कुन बटन दबाउँदा के हुन्छ भन्ने मलाई थाहा थिएन । बटन थिचेपछि ट्वाइलेट प्यान तातो हुने, ट्वाइलेट बस्दा विभिन्न प्रकारका सांगीतिक धुन बज्ने, शौचालयभित्र सामान झुन्ड्याउन मिल्ने, दिसा–पिसाब गरिसकेपछि बटन थिचेपछि पखालिदिने आदि सिक्न मैले साथीको सहयोग लिनुप¥यो । 

जापानमा अपांगता भएका व्यक्ति र बालबालिकामैत्री शौचालयको व्यवस्था गरिएको हुन्छ ।  

केही साताअघि जापानको ओसाकाबाट कलेज परिवर्तन गरेर म टोकियो आएँ र सिबुया भन्ने ठाउँमा घुम्न गएको थिएँ । त्यहाँ मैले पारदर्शी अर्थात् बाहिरबाटै भित्र नियाल्न सकिने सार्वजनिक शौचालय पहिलोपटक देखेँ । यस्तो पारदर्शी कि बाहिरबाट भित्रका सबै चिज देखिन्छन् । मान्छे भित्र पसेपछि प्रयोग गरुन्जेल स्वचालित रूपमा अपारदर्शी बनिदिने प्रविधि जडान गरिएको रहेछ । 

  • कर

जापान आएको पहिलो दिन आवश्यक सामान किन्न म नजिकैको सुपा (सबै खाद्य सामग्री पाउने ठाउँ)मा गएको थिएँ, एकजना साथी लिएर । 

त्यहाँ आलुको मूल्य १०० यन् लेखिएको थियो, काउन्टरमा ११० को बिल बन्यो । १० ऐन ट्याक्स रहेछ ।

जापानमा व्यक्तिले उपयोग गर्ने हरेक वस्तु, सेवा र सुविधामा अनिवार्य कर तिर्नुपर्छ । कुनै पनि पेसा–व्यवसाय गरी आयआर्जन गर्ने नागरिकले आयआर्जन गरेबापत र राज्यले प्रदान गर्ने सेवा उपभोग गरेबापत राज्यलाई कर तिर्छन्, जसलाई नागरिकले आफ्नो दायित्व सम्झन्छन् । 

  • कार्यालयको सेवा

जापान आएको केही दिनमा नजिकैको वार्ड अफिसमा आफ्नो ठेगाना दिन गएको थिएँ । त्यहाँको सिस्टम र कर्मचारीले सेवाग्राहीलाई गर्ने व्यवहार देखेर अचम्म लाग्यो । हाम्रो देशमा सामान्य कामका लागि कति धेरै सास्ती भोग्नुपर्छ— यो मिलेन, त्यो मिलेन भनेर । तर यहाँ सबैलाई टोकन अनुसार पालैपालो बोलाई सम्पूर्ण काम गरिदिँदा रहेछन् । नजानेको र नबुझेको ठाउँमा सिकाइदिँदा रहेछन् । 

यहाँ सरकारी या प्राइभेट जुनसुकै क्षेत्रका कर्मचारीले एउटा सेवाग्राहीलाई प्रशस्त समय दिएर सेवा दिन्छन् । प्रत्येक कार्यालयमा सेवाग्राहीको सुविधाका लागि ठुलो हल बनाइएको हुन्छ, जहाँ बस्नका लागि आरामदायक कुर्सी राखिएका हुन्छन् । टोकन लिएर बसेका सेवाग्राहीले आफ्नो पालोमा सेवा लिन पाउँछन् ।

  • हुलाक सेवा

प्रविधिमा अगाडि भए पनि जापानमा हुलाक सेवाको प्रयोग अत्यधिक गरिन्छ । हरेक घरको बाहिर भित्तामा कोठा नम्बरसहित हुलाक बाकस राखिएको हुन्छ । जापानमा दूधलगायत खाद्यसेवा हुलाकबाटै उपलब्ध हुन्छ ।

जापान विश्वमै सबैभन्दा उत्कृष्ट हुलाकसेवा प्रदान गर्ने मुलुक हो । यहाँ सरकारी कार्यालयदेखि निजी क्षेत्र सबैले हुलाक सेवालाई मुख्य सेवाका रूपमा प्रयोग गर्छन् । 

म जापान आएको एक हप्तामा होकेन कार्ड (स्वास्थ्य बीमा परिचय–पत्र) र १० दिनमा एटीएम कार्ड म बसेको रुममै आएको थियो ।

  • समयको महत्त्व

जापान आएको १५ दिनमा म कामका लागि अन्तर्वार्ता दिन गएको थिएँ । नयाँ ठाउँ, ट्रेनमा यता–उता गर्दा पाँच मिनेटजति ढिलो भएँ । त्यत्तिकै भरमा मैले अन्तर्वार्ता दिन पाइनँ । 

त्यहाँ मलाई सौहार्द रूपमा भनियो— तपाईं ढिला हुनुभयो, अब हामीसँग तपाईंका लागि समय छैन । 

यहाँ काम सुरु हुने समयभन्दा पाँच मिनेटअघि पुग्नुपर्छ । यो समयप्रतिको निष्ठा हो ।

जापान आएको सुरुमै हुनुपर्छ, एक दिन म कलेज जाँदा एक मिनेट ढिलो भएको थिएँ । त्यतिबेला मलाई शिक्षकले कारण सोधे र पहिलो घन्टी गयल गराए । 

जापानमा समयलाई निकै महत्त्व दिइन्छ । जापानीहरू कहीँकतै पनि ढिलो पुग्दैनन् । ढिलो भइहाले निकै विनम्र भई माफी माग्छन् । समयमै सबै काम गर्ने मेहनती स्वभाव भएका जापानीले समयको महत्त्व नबुझ्नेलाई राम्रो मान्दैनन् । योजनाबद्ध रूपमा चल्ने व्यक्तिले अरुको समयलाई आदर गरिरहेको छ भन्ने बुझिन्छ ।

यहाँ सार्वजनिक यातायातले तोकिएको समयमै पु¥याउँछन् । कुनै विशेष कारण बाहेक एक मिनेट पनि ढिलो हुँदैनन् । 

  • स्वास्थ्य बीमा 

जापानमा स्वास्थ्य बीमा अनिवार्य छ । जापानी नागरिक वा यहाँ लामो समय बस्ने विदेशीले अनिवार्य रूपमा स्वास्थ्य बीमा गर्नुपर्छ । 

सामान्यतः काम दिने कम्पनीले आफैँ बीमा गरिदिन्छ । विद्यार्थी र आफ्नो व्यवसाय हुनेले सरकारको प्रणालीमा आउनुपर्छ । बीमाको शुल्क आम्दानीको अनुपातमा तोकिन्छ । बीमा भयो भने जुनसुकै अस्पताल गएर उपचार गराउन सकिन्छ । स्वदेशी वा विदेशी भनेर विभेद गरेको भेटिँदैन । 

नियमित बीमा गर्नेलाई उपचार सेवा लिँदा समस्या हुँदैन । जापानमा निजी र सरकारी जुन अस्पतालमा पुगे पनि सैद्धान्तिक रूपमा शुल्क उस्तै लाग्छ । यहाँ स्वास्थ्य बीमाले ७० प्रतिशत र ३० प्रतिशत बिरामी आफैँले बेहोर्नुपर्छ । कुनै त्यस्ता सेवा पनि छन्, जुन पूर्ण निःशुल्क हुन्छन् ।

28154705-catrina-farrell-0ka7d6tmnk0-unsplash_cover_1599x1201

  • स्वचालित भेन्डिङ मेसिन

जापानमा अफिस, कलेज, पार्क लगायत भीडभाड धेरै हुने ठाउँमा स्वचालित भेन्डिङ मेसिन जडान गरिएको हुन्छ । जसबाट सहज रूपमा सामान्य पानी, जुस, चियाजस्ता पेय पदार्थ किन्न सकिन्छ ।

जापान स्वचालित भेन्डिङ मेसिनका लागि विश्वमै उत्कृष्ट मानिन्छ । यहाँ विभिन्न आकार–प्रकारका तथा सुविधायुक्त भेन्डिङ मेसिन यत्रतत्र देखिन्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अनुपम खड्का
अनुपम खड्का
लेखकबाट थप