बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

एआईको प्रयोग सबै क्षेत्रमा आवश्यक भइसक्यो : मुख्यमन्त्री महरा

आइतबार, ०९ असार २०८१, १२ : २९
आइतबार, ०९ असार २०८१

घोराही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले प्रविधिसँग नजोडिएको शिक्षा गुणस्तरीय शिक्षा हुन नसक्ने बताएका छन् । राप्ती इन्जिनियरिङ कलेजले शनिबार घोराहीमा आयोजना गरेको एआईद्वारा सञ्चालित सीप विकास र उदीयमान सञ्चार प्रविधिहरूको विषयक राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

सिलिकन रिसर्च एन्ड इनोभेसन सेन्टर काठमाडौँ, घोराहीमा रहेको राप्ती इन्जिनियरिङ कलेज र स्वर्गद्वारी सामुदायिक अध्ययन तथा अनुसन्धान प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रमको उद्घाटन लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले गरे। कार्यक्रममा बोल्दै मुख्यमन्त्री महराले आजको दुनियाँमा मानिसको दैनिक कार्यलाई सहज बनाउनका लागि प्रविधिको सही सदुपयोग गर्नुपर्ने बताए । उनले मानवले आविष्कार गरेको प्रविधिले मानवलाई नै अफ्ठेरो पार्न सक्ने भन्दै पछिल्लो समयमा बढिरहेको आत्महत्याका घटना प्रविधिको दुरुपयोगको उपज हुन सक्ने बताए ।

मुख्यमन्त्री महराले पहिले सवैका लागि शिक्षा भनिए पनि अव गुणस्तरीय शिक्षा सवैका लागि भन्ने कार्यक्रम अनुसार अघि बढ्नुपर्ने भन्दै शिक्षालाई प्रविधिसँग जोड्न सकियो भने मात्रै गुणस्तरीय बन्न सक्ने बताए । ज्ञानको प्रसार गर्नका लागि प्रविधिले भूमिका खेलेको भन्दै मुख्यमन्त्री महराले सरकारले प्रविधिलाई उच्च महत्त्व दिएको बताए । उनले भोलिको दुनियाँ कसरी चलाउने भन्ने बारेमा आजै छलफल चलाउन जरुरी रहेको बताए ।

कार्यक्रमका मुख्य अतिथि रहेका महराले भने प्रविधिको प्रयोगले गर्दा मानव कार्य सहज र सरल बन्दै गई रहेको वर्तमान सन्दर्भमा एआईलाई जीवनको अभिन्न अङ्गको रूपमा प्रयोग गर्न सबैलाई अपिल गरे । एआईको प्रयोगकोलाई राज्यले नियमन गर्नको आवश्यक नीति र नियम बन्नु पर्ने कुरामा मुख्य मन्त्री महराले जोड दिए । साथै उनले यस कार्यमा लुम्बिनी प्रदेश सरकारको सहयोग रहने कुरा पनि बताए । 

राप्ती इन्जिनियरिङ कलेजका प्रबन्ध निर्देशक डा भीमसेन गिरीको अध्यक्षतामा भएको कार्यक्रममा एआईको पछिल्लो विकास र नयाँ सम्भावना लगायतका विषयमा विषय विज्ञहरूबाट कार्यपत्रसहित छलफल गरिएको थियो । सम्मेलनमामा  लुम्बिनी प्राविधिक विश्वविद्यालयका रजिस्ट्रार रेग बहादुर भण्डारीले एआईसम्बन्धी मुख्य कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । उनले एआई जीवनमा  अपरिहार्य भइसकेको बताए  । साथै उनले  हरेक मानिसले चाहेर वा नचाहेर एआईको प्रयोग गरिरहेको जानकारी दिए  । 

यसैगरी राप्ती इन्जिनियरिङ कलेजका कार्यकारी निर्देशक एवं सिलिकन रिसर्च एन्ड इनोभेसन सेन्टरका सीईओ डा शैलेन्द्र गिरीले सीप विकास र सिकाईको थलो एआई बनिरहेको सम्बन्धमा कार्यपत्र प्रस्तुत गरेका थिए । साथै नेपाल टेलिभिजनका नायव महाप्रबन्धक इन्जिनियर चिन्तामणि बरालले बढ्दो एआईको प्रयोग, शिक्षा र प्रविधिको प्रयोग गरेर गुणस्तरीय शिक्षा प्रयोग गर्ने बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

jokh bahadur2

यसैगरी पोष्टडक्टरल रिसर्च एशोसियट नर्थन गल्फ इन्टिच्युट मिसिसिप्पी स्टेट युनिभर्सिटी अफ अमेरिकाकाबाट डा चिरञ्जीवी शाहले उच्च शिक्षामा एआईको प्रयोग विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । साथै नेपाल टेलिकमका इन्जिनियर कविराज यादवले उदयमान एआई सञ्चार प्रविधि विषयमा, डा रवीन्द्र कोइराला, लेक्चर युनिभर्सिटी अफ दि वेष्ट स्कटल्यण्ड बेलायतबाट उदयमान शैक्षिक प्रविधिहरू विषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । यसैगरी हेमन्त बस्नेत लगायत विषय विज्ञहरूले सम्मेलनमा कार्यपत्र प्रस्तुत गरे ।

कार्यक्रममा नेपाल टेलिकम तुलसीपुरका प्रमुख सन्तोष शर्मा, प्रेस काउन्सिल नेपालका सदस्य शरद अधिकारी, प्राविधिक शिक्षालय लुम्बिनी प्रदेशका प्रमुख यादव सुवेदी, क्यान दाङका पूर्व अध्यक्ष कर्णबहादुर पुन र दाङ जिल्ला उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष नरेश कुमार श्रेष्ठसँग प्यानल छलफल गरिएको थियो । छलफलको सहजीकरण राप्ती इन्जिनियरिङ कलेजका कार्यकारी निर्देशक एवं सिलिकन रिसर्च एन्ड इनोभेसन सेन्टरका सीईओ डा शैलेन्द्र गिरीले गरे।

विभिन्न कलेजका विद्यार्थीहरू, सूचना अधिकारीहरू, सुरक्षा निकाय, बुद्धिजीवी, जन प्रतिनिधि, सञ्चारकर्मी लगायतको सहभागिता रहेको सम्मेलनमा बोल्नेहरूले सञ्चारको क्षेत्रमा भएको क्रान्ति र कृत्रिम बौद्धिकताको शक्तिलाई उपयोग गर्दै शिक्षा, स्वास्थ्य, सार्वजनिक सेवा प्रवाह र आर्थिक विकासमा प्रगति गर्न सक्ने सम्भावना रहेको बताएका थिए । एआईलाई कसरी रणनीतिक रूपमा प्रयोग गर्ने र यसको विकास र विस्तारमा राज्यलाई थप जिम्मेवार बनाउँदै लैजाने सवालमा सम्मेलनमा बोल्नेहरूले सुझाव दिएका थिए ।

विश्वबन्धु थापाले सञ्चालन गरेको कार्यक्रममा कलेजका प्रिन्सिपल रेसम गिरीले स्वागत र विषय बस्तुको समीक्षा नेपाल पत्रकार महासङ्घ दाङ शाखाका अध्यक्ष दुर्गालाल केसीले प्रस्तुत गरेका थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप