शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

वर्तमान सरकारको आयु लामो छैन : डा. महत

शनिबार, २२ वैशाख २०८१, १४ : ४७
शनिबार, २२ वैशाख २०८१

काठमाडौँ । नेपाली काङ्ग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले अस्थिरता र अविश्वासको जगमा बनेको सरकारको आयु धेरै लामो नभएको बताएका छन् । 

शनिबार विश्व प्रेस स्वतन्त्रता दिवसको सन्दर्भमा नेपाल प्रेस युनियन केन्द्रीय समितिले आयोजना गरेको अन्तरक्रियामा उनले वर्तमान सरकारको आयु चाँडै टुङ्गिने बताए । उनले पारदर्शिता, विकास र स्थिरताप्रति समर्पित सरकार चाँडै निर्माण हुने विश्वास व्यक्त गरे । 

उनले भने, ‘अस्थिरता र अविश्वासको जगमा अहिलेको सरकार बनेको छ । यसकै कारणले यसको आयु चाडै टुङ्गिनेवाला छ । र चाडै नै हामीले लोकतन्त्रप्रति समर्पित कुराले होइन, कामले पारदर्शिता, विकास र स्थिरताप्रति समर्पित सरकार चाँडै आउने छ भन्ने विश्वास दिलाउन चाहन्छु ।’

यस्तै, उनले समावेशिता र सहभागिताको सुनिश्चित गर्दै प्रत्यक्ष निर्वाचनमा जान सकिने भन्दै यसमा बहस चलाउन आवश्यक भएको पनि बताए ।  उनले नेपालको राजनीति काङ्ग्रेसको कारणले अन्योलग्रस्त नभएको भन्दै अस्थिरता निम्ताउने र त्यसमा रमाउने प्रवृत्तिलाई निस्तेज गर्नुपर्ने बताए । 

उनले भने, ‘नेपालको राजनीति नेपाली काङ्ग्रेसको कारणले अन्योलग्रस्त भएको होइन । काङ्ग्रेसको कारणले अस्थिरता आएको होइन । जसले अस्थिरता निरन्तर रूपमा निम्ताई रहेका छन् त्यो प्रवृत्ति नेपालको लोकतान्त्रिक आन्दोलनको लागि घातक छ । नेपालको विकासको लागि घातक छ । नेपालको उन्नति र देशमा रोजगारी सिर्जनाको लागि घातक छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप