बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

जीतपुर सिमराको दशौँ नगरसभाको दोस्रो बैठक पनि स्थगित

असार १० गते तेस्रो बैठक आह्वान
शनिबार, ०८ असार २०८१, १७ : ३७
शनिबार, ०८ असार २०८१

बारा । जीतपुर सिमरा उपमहानगरपालिकाको दसौँ नगर सभाको दोस्रो बैठक स्थगित भएको छ । आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्न आज शनिवार दोस्रो पटक बैठक बोलाइएको थियो । तर नगरसभा सञ्चालनका लागि आवश्यक गणपूरक सङ्ख्या नपुगेपछि दोस्रो बैठक पनि स्थगित भएको हो । 

नगर प्रमुख राजन पौडेलले नगर सभा सञ्चालन नियमावली २०७५ को दफा ५ को उपदफा (२) बमोजिम आवश्यक सङ्ख्या नपुगेको भन्दै बैठक स्थगित गरेका थिए । यसअघि असार ६ गतेका लागि बोलाइएको पहिलो बैठक गणपूरक सङ्ख्या नपुगेका कारण स्थगित भएको थियो ।

पौडेलले नगर सभा सञ्चालन नियमावली २०७५ को दफा ५ को उपदफा (३) बमोजिम तेस्रो बैठक आह्वान गरेका हुन् । उक्त उपदफाले २५ प्रतिशत सदस्यको उपस्थितिमा बैठक बस्न सक्ने व्यवस्था गरेको छ । उपदफा (१) र उपदफा (२) मा भने ५० प्रतिशत भन्दा बढी सदस्यको उपस्थितिमा मात्रै नगर सभा बस्ने सक्ने प्रावधान छ । 

पहिलो बैठक स्थगित भएको तीन दिनभित्र बस्ने गरी दोस्रो बैठक र उक्त  बैठक पनि स्थगित भएमा दुई दिनभित्र बस्ने गरी तेस्रो बैठक आह्वान गर्नुपर्ने व्यवस्था नियमावलीमा छ । सोहीअनुसार नगर प्रमुख पौडेलले असार १० गतेका लागि बैठक बोलाएका हुन् । उक्त बैठकमा पनि २५ प्रतिशत सङ्ख्या उपस्थित नभएमा नगर सभा स्थगित हुनेछ । २५ प्रतिशतका लागि हाल कायम १ सय २२ नगर सभा सदस्य सङ्ख्यामध्ये ३१ जना उपस्थित भए पुग्नेछ । 

आज दोस्रो पटक बोलाइएको नगर सभामा भने ३९ जना नगर सभा सदस्य उपस्थित भएका थिए । नगर सभामा उपप्रमुखसहित नेकपा एमालेका ६९, नेपाली कांग्रेसका २३, प्रमुखसहित नेकपा माओवादी केन्द्रका २०, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका ६ र नेकपा एकीकृत समाजवादीका चार सदस्य छन् ।

आज भएको नगरसभामा माओवादी बाहेक दलका केही नगर सभा सदस्य उपस्थित भएका थिए ।  यता नगरप्रमुख राजन पौडेल आज भएको दोस्रो बैठकमा पनि वडालाई दिने बजेट सिलिङ नबढाउने अडानमा छन् । उपमहानगरका २४ वटै वडाले करोडौँ रुपैयाँ बजेट टुक्रे योजनामा खर्चेको भन्दै त्यसलाई कटौती गरेर ठुला योजनामा लगानी गर्ने बताएका छन् । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप