बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

मनसुन प्रतिकार्यका लागि सबै प्रदेशमा यस्तो छ सशस्त्र प्रहरीको तयारी

आइतबार, ०९ असार २०८१, २३ : ५०
आइतबार, ०९ असार २०८१

काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालले सबै कार्यालयहरूमा मनसुनको समयमा बाढी, पहिरो, डुबान एवं विपद्‌मा परेकाहरूको तत्कालै उद्धारको लागि मनसुन प्रतिकार्य टोली तयारी हालतमा राखेको जानकारी दिएको छ ।

आवश्यक स्रोतसाधनसहित तैनाथ जनशक्तिले बाढी पहिरो र डुबानको सम्भावित इलाकामा हजार्ड म्यापिङ गरी ती स्थानहरूमा केन्द्रित भई लामो र छोटो गस्ती गर्नुका साथै देशभरका कार्यालयहरूमा डिजास्टर फोकल पर्सनहरू तोकी आवश्यक समन्वय गर्ने व्यवस्था समेत मिलाइएको हो ।

देशभर स्थापना भएका राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्र, प्रदेश आपत्कालीन कार्य सञ्चालन केन्द्रहरू, जिल्ला आपत्कालीन सञ्चालन केन्द्रहरूमा तालिम प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरू खटिई आवश्यक समन्वय गर्नुका साथै विपद्मा परेकाहरूको तत्कालै उद्धारको लागि ३९ जिल्लाको ५९ वटा सशस्त्र प्रहरी बल नेपालका कार्यालयहरूमा १ सय २० वटा मोटर वोट तथा र्‍याफ्ट वोटहरू तयारी अवस्थामा राखिएको छ ।

सशस्त्र प्रहरी नायव महानिरीक्षक कुमार न्यौपानेकाअनुसार  ९१ जना गोताखोरलाई आवश्यक उपकरणसहित सात वटै प्रदेशमा रहेका बाहिनी मुख्यालयहरू तथा सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार, उपत्यकास्थित नं‍‍. २० विपद् उद्धार गण सिनामंगल, नं. २४ कालिका गण कास्की, सिन्धुलीको खुर्कोट बेसमा तैनाथ गरिएको छ । 

यसैगरी विपद् व्यवस्थापन तालिम प्राप्त जनशक्तिसहित धनकुटाको मुलघाट, बाराको निजगढ, धादिङको आदमघाट, सिन्धुलीको खुर्कोट, मकवानपुरको कुलेखानी, म्याग्दीको नारच्याङ, दाङको भालुवाङ, सुर्खेतको चिप्ले र डडेलधुराको अमरगढीमा गरी नौ वटा विपद् व्यवस्थापन बेस स्थापना गरिएको छ ।

यसका साथै विपद् व्यवस्थापन तालिम प्राप्त जनशक्तिलाई सातै वटा प्रदेशस्थित बाहिनी मुख्यालयहरू, उपत्यकास्थित नं। ९ पशुपतिनाथ बाहिनी मुख्यालय, १० वटा शिक्षालय, सबै गणहरूमा एकरएक प्लाटुन र गुल्म वा सो भन्दा साना युनिटहरूमा १ सेक्सनको दरले आवश्यक स्रोतसाधनसहित तैनाथ गरिएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणद्वारा सशस्त्र प्रहरी बल नेपाललाई हस्तान्तरण गरिएका ८ वटा मास क्याजुल्टी भेहिकल र ८ वटा ए क्लासका एम्बुलेन्सलाई परिचालन गर्न सक्ने गरी सुनसरी, महोत्तरी, कुरिनटार, पोखरा, रुपन्देही, सुर्खेत, कैलाली र काठमाडौँमा तयारी अवस्थामा राखिएको छ ।

विपद्को समयमा शुद्ध पिउने पानीको अभावलाई पूर्ति गर्न अमेरिकी दूतावासद्वारा निर्मित डिप ट्युबवेल काठमाडौँको ७ स्थानसहित कास्की, नवलपरासी, बाँके, कैलालीमा तयारी अवस्थामा रहेको छ । 

त्यस्तै अमेरिकी दूतावासबाट प्राप्त डिजास्टर रिलिफ सिस्टमका २८ वटा कन्टेनर १३ जिल्लाका १५ वटा सशस्त्र प्रहरी बल नेपालका कार्यालयहरूमा वितरण गरी तयारी हालतमा राखिएको छ भने ५ वटा कन्टेनर जाजरकोट भूकम्पमा प्रयोग गरी सकिएको छ ।

देशभर रहेका सशस्त्र प्रहरी बल नेपालका कार्यालयहरूमा २४ सै घण्टा स्ट्यान्डबाई रहने गरी बाहिनी मुख्यालय, शिक्षालय तथा गणहरूमा सिनियर अफिसरको कमान्डमा १ प्लाटुन, जिल्लास्थित गुल्ममा जुनियर अफिसरको कमान्डमा २० जना, अन्य गुल्महरूमा जुनियर अफिसरको कमान्डमा १५ जना, बीओपी तथा सुरक्षा बेसहरूमा जुनियर अफिसरको कमान्डमा १० जनाको टोली आवश्यक सामाग्रीसहित २४ सै घण्टा खटिइने गरी स्ट्यान्डबाई रहेका छन् ।

यसैगरी झापा, सप्तरी, बारा, चितवन, रुपन्देही, बाँके, कैलाली, भक्तपुर, मकवानपुर र तनहुँमा रहेका १० वटा सशस्त्र प्रहरी बल नेपालका इमिडियट रेस्पोन्स टिम पोस्ट तथा सबै प्रदेशमा रहेका १३ वटा हेभी इक्यूपमेन्टहरूलाई समेत तयारी अवस्थामा राखिएको छ । 

त्यस्तै राष्ट्रिय आपतकालिन सञ्चालन केन्द्रको स्वामित्वमा रहेको सामाग्रीहरू जस्तै लत्ताकपडा, त्रिपाल, टेन्टहरू सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी, नं। २० विपद् उद्धार गण र नं. २२ गुहेश्वरी गण भक्तपुर तयारी अवस्थामा राखिएको छ ।

सशस्त्र प्रहरी बल नेपालका इकाईहरूबाट विपद् प्रतिकार्यका लागि मनसुन अवधिभर साइकलको रूपमा कार्य गर्ने गरी ५० वटा टोली विभिन्न स्थानहरूमा परिचालन गरिसकिएको छ भने प्रदेशस्थित ७ वटै बाहिनी मुख्यालयहरूमा विपद् व्यवस्थापन टोली तयारी अवस्थामा रहेको छ ।

साथै उपत्यकामा आई पर्न सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै सिनामङ्गलस्थित सशस्त्र प्रहरी बल नेपाल नं। २० विपद् उद्धार गणलाई पनि तत्काल परिचालित हुन सक्ने गरी तयारी अवस्थामा राखिएको छ । 

यसै गरी देशभर रहेका सशस्त्र प्रहरी बल नेपालका इकाईहरूमा पनि विपद् प्रतिकार्यमा परिचालन गराउनका लागि निश्चित जनशक्तिलाई आवश्यक उपकरणहरू सहित तयारी अवस्थामा राखिएको छ जस अनुरूप एक पटकमा २४सै घण्टा रहने गरी ५ सय ४६ इकाईहरूमा ७ हजार ४ सय ५५ जनाको जनशक्ति तयारी हालतमा रहेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप