मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय
क्रिकेट

आईपीएलमा आज : दुई किङ्सबिच चेन्नईमा भिडन्त, जित्नै पर्ने दबाबमा पन्जाब

बुधबार, १९ वैशाख २०८१, ११ : १५
बुधबार, १९ वैशाख २०८१

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १७औँ संस्करणमा बुधबार चेन्नई सुपर किङ्सले पन्जाब किङ्सको सामना गर्दैछ । खेल चेन्नईस्थित एमए चिदम्बरम स्टेडियममा राति ७ः४५ बजे सुरु हुनेछ । जारी सिजनको आईपीएलमा खेल्न लागिएको यो ४९औँ खेल हो ।

यो सिजनको आईपीएलमा चेन्नई र पन्जाब पहिलो पटक भिड्न लागेका हुन् । आईपीएलको १७औँ संस्करणमा दुवै टोलीले आफ्नो १०औँ खेल खेल्न लागेका हुन् । बुधबारको खेलमा पराजित भए पन्जाबको अगाडि बढ्ने सम्भावना लगभग समाप्त हुनेछ ।

चेन्नईले यसअघि खेलिएको नौमध्ये पाँच खेलमा जित र चार खेलमा हारको नतिजा निकालेको छ । चेन्नई १० अंकसहित तालिकाको चौथो स्थानमा छ । पञ्जाबले यसअघि खेलेको नौमध्ये तीन खेलमा जित र ६ खेलमा हारको नतिजा निकालेको छ । पन्जाब ६ अंकसहित तालिकाको आठौँ स्थानमा छ ।

हेड टु हेडमा चेन्नई अगाडि

इन्डियन प्रिमियर लिगमा चेन्नई सुपर किङ्स र पन्जाब किङ्सबिच हालसम्म कुल २८ खेल खेलिएको छ । त्यसमध्ये १५ खेलमा चेन्नईले पञ्जाबलाई हराएको छ । १३ खेलमा भने पञ्जाबले चेन्नईलाई हराएको छ ।

चेन्नई र पञ्जाबबिच पछिल्लो पटक आईपीएलको १६औँ संस्करणमा भिडन्त भएको थियो । उक्त खेलमा पञ्जाबले चेन्नईलाई चार विकेटले पराजित गरेको थियो ।

चेन्नईको सर्वाधिक रन गायकवाडको नाममा

इन्डियन प्रिमियर लिगको जारी सिजनमा चेन्नई सुपर किङ्सका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान ऋतुराज गायकवाड हुन् । उनले पछिल्लो दुई खेलमा मात्र क्रमशः एक सय आठ र ९८ रन बनाएका थिए ।

ऋतुराजले जारी आईपीएलमा नौ खेल खेल्दै कुल चार सय ४७ रन बनाएका छन् । यस क्रममा उनले एक शतक र तीनवटा अर्धशतक प्रहार गरिसकेका छन् । उनी जारी सिजनको आईपीएलमा सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचिमा विराट कोहलीपछि दोस्रो स्थानमा छन् ।

चेन्नईका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचिमा शिवम दुबे दोस्रो स्थानमा छन् । उनले नौ खेलमा कुल तीन सय ५० रन बनाएका छन् । बुधबारको खेलमा रचिन रविन्द्र पनि टोलीमा फर्कन सक्ने सम्भावना छ । उनी न्युजिल्यान्डको तर्फबाट टी–२० शृंखला खेल्न पाकिस्तान गएका थिए ।

यो सिजनको आईपीएलमा चेन्नईका लागि सर्वाधिक विकेट लिने बलर भने मुस्तफिजुर रहमान हुन् । उनले हालसम्म १४ विकेट लिइसकेका छन् । सर्वाधिक विकेट लिने बलरको सूचिमा दोस्रो स्थानमा माथिशा पाथिराना हुन् । उनले १३ विकेट लिएका छन् ।

पञ्जाबलाई शशांक सिंहको भर

जारी सिजनको आईपीएलमा पन्जाब किङ्सका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान शशांक सिंह हुन् । उनले टोलीका लागि कुल दुई सय ६३ रन बनाइसकेका छन् । सर्वाधिक रन बनाउने खेलाडीको सूचिमा प्रभसिमरन सिंह दोस्रो स्थानमा छन् । उनले कुल दुई सय आठ रन बनाएका छन् ।

पञ्जाबका लागि सर्वाधिक विकेट लिने बलर भने हर्षल पटेल हुन् । उनले नौ खेलमा १४ विकेट लिइसकेका छन् । जारी सिजनको आईपीएलमा सर्वाधिक विकेट लिने बलरको सूचिमा उनी जसप्रित बुमराह र मुस्तफिजुर रहमानसँगै संयुक्त रुपमा पहिलो स्थानमा छन् ।

स्पिन बलरलाई साथ दिने पिच

चेन्नई सुपर किङ्स र पन्जाब किङ्सबिच बुधबारको खेल हुने एमए चिदम्बरम स्टेडियमको पिच खासगरी स्पिन बलरलाई साथ दिने प्रकृतिको छ । यो स्टेडियममा हालसम्म आईपीएलको ८१ खेल खेलिएको छ ।

त्यसमध्ये ४८ खेलमा पहिलो ब्याटिङ गर्ने टोलीले जित हासिल गरेको छ । ३३ खेलमा भने जवाफी ब्याटिङ गर्ने टोलीले सफलता हात पारेको छ । यो स्टेडियममा बनको उच्च स्कोर पाँच विकेट गुमाएर दुई सय ४६ रन हो । उक्त स्कोर सन् २०१० मा चेन्नईले राजस्थान रोयल्सविरुद्ध बनाएको थियो ।

छैन वर्षाको सम्भावना

चेन्नई सुपर किङ्स र पन्जाब किङ्सबिच खेल हुने दिन बुधबार चेन्नईको मौसम सफा रहने छ । बुधबार वर्षाको कुनै सम्भावना नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । बुधबार चेन्नईको तापक्रम ३० देखि ३७ डिग्री सेल्सियसको बिचमा रहने छ ।

सम्भावित टोली

चेन्नई सुपर किङ्स : ऋतुराज गायकवाड (कप्तान), अजिनक्या रहाणे वा समीर रिजवी, मोइन अली, ड्यारल मिचेल वा रचिन रविन्द्र, शिवम दुबे, रविन्द्र जडेजा, महेन्द्रसिंह धोनी (विकेटकिपर), मुस्तफिजुर रहमान, दीपक चाहर, माथिशा पाथिराना र तुषार देशपाण्डे । इम्प्याक्ट प्लेयर : शार्दुल ठाकुर ।

पन्जाब किङ्स : साम कुर्रन (कप्तान), प्रभसिमरन सिंह, राइली रुसो, जितेश शर्मा (विकेटकिपर), लियाम लिभिङस्टोन, शशांक सिंह, आशुतोष शर्मा, हरप्रित बरार, हर्षल पटेल, कागिसो राबडा र अर्शदीप सिंह । इम्प्याक्ट प्लेयर :राहुल चाहर ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप