आइतबार, ०२ असार २०८१
ताजा लोकप्रिय
भेटी चोरी प्रकरण

पशुपतिमा बाजा बजाउने कर्मचारी प्रयोग गरेर दैनिक २० हजारसम्म चोरी

बुधबार, ०९ जेठ २०८१, १६ : २५
बुधबार, ०९ जेठ २०८१

काठमाडौँ । पशुपतिनाथ मन्दिरको भेटी चोरेको आरोपमा पक्राउ परेका  ५ जनामाथि प्रहरीले अनुसन्धान अघि बढाएको छ । प्रहरी वृत्त गौशालाको हिरासतमा रहेका पशुपति क्षेत्र विकाश कोषका ५ जना कर्मचारीमाथि प्रहरीले अनुसन्धान गरिरहेको हो । 

प्रहरीका अनुसार पक्राउ परेकामध्ये ३६ वर्षीय नवराज घिमिरे र ५१ वर्षीय नवराज ढोडारी पशुपतिको मन्दिरमा चढाएको भेटी गन्ने जिम्मेवारी लिएका कर्मचारी हुन् ।

यस्तै २९ वर्षीय सञ्जय कपाली, ३५ वर्षीय कुमार दमाई परियार र ३४ वर्षीय अनिल परियार चाहिँ बाजा बजाउने कर्मचारी हुन् । पशुपतिको नित्य पूजा गर्नेबेला कपालीले नेवारी संस्कृति अनुसारको बाजा र परियारद्वयले सनाई बजाउँछन् । 

तर, उनीहरूलाई पछिल्लो समय भेटी गन्नेहरूले सहयोगी बनाएको भेटिएको छ । भेटी गन्ने मुख्य जिम्मेवारीमा रहेका घिमिरे र ढोडारीसँगै उनीहरू पनि गणना गर्ने ठाउँमा जान्थे । सो कोठामा प्रवेश गर्दा र फर्किँदा सशस्त्र र नेपाल प्रहरीले सुरक्षा जाँच गर्छ । तर, उनीहरूले भित्रबाट ज्याकेटको बाहुलामा लुकाएर रकम ल्याउने गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।

अनुसन्धानमा संलग्न एक जना अधिकृतका अनुसार पैसा गणना गर्ने टेबलमा सँगै बसेर गन्दा हजार र पाँच सयका नोट ढोडारी र घिमिरेले बाजा बजाउने कर्मचारीहरूतर्फ फाल्छन् । त्यसरी फालेको रकम पैसा गनेको जस्तो गरेर बाजा बजाउनेहरूले पाखुराबाट भित्र लुकाएर बाहिर निस्कन्छन् । अनुसन्धानमा संलग्न एक अधिकृत भन्छन्, ‘बाहिर आएपछि ढोडारी र घिमिरेलाई फिर्ता दिने गरेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।’

भित्रबाट पैसा चोरेर बाहिरसम्म ल्याइदिएबापत बाजा बजाउनेहरूले प्रतिव्यक्ति दैनिक १ हजारदेखि १५ सय कमिसन पाउने गरेको प्रहरीसँग बताएका छन् । अनुसन्धानमा संलग्न एक जना अधिकृतले भने, ‘आरोपीहरूले दैनिक १५ देखि २० हजारसम्म चोरेको देखिन्छ ।’

बाजा बजाउनेहरूले मासिक २७ हजार तलब लिन्छन् । नित्य पूजा गर्ने बेला बाजा बजाएपछि अरू काम नहुने हुनाले कोषका पदाधिकारीसँग अनुमति लिएर ढोडारी र घिमिरेले उनीहरुलाई पैसा गन्ने कोठामा लान थालेका हुन् । आरोपीहरुबिरुद्ध आपराधिक विश्वासघात र चोरी मुद्दामा अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी (एसपी) नवराज अधिकारीले रातोपाटीलाई बताए ।

नेतृत्वकर्ता ढोडारी, दैनिक ४ लाख सङ्कलन

भेटी गणना गर्ने टिमको नेतृत्वकर्ता ढोडारी हुन् । भेटी गणना गरेपछि इन्भेस्टमेन्ट मेगा बैंकका कर्मचारीहरू रकम लिन पशुपतिमा नै जाने गर्छन् । ढोडारी नेतृत्वको टिमले कुच्चिएका नोट मिलाएर गनेपछि मेशिनमार्फत रुजु गरेर ट्याग लगाएर बैंकका कर्मचारीहरूले लिएर फर्किन्छन् । पशुपतिनाथबाट दैनिक ४ लाख भेटी रकम बैंकमा डिपोजिट हुन्छ ।  

चोरी आरोपमा थुनामा रहेका ढोडारीले भने प्रहरीसँग इन्कारी बयान दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप