मङ्गलबार, २२ असोज २०८१
ताजा लोकप्रिय
रोचक प्रसङ्ग

सचिनकी सासू भन्छिन्, ‘मेरी भाउजूले सचिनलाई गोरखा चौकीदारको छोरा सम्झिएकी थिइन्’

आइतबार, २० साउन २०८१, १४ : १०
आइतबार, २० साउन २०८१

काठमाडौँ । विश्व क्रिकेटका महान् खेलाडी हुन्, सचिन तेन्दुल्कर । क्रिकेट भनेपछि हुरुक्कै गर्ने भारतमा सचिनलाई ‘क्रिकेटको भगवान्’ का रूपमा पनि सम्बोधन गरिन्छ । सक्रिय खेल जीवनबाट सन्न्यास लिएको वर्षौँ बितिसक्दा पनि विश्व क्रिकेटका थुप्रै कीर्तिमान अझै उनको नामसँग जोडिएको छ ।

उनै सचिनको जीवनसँग जोडिएको एउटा रमाइलो घटना हालै सार्वजनिक भएको छ । यो घटना पनि सचिनकी सासू एनाबेल मेहताले बाहिर ल्याएकी हुन् । खासमा सचिन आफ्नी पत्नी अञ्जलीभन्दा ६ वर्षले कान्छा छन् ।

सचिनले अञ्जलीसँग प्रेम विवाह गरेका हुन् । हालै सचिनकी सासू एनाबेलले आफ्नो जीवनी प्रकाशित गरेकी छन् । उनको जीवनीमा सचिन र अञ्जलीको विवाहको बारेमा पनि उल्लेख गरिएको छ । छोरी अञ्जलीको विवाह अग्लो केटासँग होस् भन्ने आफ्नो चाहना रहेको उनले आफ्नो पुस्तकमा उल्लेख गरेकी छन् ।

‘खासमा अञ्जलीको विवाह कुनै सुन्दर अग्लो केटासँग होस् भन्ने मेरो चाहना थियो । सचिन सुन्दर त थिए तर, अञ्जलीभन्दा निकै कम उमेरका थिए । त्यसमाथि उनको उचाइ पनि कम थियो,’ एनाबेलले आफ्नो पुस्तकमा उल्लेख गरेकी छन् ।

कम उचाइको केटासँग विवाह भए छोरीले हिल भएको जुत्ता वा चप्पल कसरी लगाउलिन् भन्ने चिन्ताले आफूलाई सताउने गरेको पनि उनले बताएकी छन् । ‘अञ्जलीलाई उचाइ साढे पाँच फिट छ । उनलाई हिल भएको जुत्ता वा चप्पल लगाउन पटक्कै मन पर्दैनथ्यो । त्यसैले सचिनको कुरा आउँदा मलाई त्यही चिन्ताले सताएको थियो,’ उनको पुस्तकमा उल्लेख छ ।

anabel-mehta

यही विषयलाई लिएर आफूले अञ्जली र सचिनको विवाहको प्रस्ताव सुरुमा अस्वीकार गरेको पनि एनाबेलले बताएकी छन् । ‘सुरुमा विवाहको प्रस्तावप्रति म सकारात्मक थिइन । तर, छोरी अञ्जलीले निकै सम्झाएपछि म विवाहका लागि तयार भएँ । अञ्जलीले पनि आफूले सचिनलाई धेरै माया गर्ने बताइन् । त्यसपछि मेरो केही लागेन,’ उनले भनेकी छन् ।

यसका अतिरिक्त सचिन चर्चित खेलाडी खेलाडी थिए । उनले देशका लागि खेल्न अधिकांश समय विदेशमा बिताउनु पर्थ्यो । यो कुराले पनि आफूलाई तनाव भएको एनाबेलले आफ्नो पुस्तकमा उल्लेख गरेकी छन् ।

‘विवाहपछि पनि सचिन अधिकांश समय घरबाट टाढा रहने पक्का थियो । सुरुमा अञ्जली र सचिनको विवाहप्रति म सकारात्मक हुन नसक्नुको अर्को कारण यो नै थियो । तर, अञ्जली र सचिन भने एकअर्काको प्रेममा निकै अगाडि बढिसकेका थिए । उनीहरूको प्रेमको अगाडि मेरो केही चलेन । अन्ततः मैले नै झुक्नु प¥यो,’ उनले आफ्नो पुस्तकमा लेखेकी छन् ।

सचिनकी सासू एनाबेलको जन्म सन् १९४० मा इङ्ल्यान्डमा भएको हो । उनले सन् १९६६ मा आनन्द मेहतासँग विवाह गरेकी थिइन् । आनन्द र एनाबेल एउटै कलेजमा अध्ययन गर्थे । त्यही यी दुईको भेट भएको थियो । विवाहपछि एनोबल पनि भारतमै बस्न थालेकी हुन् ।

‘त्यति बेला सचिन १९ वर्षका थिए र भारतमा विवाहका लागि कानुनले तोकेको उमेर २१ वर्ष थियो । त्यसैले हामीले विवाहका लागि थप दुई वर्ष प्रतीक्षा गर्नुपर्ने भयो । त्यति बेलासम्म हामीले सचिन र अञ्जलीबिचको सम्बन्धलाई लुकाएर राख्ने सहमति गरेका थियौँ,’ उनले पुस्तकमा उल्लेख गरेकी छन् ।

Sachin

आफ्नी भाउजूले एक दिन सचिनलाई गोरखा चौकीदारको छोरा सम्झिएको पनि एनाबेलले आफ्नो पुस्तकमा उल्लेख गरेकी छन् । उनले आफ्नो घरमा पनि सचिन र अञ्जलीको सम्बन्धको बारेमा अरू कसैलाई जानकारी नभएको बताएकी छन् ।

‘त्यसबिचमा सचिन निरन्तर हाम्रो घरमा आइरहन्थे । एकपटक त मेरी भाउजूले सचिनलाई गोरखा चौकीदारको छोरा सम्झिएकी थिइन् । किनभने सचिनको बारेमा हामीले घरमा पनि कसैलाई बताएका थिएनौँ । तर, सचिन चर्चित व्यक्ति भएकाले धेरैले उनलाई चिन्दथे ,’ उनले पुस्तकमा उल्लेख गरेकी छन् ।

एनाबेलले सन् १९९४ को अप्रिल २४ तारिखमा सचिनको २१औँ जन्मदिन पारेर अञ्जलीसँग उनको टिकोटालो गरेको पनि स्मरण गरेकी छन् । ‘सचिनको २१औँ जन्मदिनको अवसर पारेर उनको र अञ्जलीको टिकोटालो गरिएको थियो । त्यस अवसरमा २५ जनामात्र उपस्थित थिए,’ एनाबेलले पुस्तकमा भनेकी छन् ।

यसैगरी, एनाबेलले सचिन र अञ्जलीको टिकोटालोको थुप्रै सुन्दर तस्बिर अझै पनि सचिनसँग रहेको तर, सचिनले कहिल्यै ती तस्बिर सार्वजनिक नगरेको पनि बताएकी छन् । टिकोटालोका लागि औँठी आफू र अञ्जलीले मिलेर किनेको पनि उनले स्मरण गरेकी छन् ।

‘त्यति बेला सचिन क्रिकेट खेल्न दुबईमा थिए । उनले मलाई र अञ्जलीलाई टिकोटालोका लागि औँठी किन्न पठाए । हामीले राम्रो औँठी किनेर ल्यायौँ । सचिनले अञ्जलीको औँलामा औँठी लगाइदिए र हातमा चुम्बन पनि गरे । त्यति बेलाका थुप्रै तस्बिर खिचिएको थियो । तर, ती तस्बिर सचिनले अझै सार्वजनिक गरेका छैनन्,’ एनाबेलले आफ्नो जीवनीमा उल्लेख गरेकी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप