शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

मन्त्रिपरिषद्का निर्णय : कतारका अमिरको भ्रमणमा बिदादेखि अर्थ सचिवको सरुवासम्म

सार्वजनिक बिदामा राप्रपा प्रवक्ताको व्यङ्ग्य
सोमबार, १० वैशाख २०८१, १३ : ४७
सोमबार, १० वैशाख २०८१

काठमाडौँ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले विभिन्न निर्णय गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले कतारका अमिरको नेपाल भ्रमणको अवसरमा मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारको प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् । 

दुई दिने राजकीय भ्रमणको सिलसिलामा अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी  मंगलबार नेपाल भ्रमणमा आउँदैछन् । यस्तै अर्थसचिवमा मधुकुमार मरासिनीको सरुवा भएको छ भने  हालका अर्थसचिव कृष्णहरि पुष्करको प्रधानमन्त्री कार्यालयमा सरुवा गर्ने निर्णय पनि भएको छ । 

यसैगरी लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न  राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेश गर्ने निर्णय पनि बैठकले गरेको छ । 

यस्तै विपदबाट क्षति भएका तथा जोखिममा रहेका निजी आवास प्रबलीकरण, पुनर्स्थापना तथा पुनर्निर्माण गर्न तीन तहको सहलगानी हुनसक्ने गरी विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन नियमावलीमा संशोधन गर्ने निर्णय बैठकले गरेको छ । 

यसैबीच कतारका राजाको नेपाल भ्रमणका क्रममा सरकारले बिदा दिने निर्णयमा राप्रपाका प्रवक्ताले व्यङ्ग्य गरेका छन् । आफ्नो देशको राजालाई विदेशी योजनामा पाखा लगाएकाहरूले विदेशकै राजालाई भए पनि सम्मान दिएको भन्दै प्रवक्ता मोहन श्रेष्ठले सरकारलाई व्यङ्ग्य गरेका हुन् । 

‘कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी दुई दिने भ्रमणका लागि नेपाल आउँदा सरकारले मंगलबार सार्वजनिक बिदा दिएको छ। आफ्नो देशको राजालाई विदेशी योजनामा पाखा लगाएकाहरूले विदेशकै राजालाई भए पनि सम्मान दिएछ !’, उनले सामाजिक सञ्जाल (फेसबुक) मार्फत व्यङ्ग्य गरेका छन् । 

उनले नेपालको राजालाई पनि आफ्नो स्थान, श्रीपेच र इज्जत दिनुपर्ने धारणा फेसबुकमा राखेका छन् । राप्रपाले राजतन्त्रको पक्षमा निरन्तर वकालत गर्दै आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप