बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

मिडिया सोसाइटीले भन्यो - ‘फेक न्युज’ बनाएर स्थापित मिडियाबारे भ्रम फैलाइयो

शनिबार, १५ वैशाख २०८१, १७ : ०६
शनिबार, १५ वैशाख २०८१

काठमाडौँ । नेपाल मिडिया सोसाइटीले एक युट्युब भिडियोले कलाविहीन ‘फेक न्युज‘ उत्पादन गरेर नेपाली मिडिया जगत र स्थापित मिडिया संस्थाका बारेमा भ्रम फैलाएको बताएको छ । शनिवार संस्थाका अध्यक्ष शुभशंकर कँडेलद्वारा जारी विज्ञप्तिमा सो घटनाले गम्भीर बनाएको  उल्लेख गरेका छन् । 

‘कुन युट्युब भिडियोले कुन मिडियामाथि भ्रम फैलाएको’ स्पष्ट रूपमा उल्लेख नगरी जारी गरिएको सो विज्ञप्तिमा विश्वभर प्रविधिको चरम दुरुपयोग गरेर लोकतान्त्रिक संरचना र स्वतन्त्र मिडिया तथा न्यायपालिकामाथि आक्रमण गर्ने, जिम्मेवार नागरिक संस्थाहरूको बदनाम गरेर अराजक र उत्तेजित भीडको शासन लाद्ने दूषित हावा चलिरहेको उल्लेख छ । 

त्यसकै पछिल्लो घटनाका रूपमा शुक्रबार एक युट्युब भिडियोले कलाविहीन ‘फेक न्युज‘ उत्पादन गरेर नेपाली मिडिया जगत र स्थापित मिडिया संस्थाका बारेमा भ्रम फैलाएको जनाइएको छ । 

कँडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ–‘एक अमुक युट्युब च्यानलमा नेपालका स्थापित मिडिया हाउस र तिनका सञ्चालक तथा बहालवाला एक न्यायाधीशलाई समेत बदनाम गर्ने कुत्सित उद्देश्यका साथ विना कुनै तथ्य र प्रमाणका आधारमा आग्रहपूर्ण अभिनय गरिएको घटनालाई कानुनको पालना गराउने निकायहरूले तत्काल कारबाही गर्नुपर्दछ । यस प्रकारका गैरजिम्मेवार र नियोजित ‘फेक खुराक‘ उत्पादन गर्ने कारखानाहरू मिडिया हुन नसक्ने तथ्यलाई स्पष्ट गर्नु आवश्यक छ । यस्ता खालका फेक कारखानाका पछाडि र ‘हेट स्पिच‘को वर्गमा पर्ने क्रियाकलापलाई नेपाल सरकारले तत्कालै कारबाहीको दायरामा ल्याउन समेत हामी जोडदार माग गर्दछौँ ।’ 

कँडेलले कुनै रिस साध्न वा अरूलाई पनि आफू जस्तै त हो नि भन्ने भाष्य तयार गर्न कुनै अनलाइन वा सोसल मिडियाको दुरुपयोग हुनु आफैमा डरलाग्दो प्रवृत्ति रहेको र यस्तो रवैयालाई समयमा नै नरोकिएमा भविष्यमा यस्ता घटनाले लोकतान्त्रिक प्रणालीलाई कमजोर बनाउने निश्चित रहेको दाबी गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप