राजनीतिक अस्थिरताबिच आर्थिक नीतिमा स्थिरता : अर्थमन्त्री पुन
काठमाडौँ । आसन्न नेपाल लगानी सम्मेलनमा विदेशी लगानीकर्ता आकर्षित गर्न सरकारले अनेक जुक्ति लगाउने भएको छ । यही वैशाख १६ र १७ मा हुने सम्मेलनका क्रममा लगानीकर्ताको सम्पत्ति र व्यवसायको सुरक्षाको प्रत्याभूति दिने प्रयास सरकारले गरेको छ ।
नेपाल लगानी बोर्डले लगानी सम्मेलनको सन्दर्भ पारेर सोमबार गरेको छलफलका क्रममा लगानी सम्मेलनमा मिट टु पिएमलगायतका कार्यक्रम राखिएको, ५० जनाको प्रस्तुति राखिएको र एक हजार विदेशी लगानीकर्ता सहभागी हुने जानकारी गराइयो ।
सम्मेलनमा १४८ परियोजना सहभागी हुने जनाइएको छ । अर्थमन्त्री वर्षमान पुनले निर्वाचन प्रणालीलगायतका कारण गणतन्त्र स्थापनापछि राजनीतिक परिवेश र गठबन्धन परिवर्तन भइरहे पनि अर्थतन्त्रको सवालमा नीतिगत स्थिरता रहेकाले लगानीकर्ता आकर्षित हुने बताए ।
पुनले गणतन्त्रपछि पटक पटक सरकार बदलिए पनि नीतिगत परिवर्तन नभएको जनाए । उनले आसन्न लगानी सम्मेलनको उद्घाटन, छलफल सत्रदेखि समापनसम्म प्रविधि र प्रवृत्तिको समायोजन गर्दै सबै राजनीतिक दलको अनुहार देखिने गरी व्यवस्थापन मिलाइने बताए ।
‘त्यसमा सत्ता पक्ष, प्रतिपक्ष र गठबन्धन केही हुँदैन’ पुँजीको प्रवृत्ति नै लगानी र नाफा हुने भएकाले राजतन्त्र, समाजवाद वा साम्यवाद जस्तो व्यवस्था भएपनि लगानीकर्ता आकर्षित हुने उनको तर्क छ । पुनका अनुसार सरकारले लगानीमैत्री वातावरण बनाउन प्रतिपक्षसँग छलफल गरेर अध्यादेश ल्याएको चर्चा गर्दै राजनीतिले निजी लगानीकर्तालाई वातावरण दिने, उत्साही र उत्प्रेरित बनाउने बताए ।
‘सम्पत्ति र व्यवसायको सुरक्षा सरकारले गर्ने हो । त्यसका लागि अध्यादेश ल्याइएको छ । सम्मेलनका क्रममा पनि थप के गर्ने भनेर सोध्छौ र आवश्यक परे थप नीतिगत सुधार गर्छौ’ उनले भने, ‘पहिलो र दोस्रोको अनुभवको आधारमा तेस्रो लगानी सम्मेलन हुन लागेको भन्दै मन्त्री पुनले बाह्य लगानीको अवस्था पनि उत्साहजनक रहेको तथ्य पेस गरे ।
‘भारतमा बाह्य लगानीको प्रतिबद्धताको ३० प्रतिशत मात्र भित्रिने गरेको छ, जबकि नेपालमा ३७ प्रतिशतको हाराहारीमा लगानी आएको छ । तसर्थ तेस्रो सम्मेलनमा पनि सफल हुन्छौ’ उनले भने । उनले जलविद्युत, पर्यटन र सूचना प्रविधिमा नेपालको प्रचार सम्भावना रहेकाले त्यसमा लगानी जुट्ने विश्वास व्यक्त गरे ।
उनले हालै आफ्नो अमेरिका भ्रमणका क्रममा विश्व बैङ्क र अन्तर्राष्ट्रिय मुद्रा कोषका उच्च अधिकारीहरूसँग भएको परामर्शमा पनि सकारात्मक सङ्केत मिलेको बताए । पुनका अनुसार, नेपाल ग्रिन र क्लिन इनर्जीमा दक्षिण एसियाकै केन्द्र बन्न सक्ने र लगानी जुटने विश्वास मिलेको जनाए ।
लगानी बोर्डका प्रमुख प्रशासकीय अधिकृत सुशील भट्टले लगानी सम्मेलन लगानी प्रवद्र्धनको निरन्तरको प्रयास रहेको बताए । उनले सार्वजनिक–निजी साझेदारी अन्तर्गत १४८ परियोजना सो केसमा राखिने भएपनि विदेशी व्यापारिक टाइकनहरुले सम्मेलनमा जोडिएर अन्य परियोजनामा लगानी गर्न सक्ने सम्भावना रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रारा राष्ट्रिय निकुञ्जमा एनटिएनसीको फिल्ड कार्यालय उद्घाटन
-
गैडाकोटको जुक्तिखोलामा पौडी खेल्ने क्रममा दुई किशोरको मृत्यु
-
समयमै काम नसकिएपछि थपियो फ्लडलाइट सहितको रङ्गशाला बनाउन दुई महिना
-
बागमती प्रदेशमा वैशाख २४ गते सार्वजनिक विदा
-
एनओसी नलिइ अध्ययनका लागि भारत जाने विद्यार्थीको यकिन तथ्याङ्क छैन : शिक्षामन्त्री
-
व्यवस्थाविरूद्ध हुने गतिविधिको प्रतिवाद गर्ने सरकारको नीतिप्रति राप्रपाको आपत्ति