कोशी बजेट : स्वास्थ्यमा ३ अर्ब ५८ करोड, सामाजिक क्षेत्रमा १ अर्ब ५८ करोड

विराटनगर । कोशी प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा ३ अर्ब ५८ करोड बजेट विनियोजन गरेको छ । जसमा मेची अस्पताललाई उत्कृष्ट सेन्टर गर्नको लागि ६० करोड ५५ लाख, औषधी प्रयोजनको लागि गाँजाको व्यवसायिक उत्पादनको लागि संघ सरकारसँग आवश्यक समन्य गर्ने वक्तव्यमा उल्लेख छ ।
यस्तै स्वास्थ्यकर्मीलाई विशेष भत्ताको व्यवस्थाको लागि ६ करोड ८४ लाख बजेट विनियोजन गरिएको छ । प्रदेश मातहतका अस्पतालकहरुलाई १० वर्ष मुनिका बालबालिकाहरुको उपचारको लागि ४ करोड २९ लाख रुपैयाँ बजेट विनायोजन गरिएको छ ।
गुणस्तरीय प्रयोगशालाको लागि ५ करोड बजेट विनायोजन गरिएको छ । प्रदेशका अस्पतालहरूको आवश्यक उपकरण खरिद गर्ने, घुम्ती बसमार्फत आर्युवेद तथा होमियोपेथिक शिविर सञ्चालन गर्ने लगायतका विषयलाई प्राथमिकता दिइएको छ ।
यस्तै प्रदेश सरकारले सामाजिक क्षेत्रमा १ अर्ब ५८ करोड बजेट विनियोजन गरेको छ । जसमा कक्षा १० को परीक्षा प्रदेश तहबाटै सञ्चालन गरिने र स्वयंसेवक विज्ञान शिक्षक दिने कार्यक्रमलाई निरन्तरता दिएको छ ।
मनमोहनमा इन्जिनियरिङ र स्वास्थ्य क्षेत्रको पठनपाठन सुरु गरिने, भाषा आयोगले सिफारिस गरेका भाषाहरुलाई कामकाजी भाषाको रुपमा प्रयोग गर्ने व्यवस्था गर्ने, प्रदेशमा खेलकुद पूर्वाधारको विकास गर्ने बजेट वक्तव्यमा उल्लेख छ ।
यस्तै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मेडल प्राप्त खेलाडीलाई सम्मानित गर्ने, झापाको कमल गाउँपालिकामा रहेको आदिवासी रंगशाला निर्माण गर्ने, प्रदेशभित्र बहुजातीय संग्रहालय बनाउने, श्रमिक र रोजगारदाताको समन्वय गरिने, लैंगिक हिंसा पीडित महिलालाई न्यायका लागि सुरक्षित आवास गृह निर्माण गरिने वक्तव्यमा उल्लेख छ ।
महिला, बालबालिका तथा पछाडि पारिएका व्यक्ति, वर्ग र समुदायको उत्थानका लागि बजेट व्यवस्था गरिएको मन्त्री मगरले उल्लेख गरेका छन् ।