बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

तिलोत्तमा नगरपालिकाले ल्यायो २ अर्ब ७६ करोड रुपैयाँको बजेट

सोमबार, १० असार २०८१, १७ : ३१
सोमबार, १० असार २०८१

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आगामी आर्थिक वर्षका लागि २ अर्ब ७६ करोड ६२ लाख २२ हजार रुपैयाँको बजेट ल्याएको छ ।

पालिकाको दोस्रो नगर सभा तथा पाँचौँ अधिवेशनबाट आगामी आर्थिक वर्ष २०८१/८२ का लागि चालु खर्चतर्फ १ अर्ब २४ करोड ४३ लाख ७४ हजार रुपैयाँ र पुँजीगततर्फ १ अर्ब ५२ करोड १८ लाख ४८ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको उपप्रमुख जलेश्वरदेवी चौधरीले बजेट वक्तव्यमार्फत जानकारी दिएकी हुन् ।

बजेटमा अधिकांश पुराना कार्यक्रमलाई निरन्तरता दिइएको छ । बजेटमा स्वास्थ्यतर्फ सबै नागरिकको पहुँच सुनिश्चित रहोस् भन्ने उद्देश्यसहित वातानुकूलित खोप केन्द्र निर्माणका लागि ९ करोड ४५ लाख २२ हजार रुपैयाँ विनियोजन गरिएको छ ।

शिक्षातर्फ सामुदायिक विद्यालयमा बाल विकास कक्षा व्यवस्थापन, यातायातका साधनमा अनुदान, नगरको समग्र शिक्षा प्रणाली सुधारका लागि ४५ करोड ६९ लाख ८५ हजार रुपैयाँ बजेट प्रस्ताव भएको उपप्रमुख चौधरीले बताइन् । नमुना कृषक प्रवर्द्धन, कृषिको आधुनिकीकरण, धान खेतीमा हाँस , किसानलाई दुग्ध उत्पादनका आधारमा अनुदान दिने व्यवस्थालाई शतप्रतिशत वृद्धि गरी कृषिमा २ करोड ३७ लाख ७९ हजार प्रस्ताव भएको छ ।

नगर प्रमुख नवप्रवर्तन कार्यक्रम तथा नगर उपप्रमुख उद्यमशीलता विकास केन्द्रको प्रभावकारी सञ्चालनका लागि आवश्यक बजेट विनियोजन गरिएको छ । पालिकाले सडक सौन्दर्यीकरण तथा उज्यालो तिलोत्तमा बनाउन आवश्यक बजेट छुट्याएको छ ।

आगामी वर्ष पालिकाले ३२ करोड ६६ लाख २५ हजार राजश्वतर्फ सङ्कलन गर्ने लक्ष्य राखेको छ । त्यस्तै, अन्तर सरकारी वित्तीय हस्तान्तरण तथा बजेटबाट २ अर्ब ४३ करोड ९५ लाख ९७ हजार प्राप्त हुने लक्ष्य राखेको छ । पालिकाले चालु आर्थिक वर्षमा २ अर्ब ७३ करोड ८४ लाख ३९ हजारको बजेट ल्याएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप