मोरङको लोहन्द्रा खोलामा भेटियो अर्को नयाँ प्रजाति माछा

मोरङ । मोरङको लोहन्द्रा खोलामा अर्को नयाँ प्रजातिको माछा फेला परेको छ । बुदुना जातको ‘गारा केम्पी होरा’ वैज्ञानिक नाम रहेको सो माछा एसियाकै रैथाने भएको अनुसन्धानकर्ताले बताएका छन् ।
अनुसन्धानकर्ता जसहाङ लिम्बू, दीपक राजवंशी, लक्ष्मण खनाल र रामचन्द्र अधिकारीले उक्त प्रजाति नेपालका लागि नयाँ भएको भन्दै भारतबाट प्रकाशित हुने प्रसिद्ध जर्नल ‘थ्रिटेन्ड टेक्सा’ को सन् २०२४ को जुन अङ्कमा लेख लेखेका छन् । लिम्बूलगायतको टोलीले दुई महिनाअघि पनि लोहन्द्रा खोलामै दक्षिण अमेरिकाको अमेजन नदीमा पाइने ‘टेरिगोप्लिक्थिस डिसजन्किटिभस’ वैज्ञानिक नाम रहेको नयाँ प्रजातिको माछा फेला पारेका थिए ।
सन् २०२२ को सेप्टेम्बरदेखि २०२३ को मार्च महिनासम्म स्थलगत सर्वेक्षणमा लोहन्द्रा खोलामा ‘गारा केम्पी’ माछा भेटिएको र यसको बाहिरी बनावटको र आणविक तथा आनुवांशिक अध्ययनको विवरणबाट नेपालका लागि नयाँ भएको जानकारी अनुसन्धान कर्तामध्ये एक जसहाङ लिम्बूले जानकारी दिए । उनले भने, “विराटनगर–रङ्गेली रोडमा पर्ने लोहन्द्रा पुल आसपासबाट यो माछाका ३० देखि ४० ग्रामका जिउँदो नमुना सङ्कलन गरिएको थियो । यसको शरीरका १८ किसिमका नापहरू लिइयो, जसमा धेरै कुरा अरू प्रजातिभन्दा भिन्न पाइयो र नयाँ प्रजाति भनी दाबी गरियो र पुष्टि पनि भयो ।” फरक प्रजाति हो भनी पुष्टि गर्न गारा जातिका अरू १९ प्रजातिसँग आणविक बनावटको तुलना गरिएको लिम्बुले बताए ।
‘गारा केम्पी’ नेपालबाहेक पूर्वी र उत्तरी भारतमा तथा चीनका केही स्थानमा पाइने केही अन्य अनुसन्धानकर्ताले जनाउनुभएको छ । “यसलाई स्टोन सकर पनि भनिन्छ”, अर्का अनुसन्धानकर्ता रामचन्द्र अधिकारीले भने, “यो थुतुनोको सहाराले ढुङ्गाामा टाँसिएर बस्छ । यसको मुख्य वासस्थान भनेको सफा नदीको तीव्र वेग भएको ठाउँ हो ।” यो प्रजाति पूर्वी नेपालका कन्काइलगायत नदीमा पनि प्रशस्तै पाइने गरेको लिम्बूले बताए । विश्व संरक्षण सङ्घले यसलाई खास वास्ता नगरिएको (लिष्टकन्सर्न) प्रजातिअन्तर्गत राखेको छ । धेरै पौष्टिक तत्व पाइने र स्वादिलो पनि हुने भएकाले स्थानीयहरूको रोजाइमा यो माछा पर्दछ ।
अनुसन्धानकर्ता लिम्बूले भने, “यो माछालाई अघिल्लो पुस्ताका अनुसन्धानकर्ताले उस्तै देखिने गारा आनन्देली नाम दिनुभएको थियो, त्यसमा प्रशस्त प्रमाण पनि थिएनन् र उक्त आनन्देलीको वासस्थान भने पहाडी क्षेत्रका नदी मात्र हुन् ।”
पुराना अनुसन्धानमा केही कमजोरी भएका कारण प्रजातिको सही पहिचान हुन नसकेको लिम्बूको दाबी छ । उनले थप भने, “बुदुना जातका माछाका यसअघि आठ प्रजाति नेपालमा पाइने भनिएको भए पनि गारा मूल्या र गारा रुपिकोला प्रजातिको अस्तित्व स्वीकार गर्न सकिँदैन । तसर्थ योसहित बुदुनाका अब सात प्रजातिमात्र भए ।” नेपालमा माछाका प्रजाति सङ्ख्या दुई सय ७३ पुगेको दाबीसमेत लिम्बूले गरे । माछाको प्रजाति पहिचान, अस्तित्व र वितरणका विषयमा थप वैज्ञानिक अनुसन्धान गरी अभिलेखीकरण गर्न जरुरी भएको अनुसन्धानकर्ताले औँल्याएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बहुमत निकट विद्यार्थी सङ्गठनले बुझायो ८ बुँदे ज्ञापनपत्र
-
नीति तथा कार्यक्रम : निजी क्षेत्र प्रोत्साहन, जेन जी पुस्ता प्राथमिकता, कृषिमा आत्मनिर्भर बन्ने योजना
-
भारतको निरञ्जनी अखडाका प्रमुख स्वामी गिरी चार दिनदेखि नेपालमा
-
सरकारको नीति तथा कार्यक्रम : कुन मन्त्रालयलाई कति प्राथमिकता ?
-
निजी क्षेत्रको प्रतिक्रिया : ‘नीति तथा कार्यक्रम सकारात्मक, कार्यान्वयनमा जोड दिनुपर्छ’
-
किट विश्वविद्यालयमा नेपाली विद्यार्थी मृत्युबारे परराष्ट्र मन्त्रालयले के भन्यो ?