नेपालको २०.२७ प्रतिशत जनसङ्ख्या गरिबीको रेखामुनि, ग्रामीण क्षेत्रमा २४.६६
काठमाडौँ । नेपालमा गरिबीको रेखामुनि रहेको जनसङ्ख्या २०.२७ प्रतिशत रहेको पाइएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले बिहीबार सार्वजनिक गरेको नेपाल जीवनस्तर सर्वेक्षण चौथो (२०७९ / ८०) को तथ्याङ्कअनुसार नेपालको कुल जनसङ्ख्यामध्ये २०.२७ प्रतिशत गरिबीको रेखामुनि रहेको पाइएको हो ।
नेपालमा ६५ प्रतिशत मजदुर/श्रमिकले दैनिक ज्यालादारीमा काम गर्ने गरेको पाइएको छ । प्रतिवेदनको मुख्य अंश गरिबीको तथ्याङ्क गत माघमै सार्वजनिक भएको थियो । गरिबीको नयाँ आधिकारिक रेखाअनुसार प्रतिवर्ष प्रतिव्यक्ति जम्मा खर्च ७२ हजार ९०८ भन्दा कम खर्च गर्ने व्यक्तिलाई गरिब अन्तर्गत वर्गीकरण गरिएको तथ्याङ्क कार्यालयले जनाएको छ ।
‘गरिबीको रेखाअनुसार नेपालमा करिब २०.२७ प्रतिशत जनसङ्ख्या गरिबीको रेखामुनि रहेको पाइएको छ । गरिबीको दर सहरी क्षेत्र १८.३४ को तुलनामा ग्रामीण क्षेत्रमा धेरै २४.६६ रहेको देखिन्छ’, सार्वजनिक तथ्याङ्कमा भनिएको छ ।
त्यस्तै तथ्यांकअनुसार नेपालमा अझै पनि ६४.९ प्रतिशत श्रमिक वा मजदुरले दैनिक ज्यालादारीमा आफ्नो पारिश्रमिक बुझ्ने गरेको पाइएको छ । यसो हुनुमा एकातिर अर्थतन्त्रको ठुलो क्षेत्र अझैपनि अनौपचारिक रहनु र अर्को कृषिमा आधारित फर्म र काम धेरै हुनु मुख्य कारण मानिएको छ ।
दैनिक ज्यालादारीबाहेक मासिक तलब बुझ्न मजदुर/श्रमिकको हिस्सा २८.७ प्रतिशत रहेको प्रतिवेदनले औँल्याएको छ । ६.४ प्रतिशतले भने करार सम्झौताका आधारमा पारिश्रमिक बुझ्ने गरेको पनि तथ्याङ्कले देखाएको छ ।
नेपालमा पहिलो पटक २०५२/५३ सालमा नेपाल जीवनस्तर सर्वेक्षण सञ्चालन गरिएको र त्यसयता यो चौथो सर्वेक्षण सम्पन्न भइसकेको छ । सर्वेक्षणका अनुसार नेपालमा बेरोजगारी दर ४.७ प्रतिशत देखिन्छ । कुल जनसङ्ख्याको ३२.४ प्रतिशत हिस्सा भने कुनै न कुनै रोजगारीमा रहेको पाइएको छ । लेबर फोर्सका रूपमा नरहेको जनसङ्ख्या ६२.९ प्रतिशत छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरदैलोमै एकीकृत सेवा पाउँदा स्थानीय खुसी
-
टर्कीको एक उड्डयन कम्पनीमा आक्रमण हुँदा कम्तीमा पाँच जनाको मृत्यु
-
जुम्लाबाट एक वर्षमा चार हजारले लिए नागरिकता
-
विदेशी मुद्राको विनिमय दर : आज कुनको मूल्य कति ?
-
कालीगण्डकी जलविद्युत् : लागत दुई खर्ब २४ अर्बभन्दा बढी
-
बिगो निर्धारण निर्देशिकामा व्यक्तिको सङ्लग्नताका आधारमा मात्रै आरोपीमाथि बिगो तोक्ने व्यवस्था गर्न सुझाव