सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई थप बलियो बनाउन संविधान संशोधन : निधि
भक्तपुर । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई थप बलियो बनाउन आमसहमतिका आधारमा संविधान संशोधन गरिने बताए । बयालिसौँ बीपी स्मृति दिवसका अवसरमा आज नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं २ ले यहाँ आयोजना गरेको बिपी स्मृति सभामा उनले कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बीच भएको सहमतिअनुसार सबैको सहमतिमा संविधान संशोधन अगाडि बढाइने बताए ।
नेता निधिले सत्ता गठबन्धनले सङ्घीयता, प्रदेश संरचना र समानुपातिक व्यवस्थालाई कमजोर बनाउँछन् भनेर चलाइएका हल्लाका पछि नलाग्न आग्रह गरे । उनले संविधान संशोधनभन्दा पहिले प्रदेश कानुन बनाउन अत्यावश्यक रहेको समेत चर्चा गरे ।
“अहिले संविधान संशोधनभन्दा पनि प्रदेश कानुन बनाएर प्रदेशको अधिकारलाई पूर्णता दिनु अत्यावश्यक छ, प्रदेशको आफ्नै प्रहरी, कर्मचारी हुने संविधानमा व्यवस्था छ तर त्यसको कार्यान्वयन भएको छैन । यसर्थ संविधानअनुरूप कानुन बनाउने विषयलाई वर्तमान सत्ता गठबन्धनले पहिलो प्राथमिकतामा राख्नुपर्छ ।”
कांग्रेस पूर्वउपसभापति निधिले एमाले र कांग्रेसबीच भएको सातबुँदे सहमतिअनुसार सरकारको निरन्तरता र कामकारबाही अगाडि बढ्ने धारणा राखे ।
उनले भने, “दुई पार्टीबीचको सहमतिलाई प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद्मा पढेर सुनाउनुभएको छ । म दाबाका साथ भन्न चाहन्छु, यो सम्झौता २०८४ को चुनावसम्म कायम रहन्छ । सरकारको नेतृत्व पनि सोहीअनुसार हस्तान्तरण हुन्छ । बाहिर यो सरकार टिक्दैन, केही महिनाका लागि मात्रे हो भन्ने चर्चा र भ्रम छर्ने काम भइरहेको छ, यसलाई चिरेर अगाडि बढ्छौँ ।”
वर्तमान सरकारको भविष्यबारे चिन्ता नगरी २०८४ सालमा बहुमत ल्याउने गरी पालिका तहदेखि नै पार्टीलाई मजबुद बनाउन लाग्नुपर्ने आवश्यकता औँल्याउँदै प्रतिनिधिसभा सदस्य निधिले गुट उपगुटभन्दा माथि उठेर पार्टीलाई जिताउने गरी एकताबद्ध हुन अपिल गरे ।
कार्यक्रममा नेपाली कांग्रेस भक्तपुरका सभापति एवं प्रतिनिधिसभा सांसद दुर्लभ थापाले बीपीको सिद्धान्तबाट कांग्रेस विचलित हुन नहुने चर्चा गर्दै तल्लो तहबाटै कांग्रेस एकढिक्का भएर लाग्नुपर्नेमा जोड दिए । आयोजक कांग्रेस भक्तपुर क्षेत्र नं २ का सभापति भेषबहादुर कार्कीले माथिल्लो तहदेखि नै गुटबन्दी अन्त्य भएकामा सिङ्गो कांग्रेस एक भएर अगाडि बढ्ने दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण