गण्डकीका मुख्यमन्त्रीविरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’मा, अर्को पेशी सोमबार
काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीविरुद्ध दायर भएको रिट ‘हेर्दाहेर्दै’ राखिएको छ । बुधबार सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार रेग्मी र सुनिलकुमार पोखरेलको इजलासमा बहस नसकिएपछि आगामी सोमबारलाई हेर्दाहेर्दै राखिएको हो ।
नेपाली कांग्रेसका तर्फबाट सुरेन्द्र पाण्डेले दायर गरेको रिटमा मुख्यमन्त्री अधिकारीले असंवैधानिक रूपमा विश्वासको मत लिएको जिकिर गर्दै बदरको माग गरिएको छ । बुधबार सुरुमा सरकारी वकिलहरूले बहस गरेका थिए भने त्यसपछि मुख्यमन्त्री अधिकारीका तर्फबाट बहस भएको थियो । उनीहरूको बहस सकिएलगत्तै निवेदकको तर्फबाट जवाफी बहस सुरु भएको थियो ।
मुख्यमन्त्री अधिकारीका तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापा, रमण श्रेष्ठ, रमेश बडाललगायतले बहस गरेका थिए । बहसका क्रममा उनीहरुले मुख्यमन्त्री अधिकारीले प्रदेश सभामा उपस्थित रहेका सदस्यहरूको बहुमत पाएकाले विश्वासको मत पाएको र सभामुखको भूमिकामाथि प्रश्न उठाउने ठाउँ नभएकाले रिट निवेदन खारेज हुनुपर्ने जिकिर गरेका थिए । उनीहरुले ६० सदस्य प्रदेश सभा बैठकमा सभामुखलाई अलग गर्दा ५९ सदस्य हुने र त्यसको बहुमत ३० सदस्य हुने दाबी इजलासमा पेस गरेका थिए । उनीहरुले यसअघि संयुक्त इजलासले रिट खारेज गर्दा उक्त कुरा उल्लेख गरेको दाबी गरेका थिए ।
न्यायाधीशद्वय सपना प्रधान मल्ल र शारंगा सुवेदीको इजलासले अघिल्लो रिट खारेज गर्दा लिएका ७ तर्कमध्ये एउटा ३० सदस्यको समर्थन रहेकाले विश्वासको मत प्राप्त हुन सक्दैन भनी कल्पना गर्न नमिल्ने बताएको थियो । यही तर्कमा टेक्दै मुख्यमन्त्री अधिकारीको पक्षमा आदेश हुनुपर्ने उनीहरुले जिकिर गरेका थिए । अधिकारीका कानुन व्यवसायीको बहसपछि रिट निवेदकहरूले जवाफी बहस थालेका थिए ।
जवाफमा भीमार्जुन आचार्यले संविधानमाथि जालझेल गर्ने कार्य भएकोले विश्वासको मत बदर गरी मुख्यमन्त्री अधिकारी पदमुक्त हुने आदेश सर्वोच्चले गर्नुपर्ने तर्क गरेका थिए । संविधानले स्पष्ट रूपमा विश्वासको मत पाउन बहुमत पाउनुपर्ने भनेकोले त्यसमा तलमाथि गर्ने अधिकार सभामुख वा अरू कसैलाई नहुने उनको जिकिर थियो ।
उनीपछि वरिष्ठ अधिवक्ता एवं पूर्व महान्यायाधिवक्ता खम्वबहादुर खाती र नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले बहस गरेका थिए । जवाफी बहस बाँकी नै रहेपछि सर्वोच्चले अर्को दिन आदेश गर्ने गरी हेर्दाहेर्दै राखेको हो । अब अर्को पेशी सोमबारका लागि तोकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विप्लवको राजनीतिक दस्ताबेजमाथि समूहगत छलफल जारी
-
तस्बिरमा हेर्नुस् पाँच दिने भक्तपुर महोत्सव
-
विराटनगरले चितवनलाई दियो १८२ रनको लक्ष्य
-
वैदेशिक रोजगारमा दुबई पठाइदिन्छु भनी ठगी गर्ने एक जना पक्राउ
-
झापामा नौ सय ३७ मेट्रिक टन कोदो उत्पादन
-
स्वास्थ्यकर्मीहरूलाई सरकारी सरह पारिश्रमिक दिन निजी अस्पताललाई मन्त्रालयको निर्देशन