विश्वकप खेलिरहेको टोलीलाई समर्थकको बलियो साथ चाहिएको छ : पारस खड्का
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले विश्वकप खेलिरहेका खेलाडीलाई समर्थनको जरुरी रहेको बताएका छन् । वाईवाईसँग सहकार्य गर्ने घोषणा गर्न आयोजित कार्यक्रममा बोल्दै खड्काले अमेरिकामा विश्वकप खेलिरहेका खेलाडीलाई बलियो समर्थनको आवश्यकता रहेको बताएका हुन् ।
नेपाली टोलीले समूह चरणको पहिलो खेलमा नेदरल्याण्ड्सविरुद्ध हार बेहोरेको थियो । समूह चरणमा तुलनात्मक रूपमा अन्य टोलीको तुलनामा कमजोर मानिएको नेदरल्याण्ड्सलाई नेपालले जित्ने अपेक्षा गरिएको थियो । तर, सो अनुरूपको अपेक्षा पुरा भएन ।
सचिव खड्काले पहिलो खेल अपेक्षाकृत नभए पनि अझै तीन वटा खेल बाँकी रहेकाले आत्तिनुपर्ने अवस्थामा नेपाल नरहेको बताए । ‘नेपालले १० वर्षपछि विश्वकप खेल्दै छ,’ खड्काले भने, ‘समूह चरणका बाँकी खेलमा नेपालले आफ्नो क्षमताअनुसार खेलेर सबैलाई खुसी दिलाउनेमा हामी आसावादी छौँ ।’
सचिव खड्काले नेपाली टोलीमाथि समर्थकले राखेको जितको अपेक्षा स्वाभाविक नै भएको बताए । तर अपेक्षा पनि वास्तविकतामा आधारित भए राम्रो हुने उनको तर्क छ । ‘हामीले अपेक्षा गर्दा पनि वास्तविकतामा बसेर गर्नुपर्छ जस्तो लाग्छ मलाई,’ उनले भने, ‘यति बेला नेपालले विश्व स्तरीय टोलीसँग प्रतिस्पर्धा गर्दैछ ।’
खड्काले नेपालको समूहमा रहेका दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्याण्ड्स विश्व स्तरीय टोली भएको बताए । उनीहरूसँगको प्रतिस्पर्धा नेपाललाई कठिन हुने भन्दै उनले भने, ‘यति बेला नेपाली समर्थकले खुसी मनाउनुपर्ने समय हो । नेपालले एक दशकपछि विश्वकप खेल्दै छ ।’
उनका अनुसार क्यानले पछिल्लो ७/८ महिनायता विश्वकपको तयारीका लागि ठुलो मेहनत गरेको छ । खेलाडीलाई तयार बनाउनका लागि क्यानले गर्न सक्ने सबै तयारी गरेको खड्काले बताए । ‘नेपाली क्रिकेटलाई समर्थकले दिइरहेको मायालाई निरन्तरता दिनुहोस्,’ खड्काले थपे, ‘आगामी खेलमा खेलाडीले राम्रो प्रदर्शन गर्नेछन् । उनीहरू निरन्तर लागिरहेका छन् ।’
सचिव खड्काले नेपालको क्रिकेट आज यो स्थानमा आउनुमा वाईवाईको ठुलो योगदान रहेको समेत बताए । २००५/२००६ तर्फ नेपाली क्रिकेटलाई कुनै पनि कर्पोरेट हाउसले ‘स्पोन्सर’ नगर्ने बेलामा पनि वाईवाईको राम्रो साथ पाएको खड्काको भनाई छ । वाईवाईले झण्डै दुई दशक यतादेखि अन्डर–१९ टोलीलाई प्रायोजन गर्दै आइरहेको छ ।
सो प्रायोजनकै कारण नेपालको क्रिकेट आज यो स्थानमा आइपुग्न मद्दत पुगेको खड्काको भनाई छ । ‘२०१४ मा जब नेपालले विश्वकप खेल्यो, त्यसपछि मात्रै सबैतिरबाट प्रायोजन आउन थाल्यो,’ उनले भने, ‘त्योभन्दा अघिदेखि नै वाईवाईले अन्डर–१९ टोलीलाई वाईवाईलाई स्पोन्सर गरेको थियो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण