शनिबार, ०५ असोज २०८१
ताजा लोकप्रिय

कर्णालीका ५ जिल्लामा यातायात सेवा अवरुद्ध

मङ्गलबार, ०८ साउन २०८१, १९ : ५४
मङ्गलबार, ०८ साउन २०८१

सुर्खेत । कर्णालीका ५ जिल्लामा यातायात सेवा अवरुद्ध भएको छ । पहिरो तथा खोलामा पानी बढेका कारण यातायात सेवा अवरुद्ध भएको प्रदेश प्रहरी कार्यालयले सुर्खेतले जानकारी दिएको छ । 

भेरी करिडोरभित्र पर्ने डोल्पाको त्रिपुरासुन्दरी–१ छलगाडमा खोलामा पानी बढेका कारण यातायात सेवा ठप्प भएको छ । त्यस्तै त्रिपुरासुन्दरी नगरपालिका–५ साङलेखोलामा पहिरो कारण साना यातायातका साधन मात्र सञ्चालनमा छन् । त्रिपुरासुन्दरी–९ चुँगाडमा ट्रक फस्न गएपछि यातायात सेवा ठप्प भएको छ भने भेरी करिडोरकै रुकुमपश्चिमको आठबिसकोट–६ रिजिगारमा खोलामा पानी बढेपछि आवतजावत ठप्प भएको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।

भित्री सडकअन्तर्गत रुकुम–पश्चिमको मुसिकोट–३ माझमीमा पहिरो गएका कारण सडक अवरुद्ध भएको प्रहरीको भनाइ छ । त्यस्तै बाँफिकोट गाउँपालिका–तीन/चारको बिचमा रहेको छिनखेत–पिपल जोड्ने सडक खोलामा पानी बढेका कारण अवरुद्ध भएको छ । 

कर्णाली करिडोरअन्तर्गत खार्पुनाथ–१ सुनखडादेखि लालुबगरसम्म सुक्खा पहिराका कारण यातायात सेवा अवरुद्ध भएको प्रहरीको भनाइ छ । कालिकोटको पचालझरना–८ लाभामा पहिराका कारण सडक अवरुद्ध भएको छ । मुगुको छायाँनाथ रारा नगरपालिका–७ जिरो प्वाइन्ट भित्री सडकमा पहिरो आएपछि सडक अवरुद्ध भएको छ । अवरुद्ध भएको ठाउँमा सडक खुलाउने प्रयास भइरहेको कर्णाली प्रदेश प्रहरी प्रवक्ता वीरबहादुर ओलीले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप