बजेटले स्थानीय तहलाई अधिकार सम्पन्न बनाउने प्रयत्न गरेको छ : अर्थमन्त्री पुन
बुधबार, १६ जेठ २०८१, १३ : ५५

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले बजेटमार्फत स्थानीय तहलाई अधिकार सम्पन्न बनाउने प्रयत्न गरिएको बताएका छन् । मंगलबार सार्वजनिक भएको आर्थिक वर्ष २०८१–८२ को बजेटको सम्बन्धमा आफ्नो धारणा सार्वजनिक गर्न राखिएको पत्रकार सम्मेलनमा बोल्दै अर्थमन्त्री पुनले केन्द्रीकृत बजेट प्रणालीलाई आफूले स्थानीय तहसम्म पुर्याउने प्रयास गरेको बताए ।
‘विकासको संवाहक, रोजगारीको सिर्जनामा स्थानीय तह आफैमा महत्त्वपूर्ण अङ्ग हो । यसैलाई सबल र अधिकार सम्पन्न बनाउन सकियो भने आर्थिक विकास गर्न सकिन्छ । यसैलाई मुख्य ध्येय बनाएर यसपटकको बजेट स्थानीय तहमा फोकस गरिएको हो’ मन्त्री पुनले भने ।
कूल १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ बराबरको बजेट ल्याएको सरकारले स्थानीय तहका लागि ३ खर्ब १२ अर्ब बढी बजेट विनियोजन गरेको छ ।