बुटवल– नारायणगढ सडक : पटक–पटक म्याद थप, प्रगति सुस्त
बुटवल । पूर्व–पश्चिम राजमार्गसँग जोडिएको रुपन्देहीको देवदह नगरपालिका–९ घोडाहमा प्रेम थापा मगरको घर अगाडिको सडक भत्किएको दुई वर्ष भइसक्यो । बुटवल–नारायणगढ चार लेन सडक आयोजनाका बिस्तार गर्ने क्रममा सडकसँगै ढल पनि भत्काएपछि वर्षायाममा प्रेमको घरमै पानी पस्छ ।
देवदहको घोडाह, खैरेनी, भलुहीमा सडकसँग जोडिएका धेरै घरहरूमा अहिले यस्तै समस्या छ । बुटवल–नारायणगढ सडक विस्तारको काम २०७५ साल माघदेखि सुरु गरे पनि अझैसम्म पूरा हुन सकेको छैन ।
समयमा सडक नबन्दा पूर्वपश्चिम राजमार्ग भएर बुटवलबाट चितवनको नारायणगढ आवतजावत गर्ने सवारी साधनको समय थप ३ घण्टा लम्बिएको छ । यात्रुहरूलाई वर्षामा हिलो र हिउँदमा धुलोले हैरानी हुने गरेको छ ।

बुटवलबाट नारायणगढसम्म जान बसमा सामान्यता ३ घण्टा लाग्ने भए पनि अहिले सडकको दुरावस्थाको कारणले ६ देखि ८ घण्टा सम्म लाग्ने पश्चिम नेपाल बस प्रालिका अध्यक्ष दधिराम खरेलले रातोपाटीलाई बताए । उनले भने, ‘सडक विस्तार गर्दा ठाउँ–ठाउँमा निर्माण सामाग्री छरपस्ट छन् । सडक ठाउँ–ठाउँमा भत्काएको छ ।’
निर्माणाधीन सडककै कारण दैनिक जीवन कष्टकर भएपछि छिटो काम सम्पन्न गर्नुपर्ने माग गर्दै स्थानीयहरूले देवदह नगरपालिकामार्फत सडक कार्यालय र ठेकेदार कम्पनीलाई ध्यानाकर्षण गराएको स्थानीय प्रेम थापाले बताए । केही समय अगाडि सोही विषयलाई लिएर देवदहमा स्थानीयले सडक नै बन्द गरेर आन्दोलन समेत गरेका थिए ।
२०७५ सालमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले बुटवल नारायणगढ सडक विस्तार आयोजनाको शिलान्यास गरेका थिए । चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले बुटवलदेखि नारायणगढसम्मको ११३ किलोमिटर सडक २०७९ को साउनमा निर्माण सम्पन्न गर्ने गरी २०७५ को माघमा ठेक्का सम्झौता भएको थियो ।
उक्त आयोजनाको अहिलेसम्म जम्मा ५२ प्रतिशत मात्र काम भएको छ । हालै आयोजनाको तेस्रो पटक म्याद थप गरिएको छ । यही साउन ६ गतेदेखि २०८२ सालको साउन ६ गतेसम्म एक वर्ष आयोजनाको म्याद थप भएको बुटवल–नारायणगढ चार लेन सडक आयोजनाको पश्चिम खण्ड (बुटवल–दाउन्ने) का प्रमुख शशाङ्क मिश्रले जानकारी दिए । ठेकेदार कम्पनीले डेढ वर्षको समय माग गरे पनि सडक विभागले हाल एक वर्षका लागि म्याद थप गरेको हो ।

तोकिएको समयमा निर्माणले गति लिन नसकेपछि पहिलो पटक २०७९ मा र दोस्रो पटक २०८० मा एक/एक वर्षका लागि म्याद थप भएको थियो । दुई–दुई पटक म्याद थप गर्दा पनि आयोजनाको प्रगति जम्मा ५२ प्रतिशत मात्रै छ ।
उक्त आयोजना अन्तर्गत बुटवल राजमार्ग चौराहादेखि दाउन्नेसम्म पश्चिमी खण्डको ४८.५८ किलोमिटर र दाउन्नेदेखि गैँडाकोटसम्म पूर्वी खण्डमा ६४.४२ किलोमिटरका दुईवटा खण्डमा विभाजन गरेर काम गरिएको छ ।
२०७५ साल माघ भएको सम्झौता अनुसार २०७९ साउन २२ गते सम्म १ सय १३ किलो मिटर सडक सक्नुपर्ने थियो । तर, कोभिड, वन विभागबाट रुख कटानको लागि ढिलाइ आदिको कारणले सडकको भौतिक प्रगति सुरुमा काम सुस्त भएको बुटवल–नारायणगढ सडक कार्यालय पूर्वी खण्डका प्रमुख आषिश थापाले रातोपाटीलाई बताए ।
ठेकेदार कम्पनीले पहिलो पटकको म्याद थप गर्दा २०८० साउन २२ सम्म भौतिक प्रगति ३७ प्रतिशत रहेको थियो । त्यसपछि दोस्रो पटक २०८१ साउन २२ गते सम्म म्याद थप गर्दा ५२ प्रतिशत पुगेको छ ।

हालसम्म पश्चिम खण्डमा ३० किलोमिटर र पूर्वी खण्डमा २७ किलोमिटर सडक एकतर्फी मात्रै कालोपत्रे भएको छ। ४३ साना पुल र २१ वटा ठुला पुल पनि निर्माण भएका छन् ।
आयोजनाको पश्चिम खण्डका प्रमुख मिश्रले अघिल्ला वर्षहरूको तुलनामा गत वर्ष निर्माण कम्पनको कार्यशैलीमा केही सुधार भएको अहिले थपिएको समयमा ठेकेदारले काम पूरा गर्ने विश्वास व्यक्त गरे । बुटवल–नारायणगढ सडक आयोजनाको कूल लागत १६ अर्ब ९९ करोड ५२ लाख रहेको छ । यसमध्ये ८५ प्रतिशत एडीबीको सहुलियत ऋण हो भने बाँकी १५ प्रतिशत नेपाल सरकारको लगानी रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह
-
इरान र कतारबिच अमेरिका–तेहरान वार्ता मध्यस्थताबारे छलफल
-
माडीमा प्लाष्टिकजन्य सामग्री बिक्रीमा रोक
-
सामाजिक सञ्जालमा सुनचाँदी र नगदको ‘रिल्स’ बनाउनु पर्यो महँगो, चोरले घरमै पुगेर लुटे लाखौँको सम्पत्ति
-
चलचित्र ‘लालीबजार’को अहिलेसम्मको आम्दानी कति ?
-
पाकिस्तानको उत्तर–पश्चिम क्षेत्रमा सैन्य कारबाही तीव्र, २७ जना मारिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण