शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

आईपीएलमा छक्काको वर्षा : सम्भावित दुर्घटना टार्न ‘बल ब्वाई’ लाई पनि हेलमेट

आइतबार, ०९ वैशाख २०८१, १२ : ४०
आइतबार, ०९ वैशाख २०८१

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) को १७ औँ संस्करणमा शनिबार खेलिएको सनराइजर्स हैदराबाद र दिल्ली क्यापिटल्सबिचको खेल निकै रोमाञ्चक थियो । त्यो खेलमा हैदराबादले दिल्लीलाई ६७ रनले पराजित गरेको थियो ।

हैदराबाद र मुम्बईबिचको खेलमा थुप्रै कीर्तिमान पनि बने । त्यो खेलका क्रममा अर्को एउटा रमाइलो दृश्य पनि देखिएको थियो । हैदराबाद र मुम्बईबिचको खेलमा बल ब्वाई (बाउन्ड्री रोप वाहिर गएको बललाई संकलन गरेर पुनः मैदानमा फाल्ने ब्यक्ति) पनि हेलमेटमा सजिएका थिए ।

यसअघि अन्तर्राष्ट्रिय क्रिकेट वा फ्रेन्चाइज क्रिकेटमा यस्तो दृश्य देखिएको थिएन । खेलका क्रममा पहिले ब्याट्सम्यानले मात्र हेलमेटको प्रयोग गर्थे । तीव्रगतिका बलरले फालेको बल टाउकोमा ठोक्किएर दुर्घटना नहोस् भन्ने उद्देश्यले ब्याट्सम्यानले हेलमेट प्रयोग गर्न थालेका हुन् ।

तीव्रगतिका बलरले फालेको बलले टाउकोमा लागेर थुप्रै ब्याट्सम्यानको मृत्यु भएपछि खेलाडीहरु यसप्रति सचेत बनेका थिए । त्यसपछि ब्याट्सम्यानसँग विकेट किपरले पनि हेलमेटको प्रयोग गर्न थाले । ब्याट्सम्यानको नजिकै उभिएर बल समाउनुपर्ने भएकाले विकेटकिपर पनि जोखिम क्षेत्रमै रहने गर्थे ।

ब्याट्सम्यानको नजिक उभिएर फिल्डिङ गर्ने फिल्डरहरुले पनि समय–समयमा हेलमेट प्रयोग गर्ने गरेको देखिन्छ । केही खेलमा त अम्पायरले समेत हेलमेट प्रयोग गरेको देखिएको थियो । हुँदाहुँदै हैदराबाद र दिल्लीबिचको खेलमा त ‘बल ब्वाई’ ले समेत हेलमेट प्रयोग गरेको दृश्य देखियो ।

खासगरी टी–२० क्रिकेटमा ब्याट्सम्यानहरुले छिटो–छिटो रन बनाउन आक्रामक प्रहारहरु गर्ने भएकाले सम्भावित दुर्घटनाबाट जोगिन ‘बल ब्वाई’ ले पनि हेलमेटको प्रयोग गरेको समाचारमा जनाइएको छ । चर्चित पूर्वक्रिकेटर सुनील गावस्करले पनि यसको प्रशंसा गरेका छन् ।

‘खेलमा सुरक्षा सबैभन्दा महत्वपूर्ण पक्ष हो । बल ब्वाइहरु पनि खेलकै एक भाग हुन् । उनीहरुको सुरक्षाप्रति पनि हामी गम्भीर हुनुपर्छ । यसलाई राम्रो परम्पराको सुरुवातको रुपमा लिन सकिन्छ,’ गावस्करले भनेका छन् । हैदरावाद र दिल्लीबिच खेल भएको अरुण जेट्ली स्टेडियमको बाउन्ड्री तुलनात्मक रुपमा अन्य रंगशालाभन्दा सानो छ । त्यसमाथि ‘बल ब्वाई’ का रुपमा सामान्यतः स–साना बालबालिकालाई प्रयोग गर्ने गरिन्छ ।

त्यसैले पनि शनिबारको खेलमा ‘बल ब्वाई’ को सुरक्षालाई ध्यानमा राखी हेलमेटको प्रयोग गरिएको समाचारमा जनाइएको छ । सामाजिक सञ्जालमा पनि ‘बल व्वाई’ ले हेलमेट लगाएको थुप्रै तस्बिर पोष्ट गरिएका छन् । अधिकांश सामाजिक सञ्जाल प्रयोगकर्ताले यसका लागि आईपीएल आयोजकको प्रशंसा गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप