शिक्षकको जागिर छाडेर जनयुद्धमा होमिएका परियार बने मन्त्री
सुर्खेत । कर्णाली प्रदेश सभामा प्रत्यक्षतर्फका २४ सिटमा निर्वाचित हुने एक्ला दलित प्रतिनिधिमा पर्दछन्, हुम्लाका रणसिं परियार । उनै परियारलाई नेकपा माओवादी केन्द्र संसदीय दलले बुधबार मन्त्री बनाएको छ । यद्यपि बाँकी मन्त्री नियुक्तिको प्रक्रिया बाँकी नै रहेकाले परियारलाई अहिले मन्त्रालयको जिम्मेवारी तोकिएको छैन ।
परियार ०७९ मा भएको प्रदेश सभा चुनावमा गठबन्धनविरुद्ध बागी उम्मेदवारी दिएका कांग्रेसका मंगलबहादुर शाहीलाई १ हजार ८५१ मतान्तरले पराजित गर्दै हुम्ला–१ बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।
परियार अहिले माओवादी संसदीय दलको प्रमुख सचेतकसँगै पार्टीको वैकल्पिक केन्द्रीय सदस्य छन् ।
- विभेदको अन्त्य गर्न जनयुद्धमा
२०३३ साल पुस १५ गते जन्मिएका परियार हुम्लाको अदानचुली गाउँपालिका–१, कल्खेका स्थायी बासिन्दा हुन् । भौगोलिक हिसाबले निकै पिछडिएको क्षेत्रबाट प्रत्यक्षतर्फ चुनाव लडेर मन्त्री बन्ने पहिलो व्यक्ति पनि हुन्, परियार ।
हुम्लाको राजनीतिमा यसअघि दलित मन्त्री बनेको इतिहास छैन । स्नातक अध्ययन पूरा गरेका परियारले १० वर्ष सरकारी शिक्षकका रूपमा हुम्लाका विभिन्न विद्यालयमा अध्यापन गराए । ५० को दशक अघिसम्म कर्णालीमा चरम रूपमा जातीय र वर्गीय विभेद थियो ।
शिक्षकका रूपमा पढाउँदै गर्दा पनि आफ्नो समुदायमाथि हुने विभिन्न खालका विभेदले उनलाई पोलिरहन्थ्यो । माओवादी सशस्त्र द्वन्द्व उत्कर्षमा पुगेका बेला २०५९ सालमा जागिर छाडेर युद्धमा होमिए । स्थायी जागिर छाडेर उत्पीडित समुदायको न्याय र समानताका लागि आन्दोलनमा आफू होमिएको परियार बताउँछन् । त्यसपछि पार्टी–संगठनप्रतिको लामो समर्पण, त्याग र अनुशासनका कारण नेतृत्वले विश्वास गरेर प्रत्यक्ष निर्वाचन लड्दै मन्त्रीको पदमा पुगेको उनले बताए ।
उनी भन्छन्, ‘पहिलो कुरा त दलितहरूले प्रत्यक्ष निर्वाचन जित्दैनन् भनेर कुरा काटिन्थ्यो, प्रतिस्पर्धीहरूले सार्वजनिक मञ्चबाट नै दलित समुदायको व्यक्ति भनेर होच्याई बोलेको कुरा कसरी बिर्सन सकिन्छ र ?,’ उनी भन्छन्, ‘मेरो जीत कर्णालीका सिङ्गो दलित समुदायको जीत थियो । दलितहरूले पनि प्रत्यक्ष निर्वाचन जित्न सक्दा रहेछन् भन्ने प्रमाणित भएको थियो ।’
अति पिछडिएको जिल्ला हुम्लाबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएपछि उनले सदनमा हुम्लाका दैनिक समस्या, विकास र समग्र दलित समुदायको हक–हितका पक्षमा आवाज बुलन्द पार्दै आएका छन् । अब उनी प्रश्न उठाउने ठाउँबाट जवाफ दिने ठाउँमा पुगेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण