आइतबार, ०२ असार २०८१
ताजा लोकप्रिय

जीतपुर सिमरामा सातवटा सामुदायिक विद्यालय घटुवा, दुई समायोजन

बुधबार, ०९ जेठ २०८१, २२ : ३५
बुधबार, ०९ जेठ २०८१

बारा । जीतपुर सिमरा उपमहानगरपालिकाले ७ वटा सामुदायिक विद्यालय घटुवा गरेको छ भने २ वटा विद्यालय समायोजन गर्ने निर्णय गरेको छ । उपमहानगरको शिक्षा समितिको बैठकले शिक्षा नियमावली २०५९, नगर शिक्षा ऐन २०७५ र सामुदायिक विद्यालय समायोजन कार्यविधि २०७९ बमोजिम कक्षा घटुवा र समायोजन गरेको हो ।

शिक्षा समिति संयोजक एवम् नगर प्रमुख राजन पौडेलको अध्यक्षतामा बसेको बैठकले कक्षा ८ सम्म अध्यापन अनुमति पाएका पाँच विद्यालयलाई ५ कक्षा सञ्चालन गर्ने गरी घटुवा गरेको छ । 

समितिको निर्णयअनुसार वडा नं. ३ बजनीमा रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालयलाई कक्षा ८ बाट कक्षा ५ सम्म अध्यापन गराउने गरी घटुवा गरिएको छ । उक्त विद्यालयको ६ देखि ८ कक्षालाई नेपाल राष्ट्रिय माध्यमिक विद्यालय सिमरामा समायोजन गरिएको छ ।

यसैगरी उपमहानगर वडा नं. १६ कतर्वास्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयलाई कक्षा ८ बाट ५ मा घटुवा गर्दै अन्य कक्षालाई नेपाल जनजागृति माध्यमिक विद्यालय सखुवाघाटमा समायोजन गरिएको छ । कक्षा ८ कै अनुमति पाएर सञ्चालन हुँदै आएको जीतपुर सिमरा १८ बडहर्वास्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयलाई कक्षा ५ मा ल्याउँदै अन्य कक्षालाई नेपाल राष्ट्रिय माध्यमिक विद्यालय जैतापुरमा समायोजन गरिएको छ ।

जीतपुर सिमरा १५ भवानीपुरस्थित बालज्योती आधारभूत विद्यालयलाई कक्षा ८ बाट ५ मा झारेर अन्य कक्षालाई डुमरवानास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा समायोजन गरिएको छ भने वडा नं. २ को सरस्वती आधारभूत विद्यालयलाई पनि ५ मा कायम गरेर अन्य कक्षालाई सिमरामा समायोजन गरिएको छ ।

समितिले कक्षा ५ सम्म अध्यापन गराउँदै आएको वडा नं. १ को थानीमाई आधारभूत विद्यालयलाई ३ कक्षासम्म अध्यापन गराउने गरी घटुवा गर्ने निर्णय गरेको छ । उक्त विद्यालयको कक्षा ४ र ५ लाई नेपाल राष्ट्रिय माध्यमिक विद्यालय सिमरामा समायोजन गरेको छ ।

कक्षा ४ सम्म अध्यापन गराउँदै आएको जीतपुर सिमरा १४ स्थित प्रगति आधारभूत विद्यालयलाई कक्षा २ मा घटुवा गरेर अन्य कक्षालाई जनता माध्यमिक विद्यालय रजघट्टामा समायोजन गर्ने निर्णय समितिले गरेको छ ।

समितिले ५ कक्षाको अनुमति पाएको जीतपुर सिमरा १८ कुशमाणीस्थित सूर्यविनायक आधारभूत विद्यालयलाई श्री बालबालिका आधारभूत विद्यालयमा गाभेको छ भने जीतपुर सिमरा १ दुधौरामा कक्षा १ सम्म अध्यापन गराउँदै आएको शिवपार्वती आधारभूत विद्यालयलाई नेपाल राष्ट्रिय माध्यमिक विद्यालय पथलैयामा समायोजन गरेको छ ।

उपमहानगरले गत आर्थिक वर्षमा एउटा विद्यालयलाई समायोजनको सुरुवात गरेर यो कार्यक्रम लागू गरेको थियो । उपमहानगरले सामुदायिक विद्यालयहरूमा शैक्षिक सुधारको लागि यो कार्यक्रम लागू गरेको उपमहानगर शिक्षा शाखा प्रमुख शिवजी साहले जनाएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप