जसपा विभाजनपछि समाजवादी मोर्चा सुस्त, पुनर्गठन गर्दै विप्लव
काठमाडौँ । सरकारमा सहभागी दल जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजन भएसँगै समाजवादी मोर्चाको गतिविधि सुस्ताएको छ । माओवादी केन्द्रसहित एकीकृत समाजवादी, जसपा नेपाल र विप्लव नेतृत्वको नेकपा मिलेर ११ महिनाअघि असार ४ गते मोर्चा गठन भएको थियो ।
समाजवादी लक्ष्य तय गर्ने उद्देश्य राखेर त्यतिबेला मोर्चाको कार्यविधि तयार गरी सातै प्रदेशमा सङ्गठन विस्तार गर्ने नीति लिएको थियो । तर जसपा विभाजनले मोर्चाको स्थिति गम्भीर रहे पनि सन्तुलनमा ल्याउने प्रयास जारी रहेको संयोजक नेत्रविक्रम चन्द ‘विप्लव’ले बताए ।
विप्लवका अनुसार मोर्चामा जसपा नेपाल सहभागी नहुने भएको छ । ‘मोर्चालाई अहिले आराम गराइराखेका छौँ । सन्तुलन बिग्रेकोजस्तो थियो, अहिले सन्तुलनमा राखेका छौँ । सत्ता समीकरण हेरफेर, उपेन्द्रजीको पार्टीमा फुट आएपछि समस्या भएको थियो,’ उनले भने, ‘सबै पक्षसँग छलफल गरौँ भनेर पहल थालेको हो । प्रधानमन्त्री, माधवजी, उपेन्द्रजी र राजेन्द्रजीसँग कुराकानी भयो । छलफल सकारात्मक भइराखेको छ । अब हामी पुनर्गठनको तयारीमा छौँ ।’
मोर्चा पुनर्गठनअघि विप्लवले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जसपा नेपालका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठसँग भेटवार्ता गरेका थिए । जेठ २२ गते पूर्वसंयोजक नेपाल र २३ गते यादवसँग उनले कुराकानी गरेका थिए । भेटवार्तामा मोर्चालाई निरन्तरता दिने पक्षमा एकीकृत समाजवादीका अध्यक्ष नेपाल सकारात्मक भए पनि यादव असन्तुष्ट रहेको विप्लवको अनुभव छ ।
‘उपेन्द्रजी भर्खरै सरकारबाट हटेपछि मोर्चामा आउने वातावरण बनेको छैन । मसँगको भेटमा अन्य पार्टीगत सम्बन्धको हिसाबले यथावत नै रहे पनि मोर्चामा सहभागी नहुने बताउनुभएको छ । त्यो स्वाभाविक पनि हो’, नेताहरूसँगको भेटबारे विप्लवले भने, ‘तर पनि एउटा सम्बन्धमा बसौँ भन्नुभएको छ । माधवजीले मोर्चालाई निरन्तरता दिनुपर्छ भन्ने नै छ । एकपटक प्रचण्ड, माधव र हामी बसेर छलफल गर्छौं । पार्टीको हिसाबले चार वटा पार्टी यथावत रहन्छ । जसपाबाट अशोक राईजी रहनुहुन्छ । उपेन्द्रजी बस्नुहुन्न ।’
एमाले, नेकपा (मसाल), मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी लगायत दलसहित बृहत् मोर्चा बनाउने विषयमा प्रधानमन्त्री भारत भ्रमणबाट फर्किएपछि बैठक बस्न लागिएको उनले जानकारी दिए ।
विप्लवले मोर्चालाई थप प्रभावकारी बनाउन प्रादेशिक स्तरमा सञ्चालन गर्ने र मुख्यमुख्य सहरमा जागरणमुलक सभाहरू गर्न जनपरिचालन सहितको कार्यक्रम घोषणा गर्ने बताए ।
यता पार्टी विभाजनपछि यादवले पहिलोपटक विप्लवसँग भेटवार्ता गरेका हुन् । विप्लव निवास हरिसिद्धिमा पुगेर यादवले पछिल्लो राजनीति अवस्था, मोर्चाको विषयमा छलफल गरेका थिए । भेटवार्तामा मोर्चालाई प्रधानमन्त्रीले नै समाप्त पार्ने काम गरेकाले आफू सहभागी नहुने यादवले बताए ।
‘विप्लवजीसँग पछिल्लो राजनीतिक स्थितिबारे छलफल भयो । एकअर्काको कुरा सुन्यौँ । समाजवादी मोर्चालाई प्रधानमन्त्रीले पोलेर खाइहाले नि । मोर्चा भए न सहभागी भइन्छ । मोर्चा त सिध्याइसके’, आक्रोशित हुँदै उनले भने ।
पछिल्लो सत्ता समीकरण बनाउन प्रचण्डलाई साथ दिएका यादवले स्वास्थ्यमन्त्रीको हैसियतमा अमेरिका र कतार भ्रमणका बेला विदेश रहेकै बेला वैशाख २३ गते पार्टी विभाजन भएको थियो । पार्टी विभाजनमा प्रधानमन्त्री प्रचण्डको भूमिका रहेको भन्दै उनी असन्तुष्ट छन् ।
माओवादीका महासचिव एवं मोर्चाका कार्यदल सदस्य देव गुरुङले जसपा विभाजनबाट मोर्चाको गतिविधिमा समस्या नआउने यसअघि बताएका थिए । जसपा विभाजनको बेला पूर्वी नेपाल भ्रमणमा रहेका संयोजक विप्लवले प्रधानमन्त्रीसहित शीर्ष नेताहरूसँग टेलिफोनबाट मोर्चाको भविष्यलाई लिएर चिन्ता व्यक्त गरेका थिए ।
अलमलमा एकीकृत समाजवादी
मोर्चाको अर्को घटक एकीकृत समाजवादीले वैशाख २४ गते जसपा नेपाल विभाजन र मोर्चाको भविष्यबारे गम्भीर समीक्षा गरेको थियो । सरकार र मोर्चामा रहने कि नरहने विषयमा व्यापक छलफल भए पनि अन्ततः अहिलेकै गठबन्धनलाई निरन्तरता दिएर जाने गरी पार्टीले निर्णय गरेको थियो । तथापि सरकारलाई हेर्ने विषयमा नेपाल र झलनाथ समूहबिच मतभेद कायमै छ । खनाल समूह वर्तमान गठबन्धनलाई कायमै राखी जाने पक्षमा छन् ।
नेपाल समूह गठबन्धन तत्काल छाड्नुपर्ने पक्षमा देखिएको छ । यद्यपि पछिल्लो समय प्रचण्डसँगको वार्ता सकारात्मक भएको नेपालले बताए । राष्ट्रिय महाधिवेशनको तयारीमा रहेको एकीकृत समाजवादी महाधिवेशनपछि सरकार, गठबन्धन र मोर्चासँगको सम्बन्ध पुनर्विचार गर्ने पक्षमा देखिएको छ ।
मोर्चाले अहिलेसम्म सातै प्रदेशमा सन्देश सभा र ५५ भन्दा बढी जिल्लामा सङ्गठन विस्तार गरेको छ । संसदमा ५४ सिट रहेको मोर्चामा जसपा नेपाल विभाजनपछि ४९ सदस्य भएको छ ।
मोर्चा गठन भएपछि आलोपालो प्रणाली अनुसार नेपाल मोर्चाको संयोजक बनेका थिए । फागुन ६ गते बसेको बैठकले विप्लवलाई नेतृत्व हस्तान्तरण गरेको थियो । अहिले पार्टीको काममा पूर्वी नेपालको भ्रमणमा रहेका विप्लव २६ गते काठमाडौँ फर्किएपछि मोर्चाको बैठक बोलाउने तयारीमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अघि बढ्यो विद्यालय शिक्षा विधेयकमाथिको छलफल
-
चीन भ्रमणबारे प्रधानमन्त्री ओलीले जारी गरे १४ बुँदे प्रेस नोट
-
कुन्तीदेवी फाउन्डेसनको लैंगिक हिंसा न्यूनीकरण विषयक सचेतना कार्यक्रम सम्पन्न
-
गायिका लक्ष्मीले ल्याइन् 'हे गोरी'
-
अर्थतन्त्रका समस्या समाधान गरी मुलुकलाई चलायमान बनाउँछौँ : अर्थमन्त्री पौडेल
-
मधेस सरकारको नेतृत्व गरेको जनमत पार्टी मधेसमै देखियो कमजोर