शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

दलका नेतृत्व मठाधीश बनेका कारण लोकतन्त्रमाथि टीकाटिप्पणी भयो : सांसद पौडेल

मङ्गलबार, ११ वैशाख २०८१, १६ : ४४
मङ्गलबार, ११ वैशाख २०८१

काठमाडौँ । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले राजनीतिक दलका नेतृत्व मठाधीश बनेका कारण लोकतान्त्रिक प्रणालीमाथि नै टीकाटिप्पणी हुने गरेको बताएका छन् । 

मंगलबार काठमाडौँमा आयोजित लोकतान्त्रिक प्रणालीमा नीति, नेतृत्व र नैतिकता विषयक संवाद कार्यक्रममा बोल्दै सांसद पौडेलले दलका नेतृत्वहरू मठाधीश बनेका कारण लोकतन्त्रमाथि प्रश्न उठ्न थालेको बताएका हुन् । उनले अहिलेको लोकतन्त्रमा नीति, नेतृत्व र नैतिकता नै नभएको टिप्पणी गरे । उनले लोकतन्त्रको विकल्प अर्को कुनै शासन प्रणाली नहुने स्पष्ट पार्दै संविधानलाई कार्यान्वयन गर्न नसक्दा लोकतन्त्र कमजोर हुने बताए । 

सांसद पौडेलले संविधानले कुनैपनि मठाधीश, निरंकुश शासक र सामन्तीको परिकल्पना नगरेको भएपनि नेतृत्वको व्यवहार निरंकुश शासक र सामन्तीको भन्दा फरक नभएको बताए । दलमा नेतृत्वकै कुरा सर्वेसर्वा हुने भन्दै उनले नेतृत्व मठाधीशको रूपमा प्रस्तुत हुने गरेका बताए । उनले राजनीतिक दलहरूले आन्तरिक लोकतन्त्रको सम्पूर्ण रूपमा प्रयोग नगरेसम्म दलीय व्यवस्था सुदृढ हुन नसक्ने बताए ।

सांसद पौडेलले लोकतन्त्रलाई विधिको शासनको रूपमा महसुस गराउन र कानुनी राज्य भएको स्थिति निर्माण गर्न दलभित्र व्यापक सुधारको आवश्यकता रहेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप