शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय
साँखु नगर आइपुगिन् बज्रयोगिनी माई (फोटोफिचर)
शंखरापुर जात्रा

साँखु नगर आइपुगिन् बज्रयोगिनी माई (फोटोफिचर)

मङ्गलबार, ११ वैशाख २०८१

काठमाडौँ । काठमाडौँको शंखरापुर नगरपालिका, साँखुमा यस वर्षको बज्रयोगिनी जात्रा भव्य रूपमा सुरु भएको छ । साँखु बजारको उत्तर दिशामा रहेको मणिच्यूड पर्वतस्थित मन्दिरबाट बज्रयोगिनी लगायतका देवी देवताको मूर्ति खटमा बोकेर नगर प्रवेश गराइएको हो । 

यसवर्ष साँखुको धुँल्ला टोलस्थित सत्तलमा बज्रयोगिनीलाई विराजमान गराइएको छ । ३३ सय वर्ष पुरानो बज्रयोगिनी माई जात्रा साँखुमा ८ दिनसम्म सञ्चालन हुँदैछ । 

जात्रामा बज्रयोगिनी मन्दिरबाट बज्रयोगिनीसँगै चिभाः द्यः, सिंहमुखी, बाघमुखी लगायतका मूर्तिलाई खटमा बोकेर बाजागाजासहित मन्दिरबाट २ किलोमिटर तल साँखु नगर प्रवेश गराइएको छ । माईलाई साँखु नगर प्रवेश गराउने सो अवसरमा बागमती प्रदेशसभा सदस्य राजु विष्ट, शंखरापुर नगरप्रमुख रमेश नापित, नगरप्रवक्ता राधाकृष्ण श्रेष्ठ लगायतका ठुलो सङ्ख्याका स्थानीयवासी बज्रयोगिनी मन्दिर पुगेका थिए । 

IMG_0703

अनौपचारिक रूपमा यो चैते दसैँदेखि सुरु हुन्छ । परम्परा अनुसार जात्राका लागि चैते दसैंमा पाँच थकाली गुर्जुसहित स्थानीय नगरवासीको तर्फबाट दाम, सुपारी स्वयम्भू चैत्य र मूल बज्रयोगिनी देवीलाई चढाएर निमन्त्रणा गरिएको थियो । 

चैतेदसैंको दिन जात्रा सुरु भएको संकेतस्वरूप नायखिं बाजा बजाएर नगर परिक्रममा गरी झ्याली पिट्ने गरिन्छ । करिब ३३ सय वर्ष अगाडि साँखु महानगरका राजा शङ्खदेवले आफ्नो राज्यअन्तर्गतका सात वटा गाउँमा सुखशान्ति मिलोस्, कल्याण होस र खेतीपाती राम्रो होस भन्ने कामनाका साथ सो जात्रा चलाएका थिए भन्ने किम्बदन्ती रहेको छ ।

गला र दुवै हातमा नागमाला, शरीरमा भोटो, दायाँ हातमा खड्ग, बायाँमा कमलको फूल, हिरामोती जडित मुकुटले सजिएकी तीन नेत्र भएकी बज्रयोगिनीलाई हरेक चैत शुक्ल पूर्णिमामा मन्दिरबाट भव्य जात्रा गर्दै साँखु नगरमा ल्याउने परम्परा रहेको छ । नेपालकी शिरोमणि देवी बज्रयोगिनी माताबाट राजा र प्रजालाई दर्शन दिने उद्देश्यले यी चार मूर्ति साँखु बजारमा ल्याएर जात्रा चलाइने गरेको हो । नेपालको उत्पत्तिसँग सम्बन्धित भएको बज्रयोगिनी देवीको जात्रामा यस भेगका अधिकांश समुदायको उपस्थिति रहन्छ ।

IMG_0724

बज्रयोगिनी माई जात्राको सुरुकै दिन बालाजु बाइसधारामा मेला लाग्ने परम्परा रहेको छ । जात्रा अवधिभर साँखु नगरका गागलफेदी, पालुवाबारी, लप्सेफेदी, इन्द्रायणी, चाँगु, र घुमारचोक गरी सात गाउँमा चार दिनसम्म खेतीपातीका काम नगर्ने चलन रहेको छ । जात्राको ४ दिन पछि मूजात्राका रूपमा साँखुबासीहरुले मनाउने गर्छन् । जात्रामा बज्रयोगिनीको मूर्तिसँगै चिभाःद्यः, सिंहमुखी, बाघमुखी र अमोघसिद्धिको मूर्तिलाई खटमा बोकेर बाजागाजासहित साँखु बस्ती घुमाउने परम्परा रहेको छ ।

यो दिन साँखुबासीहरुले आफ्ना आफन्तहरू बोलाएर भोज खुवाउने चलन छ । जात्रामा बज्रयोगिनीको मूर्तिसँगै चिभाद्यः, सिंहिणी, ब्याघ्रिनी जात्रा प्रत्येक वर्ष मनाउने भएपनि साँखु बजारका आठ टोलहरुमध्ये चार टोलमा मात्रै माई राख्ने सत्तलको व्यवस्था गरिएको र पालैपालो ती चारवटै टोलहरूमा माई विराजमान गराइने प्रचलन रहेको छ । जात्रा अघि बज्रयोगिनी मन्दिर जाने बाटो मर्मत, सरसफाइ लगायतको कार्य गरिएको थियो । यो वर्ष वैशाख १४ गते बज्रयोगिनीलाई साँखु बजार परिक्रमा गराउँदै मूल जात्राको रूपमा मनाइँदै छ । वैशाख १८ गते बज्रयोगिनीलाई रथमा राख्ने र १९ गते मन्दिरमा फर्काइनेछ ।

IMG_0777IMG_0783IMG_0793IMG_0859IMG_0883IMG_0916IMG_0933IMG_0949

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया