बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

मधेस प्रदेशका स्थानीय तहमा युरिया र डीएपी मल वितरण

बुधबार, ०३ असार २०८३, २२ : ००
बुधबार, ०३ असार २०८३

सारांश

  • मधेस प्रदेश सरकारले वर्षे धानलाई लक्षित गरी ७,३२८ मेट्रिक टन युरिया र ६,६१० मेट्रिक टन डीएपी मल प्रदेशका १३६ वटै स्थानीय तहमा वितरण गरेको छ।
  • प्रदेशले केन्द्र सरकारसँग १० हजार मेट्रिक टन मल मागेकामा हालसम्म २ हजार मेट्रिक टन मात्र प्राप्त भएको छ।
  • सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साका स्थानीय तहमा मल बाँडफाँट गरिएको छ।

जनकपुरधाम । मधेस प्रदेश सरकारले वर्षे धानलाई लक्षित गर्दै स्थानीय तहमा युरिया र डीएपी मल वितरण गरेको छ। प्रदेश मन्त्रिपरिषद्को जेठ २७ गते बसेको बैठकको निर्णयअनुसार ७ हजार ३२८ मेट्रिक टन युरिया र ६ हजार ६१० मेट्रिक टन डीएपी मल बाँडफाँट गरिएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ।

मन्त्रालयले कृषि सामग्री कम्पनी लिमिटेडबाट प्राप्त युरिया र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडबाट प्राप्त डीएपी मल प्रदेशका १३६ वटै स्थानीय तहमा बाँडफाँट गरेको हो।

मन्त्रालयका प्रवक्ता मनिषकुमार पालका अनुसार प्रदेशले केन्द्र सरकारसँग १० हजार मेट्रिक टन मल माग गरेको थियो। तर केन्द्रबाट हालसम्म २ हजार मेट्रिक टन मात्रै मल प्राप्त भएको छ। केन्द्रबाट प्राप्त मल र प्रदेशसँग मौज्दात रहेको मललाई समायोजन गरी १३६ वटै स्थानीय तहमा बाँडफाँट गरिएको उनले बताए। आवश्यकता परेमा केन्द्र सरकारले थप मल पठाउने आश्वासन दिएको समेत प्रवक्ता पालले जानकारी दिए।

मन्त्रालयका अनुसार सप्तरीका १८ स्थानीय तहका लागि ९७५ मेट्रिक टन युरिया र १ हजार ३५ मेट्रिक टन डीएपी मल बाँडफाँट गरिएको छ। त्यस्तै, सिराहाका १७ स्थानीय तहका लागि १ हजार ७२ मेट्रिक टन युरिया र १ हजार १३७ मेट्रिक टन डीएपी मल छुट्याइएको छ।

धनुषाका १८ स्थानीय तहका लागि ९२६ मेट्रिक टन युरिया र ७७८ मेट्रिक टन डीएपी मल तथा महोत्तरीका १५ स्थानीय तहका लागि ८८० मेट्रिक टन युरिया र ७४० मेट्रिक टन डीएपी मल वितरण गरिएको छ।

त्यसैगरी सर्लाहीका २० स्थानीय तहका लागि १ हजार ९३ मेट्रिक टन युरिया र ९१९ मेट्रिक टन डीएपी मल, रौतहटका १८ स्थानीय तहका लागि ८७५ मेट्रिक टन युरिया र ७३६ मेट्रिक टन डीएपी मल तथा बाराका १६ स्थानीय तहका लागि ८१९ मेट्रिक टन युरिया र ६८९ मेट्रिक टन डीएपी मल बाँडफाँट गरिएको छ।

त्यस्तै, पर्साका १४ स्थानीय तहका लागि ६८७ मेट्रिक टन युरिया र ५७८ मेट्रिक टन डीएपी मल छुट्याइएको मन्त्रालयका प्रवक्ता मनिषकुमार पालले बताए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप