बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय
उद्योग

सङ्घ र प्रदेश सरकारको बजेटले छोएन बुटवल धागो कारखानालाई

सोमबार, ०३ असार २०८१, ०७ : १९
सोमबार, ०३ असार २०८१

बुटवल । २०६४ सालदेखि बन्द रहेको बुटवल धागो कारखाना सञ्चालनमा ल्याउने विषयमा बेलाबेला चर्चा र छलफल हुने गर्दछ । तर आगामी आर्थिक वर्षको बजेटमा सङ्घ र प्रदेश सरकारले यो उद्योग सञ्चालनका लागि बजेटमा महत्त्व दिएका छैनन् ।

बुटवल धागो कारखानाका निमित्त प्रबन्धक डोलराज शर्माले सङ्घ र प्रदेशको बजेटले नछोएपछि उद्योग सञ्चालन अन्योलमा परेको बताए । उनले भने, ‘सङ्घ, प्रदेशको प्राथमिकता नपरेपछि धागो कारखाना कहिले चल्छ भन्ने टुङ्गो भएन ।’

butwal dhago karkhana (2)butwal dhago karkhana (3)

 नेपाल चेम्बर अफ कमर्सका लुम्बिनी प्रदेश अध्यक्ष टङ्क पोखरेलले बुटवल धागो कारखाना सञ्चालनका लागि सरकारले ध्यान नदिएको बताए ।

२०६४ सालदेखि उत्पादन बन्द रहेको यो कारखानाले २०६६ असोजदेखि कर्मचारीलाई अनिवार्य अवकाश दिएको थियो ।

आर्थिक वर्ष २०८०/८१ र २०८१/८२ को नीति तथा कार्यक्रममा धागो कारखाना जस्ता बन्द या रुग्ण उद्योगहरूलाई साझेदारी, निजी या अन्य उपयुक्त विधिबाट सञ्चालन गरिने घोषणा गरिएको थियो । तर यो नारामै सीमित रहेको बुटवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरि प्रसाद अर्यालले बताए ।

उनले धागो कारखाना चलाउन निजी क्षेत्र तयार रहेको पनि बताए । तर यसबारे सरकारले निर्णय गर्नुपर्ने उनको भनाइ छ ।

butwal dhago karkhana (4)

स्वदेशी कपडामा मुलुकलाई आत्मनिर्भर बनाउने भन्दै धागो उत्पादन गर्ने उद्देश्यले २०३९ चैत ३ मा सो कारखाना स्थापना गरिएको थियो । कारखानाको उत्पादन क्षमता दैनिक १० टन थियो ।

कारखाना बन्द भएपछि नेताहरू तथा मन्त्रीहरू धागो कारखाना हेर्न आउने र चलाउने बचन दिएर जाने गरेको निमित्त महाप्रबन्धक शर्माले बताए । २०६४ साल फागुनभन्दा अगाडि ४ सयदेखि ५ सय कर्मचारीको चहलपहल हुने बुटवल धागो कारखानालाई अहिले ३ जना कर्मचारीले कुरिरहेका छन् । ३ कर्मचारीमध्ये एक जना काठमाडौँमा रहेको सम्पर्क कार्यालयमा छन् भने २ जना बुटवलमा छन् ।

उद्योग बन्द हुँदा उद्योगका अधिकांश मेसिन खिया लागेर बिग्रिएका छन् भने भवन जीर्ण बन्दै गएको निमित्त महाप्रबन्धक शर्माले बताए ।

butwal dhago karkhana (1)

बुटवल औद्योगिक क्षेत्रभित्र १४३ रोपनी क्षेत्रफलमा रहेको धागो उद्योगमा ६ वटा ठुला भवन छन् । कोरोनाकालमा यहाँ लुम्बिनी प्रादेशिक अस्पतालले आइसोलेसन सेन्टर बनाएको थियो । त्यही बेला कारखानामा रहेका विभिन्न तार तथा अन्य सामग्री समेत चोरी भएका थिए ।

बुटवल उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष जीवन ओझाले धागो कारखाना सञ्चालन गर्न सरकारले ठोस पहल नगरेको गुनासो गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप