शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

सूचनाका हकका अभियन्ता राष्ट्रपतिबाट सम्मानित

शनिबार, २२ वैशाख २०८१, १७ : ५७
शनिबार, २२ वैशाख २०८१

काठमाडौँ । राष्ट्रिय सूचना आयोगको स्थापना दिवसको अवसरमा विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको छ । शनिबार राष्ट्रपति भवनमा आयोजना गरिएको कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलबाट सिरहाका परशुराम साह, कास्कीका यदुनाथ बञ्जारा, मकवानपुरका इन्द्रप्रसाद बञ्जारा र सिन्धुपाल्चोकका आदित्य दाहाल विनय कसजु उत्कृष्ट अभियन्ता पुरस्कारबाट पुरस्कृत भएका हुन् ।

त्यस्तै, राष्ट्रपति पौडेलबाट ललितबहादुर बुढा, किशोरकुमार वाइवा, तुलबहादुर विक, टेकबहादुर खत्री, डम्बर रोगु उत्कृष्ट सूचना अधिकारी पुरस्कारबाट सम्मानित भएका छन् भने हरिहर कार्की, शान्ता न्यौपाने, लक्ष्मण अर्याल, गौरव गुरुङ उत्कृष्ट कर्मचारी पुरस्कारबाट सम्मानित भएका छन् ।

१७ औँ राष्ट्रिय सूचना दिवसको अवसरमा सूचना हकका अभियन्ता पर्शुराम साह सम्मानित भएका छन् । सिरहाका परशुराम साह शारीरिक रूपले अपाङ्ग भए पनि शिक्षण कार्य र सूचनाको अभियानलाई पनि सँगसँगै अगाडि बढाइरहेका छन् । उनले मधेस प्रदेशका प्राय पालिका, विद्यालय, सरकारी कार्यालयमा सूचना अधिकारी तोक्न लगाएर बोर्ड समेत झुन्ड्याउन लगाएका छन् ।

उनले मधेस प्रदेशमा मात्र होइन, अन्य प्रदेश तथा उपत्यका पनि केही सरकारी कार्यालयमा सूचना अधिकारी तोक्न लगाएका छन् । उनले सिरहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बलिराम यादवलाई जरिवाना समेत तिर्न लगाएका छन् । उनले नगरपालिकाबाट सूचना माग गरेका थिए तर पालिकाले सूचना उपलब्ध नगराएको कारणले सूचना आयोगले बलिराम यादवलाई १५ सय जरिवाना गरेको थियो ।  

उनी शिक्षण पेसामा पनि त्यतिकै सक्रिय छन् । त्यसबाट बाँकी रहेको समयलाई सूचनाको अभियानका लागि प्रयोग गर्दै आएका छन् । सूचनाको अभियान चलाइ रहँदा अनेक चुनौतीको सामना गरेका साहलाई पटक पटक ज्यान मार्ने धम्की समेत आएको थियो ।

सिरहा नगरपालिकासँग सूचना माग गर्दा उनले विद्यालयबाट सरुवा गरिएको थियो । तर उनले आफ्नो सरुवा मुद्दा जितेर स्थगित गराउन सफल भएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप