शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

गर्मी बढेसँगै आगलागी घटना बढ्दै

आइतबार, ०९ वैशाख २०८१, २० : ३२
आइतबार, ०९ वैशाख २०८१

कैलाली । कैलालीको दक्षिणपूर्वी क्षेत्र जोशीपुर गाउँपालिका–६ का १५ किसान परिवारको १० बिघा गहुँ खेतमा आगलागी हुँदा बाली जलेर नष्ट भएको छ । जोशीपुर प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकराज जोशीले बाली काटेर खेतमा सुकाइ राखिएको अवस्थामा शनिबार आगलागी भएको जानकारी दिए । प्रहरी र स्थानीयवासीको प्रयासमा आगो निभाउने प्रयास गरिएको थियो ।

जोशीपुरकै एक किसानको १३ कठ्ठा क्षेत्रफलको गहुँबालीमा पनि दुई दिनअघि आगलागी भएको थियो । भजनी, बर्दगोरियालगायत क्षेत्रको गहँुबाली पनि आगलागी भएको छ । आगलागीबाट पुगेको क्षतिको थप विवरण आउन बाँकी छ ।

केही दिनदेखि गर्मीबढेसँगै मध्याह्नको समयमा चल्ने हावाहुरीका कारण आगलागीका घटना बढाउन मद्दत पुर्याइरहेको स्थानीयवासीले बताएका छन् ।  गहुँ काटेर खाली रहेको खेत(गहुँको नलमा) मा पनि आगलागी भइरहेको छ ।

गहुँबाली काटेर खाली भएको खेतमा लागेको आगो निभाउने क्रममा गौरीगङ्गा नगरपालिकाका वीरबहादुर साहु जलेर घाइते भएका छन् । उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । 

गर्मीसँगै वन क्षेत्रमा पनि डढेलो लाग्ने घटना बढेका छन् । अग्नि नियन्त्रण रेखा बनाएर डढेलो रोकथामको प्रयास गरिए पनि पूर्णरुपमा डढेलो नियन्त्रणमा कठिनाइ भइरहेको बताइएको छ । डिभिजन वन कार्यालय कैलालीका प्रमुख रामचन्द्र कँडेलले यसपाली पर्याप्त वर्षा हुननसक्दा बढेको गर्मीसँगैको सुक्खा मौसमले डढेलोको कहर देखिएको बताए । “ठाउँठाउँका वन क्षेत्रमा डढेलो लाग्ने समस्या बढेको छ, निभाउने कामपनि सतर्कता अपनाई भइरहेको छ,” उनले भने । 

डढेलो हुननदिन डढेलो लाग्नपूर्व र डढेलो लागि सकेपछि गर्नुपर्ने सबै क्रियाकलाप गर्ने गरिएको उनले बताए । आगो लगाउँदा वनमा घाँसको नयाँ पालुवा उम्रिन्छ भन्ने कतिपय समाजमा गलत सोचाइ देखिएको र चुरोट बिडी सेवन गर्नेले यसको ठुटो जथाभाबी वनमा फ्याकिदिने गर्दा गर्मी मौसममा वन डढेलोको समस्या बढ्ने गरेको बताइएको छ । 

जिल्लाको फुलवारी, गौरीगङ्गालगायतका क्षेत्रका सामुदायिक वनमा डढेलो लागेको छ । गर्मी बढेसँगै मध्याह्नको समयमा तातो हावा (लु) चल्न थालेपछि जिल्लाको जनजीवन कष्टकर बन्न थालेको छ । हावाहुरीले धनगढीको बजार क्षेत्रमा निर्माणाधीन सडकबाट उड्ने धुलोमाटोले वरपरका व्यापारिक पसल र निजी घरधनीले हैरानी खेप्नुपरेको छ । उड्ने धुलोमाटोले सडकको आवागमन पनि असहज बनेको छ ।

“निर्माण भइरहेका सडकबाट उड्ने धुलोमाटो सफा गर्दैमा दिन बित्ने गरेको छ, व्यापार व्यवसाय पनि ठप्प छ,” स्थानीय राजेश चौधरीले गुनासो गरे । केही दिनदेखि धनगढीमा गर्मी ह्वात्तै बढेको छ । चार दिनअघि ३७ दशमलब चार डिग्रिसेल्सियस रहेको धनगढीको अधिकतम तापक्रम बढेर शुक्रबार ४० दशमलव छ डिग्री सेल्सियस पुगको थियो । यस्तै २०डिग्रीसेल्सियस निम्न तम तापक्रम बढेर २२ दशमलब छ डिग्री पुगेको थियो ।

आइतबार अधिकतम तापक्रम र निम्न तम तापक्रम अघिल्ला दुईदिनको भन्दा केही कम मापन भएको अत्तरियास्थित जल तथा मौसम विज्ञान विभागको महाकाली बेसिन फिल्ड कार्यालयका प्रमुख सञ्जय साहले जानकारी दिए ।  कार्यालयका प्रमुख साहले यसवर्ष विगतको तुलनामा गर्मी बढ्ने अनुमान गरिएको जानकारी दिए । “यसवर्ष हिउँदेयाममा ठूलो वर्षा नभएको र ग्लोबल वार्निङको प्रभावले गर्दा गर्मी बढ्ने अनुमान विश्व मौसम सङ्गठनले गरेको छ”, उनले भने, “गर्मी बढ्दा अनावश्यक रुपमा घरबाहिर नजान र झोलिलो पर्दाथ सेवन गर्दा गर्मीबाट जोगिन सकिन्छ ।” 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप