शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
आईपीएलमा आज

नयाँ रंगशालामा पहिलोपटक भिड्दै पन्जाब र गुजरात

आइतबार, ०९ वैशाख २०८१, ११ : ५२
आइतबार, ०९ वैशाख २०८१

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) मा आइतबार दुई खेल हुँदैछ । पहिलो खेल कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बैंगलुरुबिच खेलिने छ । उक्त खेल नेपाली समयअनुसार, दिउँसो ३ः ४५ बजे सुरु हुनेछ ।

आइतबारको दोस्रो खेल पन्जाब किङ्स र गुजरात टाइटन्सबिच हुनेछ । जारी सिजनको आईपीएलमा खेल्न लागिएको यो ३७ औँ खेल हो । पन्जाब र गुजरातबिचको खेलसँग जारी सिजनको आईपीएलको आधा प्रतिस्पर्धा सकिने छ । यो सिजन आईपीएलमा कुल ७४ खेल खेलिने छ ।

दोस्रो खेल मुल्लापुरस्थित महाराज यादवेन्द्र सिंह अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा राति ७ः४५ बजे सुरु हुनेछ । जारी सिजनको आईपीएलमा पन्जाब र गुजरात दुबैले आफ्नो आठौँ खेल खेल्न लागेका हुन् । यी दुवै टोलीले यो सिजनमा निराशाजनक प्रदर्शन गर्दै आएका छन् ।

गुजरातले यसअघि खेलेको सातमध्ये तीन खेलमा जित र चार खेलमा हारको नतिजा निकालेको छ । गुजरात ६ अंकसहित तालिकाको आठौँ स्थानमा आसिन छ । गुजरातले सिजनको सुरुवात भने जितसँगै गरेको थियो । आफ्नो पहिलो खेलमा गुजरातले मुम्बई इन्डियन्सलाई हराएको थियो ।

गुजरात आफ्नो दोस्रो खेलमा चेन्नई सुपर किङ्ससँग हारेको थियो । तेस्रो खेलमा गुजरातले सनराइजर्स हैदराबादलाई हराएको थियो । गुजरातको टोली चौथो खेलमा पन्जाबसँग र पाँचौँ खेलमा लखनउ सपर जाइन्ट्ससँग पराजित भएको थियो । छैटौँ खेलमा गुजरातले राजस्थान रोयल्सलाई हराएको थियो ।

यसैगरी पन्जाबले यसअघि खेलिएको सातमध्ये दुई खेलमा जित र पाँच खेलमा हारको नतिजा निकालेको थियो । पन्जाब चार अंकसहित तालिकाको नवौँ स्थानमा आसिन छ । पन्जाबले पनि सिजनको सुरुवात जितसँगै गरेको थियो ।

पन्जाबले आफ्नो पहिलो खेलमा दिल्ली क्यापिटल्सलाई हराएको थियो । पन्जाबको टोली दोस्रो खेलमा रोयल च्यालेन्जर्स बैंगलुरुसँग र तेस्रो खेलमा लखनउ सुपर जाइन्ट्ससँग पराजित भएको थियो । शिखर धवनको कप्तानीमा रहेको गुजरातले चौथो खेलमा गुजरातलाई हराएको थियो ।

आफ्नो पाँचौँ खेलमा भने पन्जाबको टोली सुनराइजर्स हैदराबादसँग पराजित भएको थियो ।  छैटौँ खेलमा पनि पन्जाबको टोली राजस्थान रोयल्ससँग पराजित भएको थियो । यसअघि खेलिएको सातौँ खेलमा मुम्बई इन्डियन्सले पञ्जाबलाई हराएको थियो ।

००

हेड टु हेडमा समान नतिजा

इन्डियन प्रिमियर लिगमा हालसम्म गुजरात टाइटन्स र पन्जाब किङ्सबिच  चार खेल खेलिएको छ । त्यसमध्ये दुई खेलमा गुजरात र दुई खेलमा पन्जाब विजयी भएका छन् । महाराज यादवेन्द्र सिंह अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भने यी दुई टोलीबिच पहिलोपटक भिडन्त हुन लागेको हो ।

जारी सिजनको आईपीएलमा यी दुवै टोलीले आपसमा दोस्रो खेल खेल्न लागेका हुन् । पहिलो खेल गुजरातको घरेलु मैदानमा खेलिएको थियो । नरेन्द्र मोदी अन्तर्राष्ट्रिय स्टेडियममा खेलिएको त्यो खेलमा पन्जाबले गुजरातलाई तीन विकेटले हराएको थियो ।

००

पन्जाबको सर्वाधिक रन शशांक सिंहको नाममा

इन्डियन प्रिमियर लिगको जारी सिजनमा पन्जाब किङ्सका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान शशांक सिंह हुन् । उनले टोलीका लागि हालसम्म सात खेल खेल्दै कुल एकसय ८७ रन बनाइसकेका छन् । यसक्रममा उनले एक अर्धशतक पनि प्रहार गरेका छन् ।

टोलीका लागि सर्वाधिक विकेट लिने बलर भने साम कुर्रन हुन् । उनले सात खेलमा १० विकेट लिइसकेका छन् । पञ्जाबका कप्तान शिखर धवनले आइतबारको खेलमा खेल्ने सम्भावना पनि निकै कम देखिन्छ । घाइते समस्याका कारण उनी केही समयदेखि मैदानबाहिर रहँदै आएका छन् । उनको अनुपस्थितिमा कुर्रनले कप्तानी गर्दै आएका छन् ।

००

गुजरातको सर्वाधिक रन शुभमन गिलको नाममा

इन्डियन प्रिमियर लिगको १७ औँ संस्करणमा गुजरात टाइटन्सका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान कप्तान शुभमन गिल हुन् । उनले हालसम्म सात खेल खेल्दै कुल दुई सय ६३ रन बनाइसकेका छन् ।

गुजरातका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचीमा साई सुदर्शन दोस्रो स्थानमा छन् । उनले सात खेलमा दुई सय ३८ रन बनाएका छन् । गुजरातका लागि सर्वाधिक विकेट लिने बलर भने मोहित शर्मा हुन् । उनले सात खेलमा आठ विकेट लिइसकेका छन् ।

००

नयाँ रंगशालामा पाँचौँ खेल

मोहालीको मुल्लापुरस्थित महाराज यादवेन्द्र सिंह अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हालसम्म आईपीएलको चारवटा खेल मात्र खेलिएको छ । यो नयाँ क्रिकेट स्टेडियम हो । यो स्टेडियममा बनेको सर्वाधिक स्कोर सात विकेट एक सय ९२ रन हो ।

उक्त रन पन्जाबविरुद्ध मुम्बई इन्डियन्सले बनाएको थियो । उक्त खेलमा मुम्बईले पन्जाबमाथि नौ रनको रोमाञ्चक जित हासिल गरेको थियो । यो स्टेडियममा पहिले ब्याटिङ गर्ने टोलीले दुई र जवाफी ब्याटिङ गर्ने टोलीले पनि दुई खेल जितेका छन् ।

००

छैन वर्षाको सम्भावना

गुजरात टाइटन्स र पन्जाब किङ्सबिच खेल हुने दिन आइतबार मुल्लापुरको मौसम सफा रहने बताइएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आइतबार मुल्लापुरमा वर्षाको कुनै सम्भावना छैन । मुल्लापुरको तापक्रम २० देखि ३६ डिग्री सेल्सियसको बिचमा रहने छ ।

००

सम्भावित टोली

पन्जाब किङ्स : साम कुर्रन (कप्तान), प्रभसिमरन सिंह, राइली रुसो, जितेश शर्मा (विकेटकिपर), लियाम लिभिङस्टोन, शर्शाक सिंह, आशुतोष शर्मा, हरप्रित बरार, हर्षल पटेल, कागिसो राबडा र अर्शदीप सिंह । इम्प्याक्ट प्लेयर : राहुल चाहर ।

गुजरात टाइटन्स : शुभमन गिल (कप्तान), ऋद्धिमान साह (विकेटकिपर), साई सुदर्शन, डेमिड मिल्लर, अभिनव मनोहर, राहुल तेवतिया, राशिद खान, मोहित शर्मा, नुर अहमद, स्पेन्सर जोन्सन र संदीप वारियर्स । इम्प्याक्ट प्लेयर : साई किशोर ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप