नाडा अटो शो : गाडी किन्न ७.९९ प्रतिशत ब्याजदरमै कर्जा
काठमाडौँ । मंगलबारदेखि राजधानीमा वृहत् नाडा अटो शो, २०२४ सुरु भएको छ । हरेक वर्ष दसैंअघि आयोजना हुँदै आएको अटो शो यस वर्ष नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले भदौ ११ गतेदेखि १६ गतेसम्म आयोजना गर्दैछ ।
अटो शोमा दुई पाङ्ग्रे, चार पाङ्ग्रेदेखि कमर्सियल भेहिकल प्रदर्शनीमा राखिएको छ । यस पटकको अटो शोमा ईभी अर्थात् विद्युतीय सवारीको प्रदर्शन बढी देखिएको छ । सवारी आयातकर्ता व्यवसायीहरूले भारत र चीनमा निर्मित न्यून रेन्जदेखि प्रिमियम क्लासका महँगा विद्युतीय सवारी अटो शोमा उतारेका छन् ।
टाटा पन्च, लिप मोटर्सको सी–१०, जिकर एक्स, क्यूट–०४, एक्सपेङ जी–६, जीएसी एवोन–भी, एमजी जेडएस ईभी, एमजी साइबरस्टर, स्मार्ट ह्याज थ्री, नामी ई–वान, बीवाईडी अट्टो–३ ब्ल्याक, सुजुकी स्वीफ्ट, दिपल एस–०७, एचईभी–३००, महिन्द्रा एक्सयूभी थ्रीएक्सओ जस्ता नयाँ मोडल तथा ब्राण्डहरु अटो शोमा उतारिएको छ ।
केही भारतमा र अधिकांश चीनमा उत्पादित यी गाडीहरुको मूल्य न्यूनतम २२ लाख रुपैयाँदेखि अधिकतम १ करोड ७० लाख रुपैयाँसम्म रहेको छ । तर, कम्पनीहरूले नाडा अटो शो विशेष अफर र दसैंतिहार तथा छठको चाडवाड विशेष अफरमा छुट तथा सुविधाको घोषणा गरेका छन् । मोडल र उत्पादन अनुसार ग्राहकहरुले गाडी खरिद तथा बुकिङमा विशेष सुविधा पाउनेछन् ।
सँगै बैंक तथा वित्तीय संस्थाहरुले अटो शोमा गाडी किन्ने ग्राहकलाई सहजता दिनका लागि विभिन्न योजना ल्याएका छन् ।
न्यूनतम ७.९९ प्रतिशत ब्याजदरमा सवारी कर्जा
नाडा अटो शोमा सवारी किन्न चाहने ग्राहक तथा उपभोक्तालाई ‘अन दी स्पट’ सहज फाइनान्सिङ सुविधा उपलब्ध गराउने उद्देश्यसहित ८ वटा बैंक तथा वित्तीय संस्थाले स्टल राखेका छन् ।
ठूला वाणिज्य बैंकहरुमा नबिल बैंक, ग्लोबल आईएमई बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, माछापुच्छ«े बैंक, सानिमा बैंक, लक्ष्मी–सनराइज बैंक र कृषि विकास बैंकले अटो शोमा भाग लिएका छन् । ‘ख’ वर्गको महालक्ष्मी विकास बैंकले समेत अटो शोमा भाग लिएको छ । यी बैंकहरुले सवारी कर्जामा न्यूनतम ७.९९ प्रतिशतदेखि ९.९९ प्रतिशतसम्म ब्याजदर अफर गरेका छन् ।
- ग्लोबल आईएमई बैंक
ग्लोबल आईएमई बैंकले नाडा अटो शोको मुख्य प्रदर्शनी हलभित्रै स्टल राखेको छ । सवारी खरिद गर्न वा अवलोकन गर्न आउनेहरुलाई फाइनान्सिङको काउन्सेलिङ गरिरहेको बैंकले न्यूनतम ७.९९ प्रतिशतको ब्याजदरमा सहज अटो कर्जा उपलब्ध गराउने बताएको छ । यो फिक्स्ड (स्थिर) ब्याजदरमा हो ।
‘७.९९ प्रतिशतको ब्याजदर ईभी (विद्युतीय सवारी) मा मात्र हो । आईसीई (पेट्रोलियम सवारी) मा भने ८.४९ प्रतिशत ब्याजदर प्रस्ताव गरेका छौँ,’ बैंकका प्रतिनिधिले रातोपाटीसँग भने । तथापि, यो योजना नाडा अटो शोको अवसरमा भदौ ११ देखि १६ गतेसम्म ६ दिनका लागि मात्र रहेको उनले बताए । यस अवधिमा कर्जा प्रस्ताव गर्नेले १५ दिनको अवधिमा कर्जा पाउनेछन् ।
- नबिल बैंक
नबिल बैंकले ईभी र आईसीई दुवै सेग्मेन्टका सवारीका लागि एकै खालको ब्याजदर प्रस्ताव गरेको छ । ५ वर्षे र ७ वर्षे स्थिर ब्याजदर प्रस्ताव गरेको बैंकले ५ वर्षका लागि ८.२५ प्रतिशत र ७ वर्षका लागि ८.४९ प्रतिशत ब्याजदर तोकेको छ । अटो कर्जाका लागि सजिलै फाइनान्सिङ सुविधा प्रदान गर्ने जनाएको बैंकले ग्राहकसँग सेवा शुल्क बापत ०.७५ प्रतिशत लिने जनाएको छ ।
यसको अलावा नबिल ढुक्क घर कर्जा शीर्षकमा ७.९९ प्रतिशतदेखि ८.४९ प्रतिशतसम्मको ब्याजदरमा बैंकले १० वर्षसम्मका लागि स्थिर ब्याजदरमा कर्जा उपलब्ध गराउने बैंकका प्रतिनिधि कविन श्रेष्ठले रातोपाटीसँग बताए ।
- नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी)
यस बैंकले अटो कर्जामा ईभी सवारीलाई विशेष प्राथमितामा राखेको छ । नाडा अटो शोमा स्टल राखेर अटो कर्जाको स्कीम बेचिरहेको बैंकले विद्युतीय गाडीमा ७.६४ प्लस १ अर्थात् आफ्नो बेस रेट (आधार दर) मा १ प्रतिशत मात्र प्रिमियम चार्ज गरेर कर्जा उपलब्ध गराउने जनाएको छ । अरु पेट्रोलियम गाडी (आईसीई) मा भने बैंकले बेस रेटमा २ प्रतिशत प्रिमियम चार्ज गर्ने बैंकका रिलेसनसिप म्यानेजर सुशीला श्रेष्ठले रातोपाटीसँग बताइन् ।
‘हामी उपभोक्तालाई सरल किस्ताबन्दीमा सुलभ ब्याजदरमा कर्जा प्रदान गर्छौं । तोकिएको ब्याजदर ग्राहकले स्थिर र अस्थिर दुवै प्रक्रियामा लिन सक्छन्,’ श्रेष्ठले भनिन्, ‘यस्तो कर्जा सहजीकरणमा बैंकले जम्मा ०.२५ प्रतिशत मात्र सेवा शुल्क लिन्छ ।’
अटो शो विशेष कर्जा नीति भए पनि यो स्कीम दसैं, तिहार र छठसम्मै चल्ने उनले बताइन् ।
- सानिमा बैंक
सानिमा बैंकले अटो कर्जामा ८.४९ प्रतिशतको ब्याजदर प्रस्ताव गरेको छ । खासगरी विद्युतीय सवारीका लागि विशेष कर्जा नीति ल्याएको बैंकले ‘गो इलेक्ट्रिक, गो ग्रीन’ नारासहित आफ्नो स्कीम ल्याएको छ । विद्युतीय गाडीमा बैंकले ८० प्रतिशतसम्म कर्जा लगानीको घोषणा गरेको छ । अर्थात् विद्युतीय सवारी खरिद गर्न चाहने ग्राहकले जम्मा २० प्रतिशत डाउन पेमेन्टमा सानिमा बैंकबाट ८० प्रतिशतको सहज र सरल फाइनान्सिङ सुविधा पाउनेछन् ।
तर, यस्तो कर्जा ७ वर्ष अवधिका लागि मात्र प्रवाह गर्ने नीति रहेको बैंकले जनाएको छ । दसैं, तिहार र छठ जस्तो मुख्य चाडवाडलाई लक्षित गरेर बैंकले ल्याएको फेस्टिभ अफर छठसम्म लागू रहने जनाएको छ ।
- माछापुच्छ्रे बैंक
माछापुच्छ्रे बैंकले ईभी गाडीका लागि ६ वर्षसम्मको मात्र कर्जा लगानी नीति अघि सारेको छ । तर, आईसीई गाडीका लागि ८ वर्षसम्म कर्जा लगानी गर्ने बैंकले जनाएको छ । दुवै सेग्मेन्टका सवारीका लागि समान ९ प्रतिशत ब्याजदर तोकेको बैंकले सेवा शुल्क बापत ग्राहकसँग जम्मा ०.२५ प्रतिशत मात्र सेवा शुल्क दिने दाबी गरेको छ ।
आईसीई गाडीका लागि ५० प्रतिशतसम्म कर्जा लगानी गर्ने जनाएको बैंकले ईभीका लागि भने अधिकतम ७० प्रतिशतसम्म लगानी गर्ने जनाएको छ । ५० हजार रुपैयाँदेखि १५ लाख रुपैयाँसम्म सजिलै कर्जा दिने जनाएको बैंकले सबै ब्रान्चबाट प्रोसेस गर्न सकिने कर्जा शाखाका कर्मचारी ओशन उप्रेतीले जानकारी दिए ।
- लक्ष्मी सनराईज बैंक
लक्ष्मी सनराईज बैंकले ईभी गाडीका लागि मात्र कर्जा लगानी गर्ने नीति अघि सारेको छ । तीन दिनभित्र कर्जाको सबै प्रोसेस पुरा गर्ने दाबी गरेको बैंकले आफ्नो बेस रेट (९.२५ प्रतिशत) मा १ प्रतिशत मात्र प्रिमिय चार्ज गर्ने जनाएको छ ।
बैंकले ईभीमा ७ वर्षका लागि ८० प्रतिशतसम्म कर्जा लगानी गर्ने जनाएको छ । यो सुविधा दसैंतिहार र छठसम्म रहनेछ । बैंकबाट कर्जा लिने ग्राहकले १ वर्षसम्म निःशुल्क भिसा, एटीएम कार्ड, आई–बैंक र मोबाइल बैंकिङ सुविधा समेत पाउनेछन् ।
- कृषि विकास बैंक
सरकारी बैंक कृषि विकास बैंकले अटो विशेष न्यूनतम ७.९९ प्रतिशत ब्याजदरमा नै कर्जा उपलब्ध गराउने बताएको छ । ईभीका लागि ७.९९ प्रतिशत ब्याजदर अफर गरेको बैंकले आईसीईका लागि ८.९९ प्रतिशत ब्याजदर अफर गरेको हो ।
स्थिर र अस्थिर दुवै किसिमबाट कर्जा लिन सकिने सुविधा दिएको बैंकले ७ वर्षसम्मको कर्जा अवधि राखेको छ । सवारी खरिदमा बैंकले ८० प्रतिशतसम्म लगानी गर्नेछ । यो योजना असार मसान्तसम्म रहेको छ ।
- महालक्ष्मी विकास बैंक
नाडा अटो शोमा भाग लिएको महालक्ष्मी विकास बैंकले अटो कर्जामा वार्षिक ९.९९ प्रतिशतको ब्याजदर घोषणा गरेको छ । ठुला वाणिज्य बैंकहरुसँग प्रतिस्पर्धा गरेर कर्जा लगानीका लागि कसरत गरेको बैंकले ईभी गाडीका लागि विशेष प्राथमिकता दिएको छ । ‘जिन्दगी सरर...अब मोटर गाडीमा’ कर्जा लगानी अफर ल्याएको बैंकले सरल र सहज फाइनान्सिङ्ग सुविधा प्रदान गरिने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बैंक अफ द ईयर २०२४ को अवार्ड सिटिजन्स बैंकलाई
-
अघि बढ्यो विद्यालय शिक्षा विधेयकमाथिको छलफल
-
चीन भ्रमणबारे प्रधानमन्त्री ओलीले जारी गरे १४ बुँदे प्रेस नोट
-
कुन्तीदेवी फाउन्डेसनको लैंगिक हिंसा न्यूनीकरण विषयक सचेतना कार्यक्रम सम्पन्न
-
गायिका लक्ष्मीले ल्याइन् 'हे गोरी'
-
अर्थतन्त्रका समस्या समाधान गरी मुलुकलाई चलायमान बनाउँछौँ : अर्थमन्त्री पौडेल