बुधबार, ०५ असार २०८१
ताजा लोकप्रिय

राष्ट्रिय चेस च्याम्पियनसिप जेठ १९ गतेदेखि

बिहीबार, १७ जेठ २०८१, १७ : ५२
बिहीबार, १७ जेठ २०८१

काठमाडौँ । नेपाल बुद्धिचाल महासंघ र लुम्बिनी इभेन्ट म्यानेजमेन्टको संयुक्त आयोजनामा नेशनल चेस च्याम्पियनसिप यसै महिना सञ्चालन हुने भएको छ । आयोजकले बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गरी प्रतियोगिता जेठ १९ देखि २४ गतेसम्म आयोजना हुने जानकारी दिएको हो ।  

काठमाडौँको लाजिम्पाटस्थित होटल ले हिमालयमा ६ दिनसम्म चल्ने च्याम्पियनसिपमा २४ औँ खुला र नवौँ महिलातर्फ गरी दुई विधामा प्रतिस्पर्धा हुनेछ । राउन्ड रोविनका आधारमा सञ्चालन हुने उक्त प्रतियोगिताको दुवै विधामा १२–१२ जना खेलाडी सहभागी हुनेछन् ।

प्रतियोगिताका लागि केही साताअघि मात्र सम्पन्न नेशनल ‘बी’ च्याम्पियनसिपबाट पुरुष र महिलातर्फ समान ९–९ जना खेलाडी छनोट भएका थिए । उक्त च्याम्पियनसिपबाट पुरुषतर्फ पुरुषोत्तम सिलवाल, मिलन लामा, केशव श्रेष्ठ (क्यान्डिडेट मास्टर), ललितपुरका सुरोज महर्जन, झापाका प्रकाशचन्द्र नेपाल, काठमाडौँका प्रेमकृष्ण महर्जन, झापाका राजन सुवेदी, दोलखाका राजीव कार्की र काठमाडौँका श्रुसुरत दाहाल छनोट भएका थिए ।

यसैगरी महिलातर्फ झापाकी कृतिसारा अधिकारी, काठमाडौँकी सिन्दिरा जोशी, रिया श्रेष्ठ, कास्कीकी पूजा भण्डारी, काठमाडौँकी विनिता कपाली, भक्तपुरकी अंशुदिल प्रजापति, झापाकी पुनम प्रसाईं, भक्तपुरकी श्रेया दुवाल र सविना गुज छनोट भएका थिए ।

यसैगरी २३ औँ राष्ट्रिय प्रतियोगिताका पदक विजेता रुपेश जैशवाल, उपविजेता क्षितिज भण्डारी र सुरवीर लामा तथा सातौँ राष्ट्रिय च्याम्पियनसिपअन्तर्गत महिलातर्फका विजेता फिडेमास्टर सुजना लोहनी, उपविजेता सुशीला गुरुङ र शान्ति धिमालले पनि यो प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् ।

नेपालका चर्चित खेलाडी सुरवीर लामा थाइल्यान्ड र सुजना लोहनी हाल अस्ट्रेलियामा रहेका कारण उनीहरूको स्थानमा वैकल्पिक खेलाडीको रूपमा खुलातर्फ सुशील चौधरी र प्रसन्न किवनायोले खेल्ने आयोजकले जनाएको छ ।

यो प्रतियोगिताको विजेताले आगामी फिडे जोन ३.२ चेस च्याम्पियनसिप तथा कन्टिनेन्टलमा सहभागिता जनाउन पाउने छन् । यसैगरी यसै प्रतियोगिताबाट सन् २०२४ मा हंगेरीको बुढापेस्टमा हुने ४५औँ चेस ओलम्पियाडका लागि पुरुषतर्फ तीन र महिलातर्फ चार गरी नेपालको तर्फबाट उत्कृष्ट सात जना खेलाडी छनोट हुनेछन् ।

नेपाल बुद्धिचाल महासङ्घका अनुसार चेस ओलम्पियाडमा नेपालको तर्फबाट महिला र पुरुष दुवैतर्फ समान पाँच–पाँचजना खेलाडी सहभागी हुनेछन् । जसमा उच्च रेटेड खेलाडी खुलामा विवेक लामा र  महिलामा सुजना लोहनी तथा फिडे मास्टर रुपेश जैशवाल २३औँ राष्ट्रिय प्रतियोगिताको विजेताका रूपमा छनोट भइसकेका छन् । 

प्रत्येक वर्ष आयोजना हुने नेशनल च्याम्पियनसिपमा शीर्ष तीनमा रहने खेलाडीले आगामी वर्ष हुने २५औँ खुला तथा  १० औँ महिला राष्ट्रिय च्याम्पियनसिपमा सहभागिता सुनिश्चित गर्नेछन् भने अन्य खेलाडीले नेशनल ‘बी’ मा प्रतिस्पर्धा गर्न पाउने छन् । यस च्याम्पियनसिपको अनुमानित खर्च १३ लाख ५० हजार रुपैयाँ रहेको छ ।

च्याम्पियनसिपको मुख्य प्रायोजन दिव्यांश मल्टी प्रोडक्सनले गर्नेछ भने सह–प्रायोजकमा रुक्मणी टुर्स एन्ड ट्राभल्स रहेको छ । नेपाल बुद्धिचाल महासङ्घका अध्यक्ष हेराकाजी महर्जनले ओलम्पियाडमा सहभागी हुने खेलाडीलाई विशेष प्रशिक्षणको व्यवस्था मिलाइने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप