फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
सारांश
- विश्वकप फुटबलले मौसमी सुस्त अर्थतन्त्रलाई राहत दिएको छ, तर व्यापारको ट्रेन्डमा अनौठो परिवर्तन देखिएको छ ।
- रेस्टुरेन्टको प्रत्यक्ष व्यापारमा अपेक्षा अनुसार वृद्धि नभए पनि फुड डेलिभरीमा भने १०० प्रतिशतसम्मको वृद्धि भएको छ ।
- एआई (आर्टिफिसियल इन्टेलिजेन्स) एपहरूको प्रयोगले गर्दा यसपटक जर्सीको व्यापारमा अपेक्षित वृद्धि हुन सकेन ।
काठमाडौँ । मौसमी रूपमा हुने सुस्त र आर्थिक मन्दीपछि तग्रिँदै गरेको अर्थतन्त्रलाई विश्वकप फुटबलले राहत दिएको छ । बर्खा र खेतीपातीको मौसमका कारण अफ सिजन मानिने व्यापार र सेवामूलक क्षेत्रमा फुटबलले रौनकता थपिदियो ।
तर, यसपालि व्यापारको ट्रेन्डमा भने अनौठो परिवर्तन देखियो । रेस्टुरेन्ट एन्ड बार एशोसिएसन नेपाल (रेबान) का अध्यक्ष संघर्ष विष्टका अनुसार अघिल्ला सिजनहरूमा हुने होटल तथा रेस्टुरेन्टको व्यापार यसपालि अपेक्षित रूपमा बढेन, बरु वैकल्पिक व्यापार धेरै देखियो ।
रेस्टुरेन्ट व्यापारमा सामान्य वृद्धि, फुड होम डेलिभरीमा उछाल
प्रतियोगिताका खेलहरू नेपाली समय अनुसार राति भएकोले रेस्टुरेन्ट व्यवसायमा प्रत्यक्ष प्रभाव परेको छ । रेस्टुरेन्ट तथा बार एशोसिएसन नेपालका अध्यक्षका अनुसार रेस्टुरेन्टमा प्रत्यक्ष उपस्थित हुने ग्राहकको संख्यामा केही सुधार भए पनि अपेक्षा गरेजस्तो ठुलो भिड भने हुन सकेन ।
यद्यपि, रात्रिकालीन रूपमा हुने अनलाइन डेलिभरी भने यसपटक उच्च सुधार आएको छ । फुडमान्डु र पठाओ फुड जस्ता डेलिभरी प्लेटफर्मका सञ्चालकहरूका अनुसार रातको समयमा हुने अर्डरमा साविकको भन्दा १०० प्रतिशतसम्म वृद्धि भएको थियो । विशेषगरी पिज्जा, बर्गर, र स्न्याक्ससँगै मदिरा र चुरोटको मागमा उल्लेख्य वृद्धि देखिएको व्यवसायीहरूको भनाइ छ ।
इलेक्ट्रोनिक्स बजारमा ठुला स्क्रिनको आकर्षण
नेपालमा हुने हरेक ठुला फुटबल प्रतियोगिताको प्रत्यक्ष फाइदा टेलिभिजन विक्रेताहरूलाई हुने गर्दछ ।
नेपाल इलेक्ट्रोनिक्स रिटेलर्स एशोसिएसन र भन्सार विभागको तथ्याङ्कलाई आधार मान्ने हो भने प्रतियोगिता सुरु हुनुभन्दा एक महिना अघिदेखि नै टेलिभिजनको आयात र बिक्रीमा करिब २५ देखि ३० प्रतिशतको बढोत्तरी देखिएको छ ।
सामसुङ, एलजी र सीजी जस्ता ठुला ब्राण्डका विक्रेताहरूका अनुसार यसपटक ५५ इन्च र सोभन्दा माथिका फोरके टेलिभिजनको माग उच्च थियो । व्यापारीहरूका अनुसार अक्सर कममात्रै बिक्री हुने ठुलो स्करिनका टेलिभिजन र प्रोजेक्टरहरूको माग यसपटक बढेको छ । फुटबल हेर्नकै लागि भनेर ठुलो स्क्रिन किन्नेहरू यसपटक बढेको व्यापारीहरूको भनाइ छ ।
सार्वजनिक प्रसारणमा अवरोधले असर
यसपटकको प्रसारण अधिकार नेपाली कम्पनी (मिडिया हब) ले महँगो शुल्कमा खरिद गरेकाले प्रसारणमा कडाइ गरिएको थियो । यसको असर सार्वजनिक स्थानहरूको व्यापारमा देखिएको छ । व्यावसायिक प्रयोजनका लागि खेल देखाउने होटल वा सिनेमा हलले छुट्टै अनुमति लिनुपर्ने प्रावधानका कारण पहिले जस्तो चोकचोकमा प्रोजेक्टर लगाएर फुटबल देखाउने चलनमा कमी आयो ।
यसले गर्दा केही साना रेस्टुरेन्टको व्यापार अपेक्षित रूपमा धेरै नभएको सरोकारवालाहरू बताउँछन् । केही रेस्टुरेन्टहरूले भने आन्तरिक रूपमै ठुला स्क्रिनको व्यवस्था गरी ग्राहक तान्ने प्रयास गरेको देखिन्छ ।
यद्यपि कपिराइटको कडाइले टेलिभिजन र ओटीटी प्लेटफर्मको सब्सक्रिप्सन भने बढाएको पाइएको छ ।
जर्सी व्यापारमा एआईको नयाँ चुनौती
हरेक फुटबल प्रतियोगितामा जर्सीको व्यापारले करोडौँको कारोबार गर्ने गर्दथ्यो । यसपटक पनि अर्जेन्टिना, ब्राजिल, फ्रान्स, स्पेन, पोर्चुगल, जर्मनी जस्ता टिमका जर्सीको तुलनात्मक रूपमा सदाझैँ धेरै रहेको पाइएको थियो ।
तर, यसपटक अपेक्षाकृत रूपमा व्यापार भने भएन । न्युरोड र भोटाहिटीका खेलकुद सामग्री बिक्रेताहरूका अनुसार यसपटक एउटा आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग गरी आफ्नो फोटोलाई कुनै पनि देशको जर्सीमा फिट गर्न सकिने एपहरूको प्रयोग बढेका कारण यसले टीसर्टको व्यापार फस्टाउन सकेन ।
‘सामाजिक सञ्जालमा फोटो राख्नका लागि मात्र जर्सी किन्ने एउटा ठुलो वर्ग थियो, उनीहरूले अहिले एआईबाट फोटो बनाएर चित्त बुझाए,’ न्यूरोडस्थित एक स्टोरका सञ्चालक भन्छन्, ‘जसका कारण जर्सीको व्यापारमा पहिलेको जस्तो भने भएन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण