बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय
मन्त्रिपरिषद् पुनर्गठनको होमवर्क

प्रचण्ड सरकारका दुई मन्त्री 'डेन्जर जोन'मा

बिहीबार, ३१ जेठ २०८१, १२ : १७
बिहीबार, ३१ जेठ २०८१

काठमाडौँ । सङ्घीय सरकारबाट मन्त्री फिर्ता बोलाउने चर्चासँगै माओवादी केन्द्रका हितबहादुर तामाङ र एमालेका बलराम अधिकारीको पद 'डेन्जर जोन'मा देखिएको छ ।

गत फागुन २१ गते एमालेसहितको नयाँ समीकरण बनेपछि एमालेले सरकारमा अघिल्लो वर्षकै सेट पठाएको थियो । तामाङ सोही दिन मन्त्री भएका थिए । मन्त्री भएको तीन महिनापछि तामाङको पद धरापमा पर्ने सम्भावना देखिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारलाई समर्थन गरेका दल नागरिक उन्मुक्ति पार्टी (नाउपा) र जनमत पार्टी (जपा)लाई सरकारमा ल्याउने विषयमा केही दिनयता गठबन्धन दलका नेताहरूसँग छलफल गरिरहेका छन् ।

जेठ २२ गते गठबन्धनको मुख्य दल एमालेका अध्यक्ष केपी ओलीसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले नाउपा र जपालाई सरकारमा समेट्न एक/एक जना मन्त्री फिर्ता बोलाउने प्रस्ताव राखेका थिए । तर प्रधानमन्त्रीको प्रस्तावमा ओली सकारात्मक देखिएका थिएनन् ।

नाउपाबाट अध्यक्ष रञ्जिता श्रेष्ठ आफैँ सरकारमा जाने तयारीमा छिन् । जपाबाट अध्यक्ष सीके राउतले नेतृत्व गर्ने कि अन्यलाई पठाउने भन्नेमा कुनै निर्णय नभएको उपाध्यक्ष दीपक साहले बताए । यद्यपि बुधबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबिचको भेटवार्ता सकारात्मक भएको एमाले र माओवादीका नेताहरूले दाबी गरेका छन् ।

माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले सरकारलाई समर्थन गरेका दलहरूलाई समेट्ने विषयमा प्रचण्ड र ओली सकारात्मक भएको जिकिर गरे । ‘सरकारलाई समर्थन गरेका दलहरूलाई समेट्ने विषयमा हिजोको बैठक सकारात्मक छ । एमाले र माओवादीबाट एक/एक जना मन्त्री फिर्ता बोलाउने विषयमा सहमति नजिक पुगेको छ । तर कुनै निष्कर्षमा पुगेको छैन’, रातोपाटीसँग पौडेलले भने ।

एमालेका प्रमुख सचेतक महेश बर्तौलाले पनि मन्त्री फिर्ता बोलाउने विषयमा प्रचण्ड र ओलीबिच कुनै विवाद नभएको दाबी गरे । सरकारलाई समर्थन गरेका दलहरूलाई सरकारमा ल्याउने विषयमा सहमतिको बिन्दु खोज्नेतर्फ बैठक सकारात्मक भएको उनले बताए ।

‘मन्त्रालय सीमित छ । सरकारलाई समर्थन गरेका दलहरूलाई समेट्न कतै न कतै सहमति खोज्नुपर्छ । मन्त्री फिर्ता बोलाउने विषयमा बैठक सकारात्मक छ । कुन दलबाट कसलाई फिर्ता बोलाउने सवालमा कुनै सहमति भएको छैन’, बर्तौलाले भने ।

स्रोतका अनुसार माओवादीबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तामाङ र एमालेबाट भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीलाई फिर्ता बोलाउने तयारी छ । मन्त्री तामाङलाई फिर्ता बोलाएर श्रेष्ठलाई पर्यटन मन्त्री बनाउन प्रधानमन्त्री सकारात्मक देखिएका छन् ।

