जोसेफ र रथरफोर्डसामु निरीह बन्यो न्युजिल्यान्ड, वेस्ट इन्डिज सुपर ८ मा
काठमाडौँ । टी–२० विश्वकपमा आयोजक वेस्ट इन्डिजले आफ्नो विजयी यात्रा जारी राख्दै सुपर ८ मा स्थान पक्का परेको छ । न्युजिल्यान्डको भने अर्को चरण पुग्ने सम्भावना लगभग समाप्त भएको छ ।
३ खेलबाट ३ जित हासिल गर्दै वेस्ट इन्डिजले ६ अङ्क बटुल्न सफल भएको छ । दोस्रो खेल खेल्दा न्युजिल्यान्ड भने जितविहीन छ । न्युजिल्यान्ड पहिलो खेलमा अफगानिस्तानसँग स्तब्ध बनेको थियो ।
सुपर ८ मा स्थान बनाउने वेस्ट इन्डिज चौथो टोली हो । यसअघि दक्षिण अफ्रिका, अस्ट्रेलिया र भारतले अर्को चरणमा स्थान पक्का गरिसकेका छन् ।
बिहीबार भएको समूह सी अन्तरगतको खेलमा न्युजिल्यान्ड १३ रनले पराजित भएको हो । १ सय ५० रनको लक्ष्य पछ्याएको टोलीले २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ३६ रन मात्र बनाउन सक्यो ।

न्युजिल्यान्डका लागि ग्लेन फिलिप्सले ३३ बलमा सर्वाधिक ४० रन जोडे । उनले ३ चौका र २ छक्का प्रहार गरे ।
फिन एलेनले २३ बलमा २६ रन जोडे । उनले ३ चौका र १ छक्का हिर्काए । ड्यारेल मिचेलले १२ रन तथा रचिन रवीन्द्र तथा जेम्स निसमले १०–१० रनको योगदान दिए ।
खेलको अन्त्यतिर मिचेल स्यान्टनरले १२ बलमा २१ रन जोडे पनि टोलीलाई जित दिलाउन पर्याप्त भएन ।
वेस्ट इन्डिजका लागि अल्जारी जोसेफले घातक बलिङ गरे । ४ ओभरमा मात्र १९ रन खर्चेर उनले ४ विकेट हात पारे । गुणकेश मोतीले ४ ओभरमा २५ रन दिएर ३ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ४९ रन बनाएको थियो । टोलीका लागि सेरफान रथरफोर्डले अर्धशतकीय इनिङ्स खेल्दै टोलीलाई सम्मानजनक स्कोरसम्म पुर्याएका थिए ।

खेलमा वेस्ट इन्डिजको सुरुवात भने राम्रो हुन सकेन । पहिलो ओभरमा नै जोनसन चार्ल्सलाई शून्य रनमा गुमाएको टोलीले पावरप्लेभित्र २२ रनमा ४ विकेट गुमाइसकेको थियो ।
१ सय १२ रन बनाउँदा ९ विकेट गुमाइसकेको वेस्ट इन्डिजका लागि रथरफोर्डले विस्फोटक ब्याटिङ गरे । अन्तिम १२ बलमा उनले ३७ रन जोडेका थिए ।
उनले ३९ बलको सामना गर्दै गर्दै सर्वाधिक ६८ रन बनाए । यस क्रममा उनले २ चौका र ६ छक्का प्रहार गरे ।

निकोलस पुरनले १२ बलमा १७ रन तथा अकिल होसेनले १७ बलमा १५ रनको योगदान दिए । आन्द्रे रसलले ७ बलमा १४ रन तथा रोमारियो सेफर्डले १३ बलमा १३ रन जोडे ।
न्युजिल्यान्डका लागि ट्रेन्ट बोल्टले शानदार बलिङ गरे । ४ ओभरमा उनले एक मेडन ओभर राख्दै मात्र १६ रन खर्चेर ३ विकेट लिए ।

त्यस्तै, टिम साउथी र लोकी फर्गुसनले २–२ विकेट हात पारे भने जेम्स निसम र मिचेल स्यान्टनरले १–१ विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोरङ कांग्रेसमा क्रियाशील सदस्यताको विषयलाई लिएर विवाद, सह–महामन्त्री संग्रौला सहभागी कार्यक्रम बिथोलियो
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव
-
गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै
-
पैसाको लेनदेन विवादमा युवतीको हत्या
-
बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप
-
वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण