कार्यकर्तामुखी बजेट ल्याउने पूर्वअभ्यास गरियो : महत

काठमाडौँ । पूर्वअर्थमन्त्री एवं कांग्रेस नेता प्रकाशशरण महतले सरकारले ल्याएको नीति तथा कार्यक्रम पुरानै ढर्रामा आएको बताएका छन् ।
मंगलबार संसदमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुतपछि महतले सरकारले सुशासन, भ्रष्टाचार नियन्त्रणको कुरा गरेपनि सरकारमा बसेका व्यक्तिले गरेको ठगी, दुरुपयोगको ढाकछोप गरिरहेको र त्यसको कांग्रेसले विरोध गरिरहेको उल्लेख गरे ।
यो विषयलाई केहीपनि भएको छैन जस्तो गरी सरकारले बेवास्ता गरिरहेको उनले बताए । उनले भने,‘नीति तथा कार्यक्रममा भ्रष्टाचार नियन्त्रणको जुन कुरा गरेको छ, त्यसको अर्थ छ जस्तो मलाई लाग्दैन । अहिले सम्पूर्ण राज्य संरचनालाई अनुशासनमा ल्याउने कुरा छोडिएको छ । हामीले बजेटलाई अनुशासनमा लान प्रयास गरिरहेका थियौँ । एकदम वितरणमुखी, कार्यकर्तामुखी बजेट ल्याउने पूर्वअभ्यास गरिएको छ ।’
नीति तथा कार्यक्रममा भन्नलाई केही पनि नछुटाएको र हुनेवाला केहीपनि नभएको उनले टिप्पणी गरे ।