‘एमाले र माओवादीबाट एक/एक मन्त्री फिर्ता बोलाउन दुवै दल सकारात्मक छन् । एमालेबाट भूमि व्यवस्थामन्त्री बलराम अधिकारी र माओवादीबाट हितबहादुर तामाङलाई फिर्ता बोलाउने तयारी छ । यद्यपि छलफलकै क्रममा रहेकाले निष्कर्षमा पुगेको छैन । आ–आफ्ना पार्टीभित्र छलफल गरेर निष्कर्षमा पुग्नेछौँ’, स्रोतले भन्यो ।

आफूलाई सरकारबाट फिर्ता बोलाउन लागिएको विषयमा मन्त्री तामाङले प्रधानमन्त्रीसँग चासो व्यक्त गरेको बुझिएको छ । मन्त्री तामाङले चासो राख्दा प्रधानमन्त्री प्रचण्डले रञ्जिता श्रेष्ठबाट लगातार दबाब दिइरहेकाले पर्यटन मन्त्रालय दिने बचन दिएको र तामाङलाई केही न केही व्यवस्थापन गरिदिने बचन दिएको स्रोतले बतायो ।

नाउपा अध्यक्ष श्रेष्ठले सरकारमा जाने विषयमा प्रधानमन्त्रीसँग छलफल भएको स्वीकारेकी छन् । जेठ १८ गते प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा पर्यटन मन्त्रालय दिने विषयमा प्रधानमन्त्री सकारात्मक रहेको उनले बताएकी थिइन् । पछिल्लो समय उनले भूमि व्यवस्थामन्त्रीमा दाबी गरेको बुझिएको छ ।

‘सरकारमा जाने विषयमा प्रधानमन्त्रीज्यूसँग मेरो कुराकानी भएको छ । पर्यटन मन्त्रालय पनि हुन सक्छ, अन्य पनि हुन सक्छ । तर एक हप्तामा सरकारमा सहभागी भइन्छ’, उनले भनिन् ।

माओवादीका एक उच्च नेताले पुराना सबै मन्त्रीलाई फिर्ता बोलाउनुपर्ने विषयमा पार्टीभित्र बलियो मत भए पनि उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्ति बस्नेत र सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई फिर्ता बोलाउने सम्भावना कम रहेको बताए ।

‘पुराना मन्त्री फिर्ता बोलाउने विषयमा पार्टीभित्र आवाज उठेको छ । नारायणकाजी, शक्तिजी फिर्ता हुने सम्भावना देखिँदैन । रेखा पनि फिर्ता होलाजस्तो लाग्दैन’, उनले भने, ‘वर्षमानजी त हर्ताकर्ता नै भइहाले । फिर्ता हुने भनेको हितबहादुर नै हुन् । यद्यपि प्रधानमन्त्रीज्यूले पार्टीको बैठक बोलाउनुहोला । अहिले नै क–कसलाई बोलाउने भन्नेबारे निर्णयमा पुगेको छैन ।’

माओवादीबाट सरकारमा सहभागी भएका मन्त्रीहरूमध्ये पटकपटक अवसर पाएर पनि कार्यक्षमता देखाउन नसकेकोमा मन्त्री बस्नेतबारे पार्टीभित्र तीव्र असन्तुष्टि छ । ऊर्जामन्त्री भएर पनि कर्णालीलाईलाई अँध्यारोमा राखेको, भूकम्पपछिको पुनर्निर्माणमा कुनै चासो नदिएको आरोप उनीमाथि छ ।

यता एकता केन्द्रबाट माओवादीमा जोडिन आएका उपप्रधानमन्त्री श्रेष्ठ माओवादीमा सबैभन्दा बढी अवसर पाउने नेतामा पर्छन् । गएको निर्वाचनमा उपमहासचिव गिरिराजमणि पोखरेल पराजित भएपछि श्रेष्ठ लगातार मन्त्री बन्न सफल भएको चर्चा पार्टीभित्र हुने गरेको छ । श्रेष्ठ २०७६ मा राष्ट्रिय सभा सदस्यमा गण्डकी प्रदेशबाट निर्वाचित भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप