श्रम मन्त्रालयको छानबिन नसकिँदै केयरगिभरको ‘लक्की ड्र’
काठमाडौँ । इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदार (केयरगिभर) लागि परेका आवेदनहरूमाथि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले छानबिन गरिरहेको छ । श्रम मन्त्रालयका उप–सचिव मेघनाथ रिमालको संयोजकत्वमा रहेको पाँच सदस्यीय समितिले छानबिन गरिरहेको हो ।
मन्त्रालयको छानबिन नसकिँदै इजरायलको जनसङ्ख्या तथा अध्यागमन प्राधिकरण (पीबा) ले लक्की ड्र गरेको छ । जसबाट दुई हजार २०२ जनाको आवेदन छनौट गरेको छ । जसमा ६० प्रतिशत महिला र ४० प्रतिशत पुरुष राखिएको छ ।
वैदेशिक रोजगार विभागले नेमचेकका लागि पेस गरेका तीन हजार ४६१ जनामध्ये दुई हजार २०२ जनाको नाम छनौट गरेको हो ।
समितिले हालसम्म ३०३१ जनाको कागजात छानबिन गरिसकेको छ । जसमा ४३ जनाको कागजपत्रमा कैफियत देखिएको छ ।
उनीहरूमा उच्च शिक्षाको प्रमाणपत्र नदेखिएको, चारित्रिक प्रमाणपत्र नभएको, तालिम प्रदायक संस्था सूचीकृत नभएको, तालिमको अवधि पुरा नभएको जस्तो कारण देखिएको समितिले जनाएको छ ।
समितिले छानबिन गरिरहेकै बेला लक्की ड्र गरेको हो । बिहीबार गरिएको ‘लक्की ड्र’ को विवरण नेपाल सरकारलाई उपलब्ध हुन सकेको छैन ।
विभागका इजरायल÷जापान हेर्ने शाखाका निर्देशक गिरिराज ज्ञवालीले लक्की ड्र गरिएकोबारे औपचारिक जानकारी नआएको बताए ।
‘मन्त्रालयबाट समन्वय भइरहेको होला । हिजो लक्की ड्र भयो भन्ने थियो । त्यसको आधिकारिक जानकारी आएको छैन । हाम्रो छानबिन समितिको प्रतिवेदन आएपछि दुवै पक्षको समन्वयमा केही निर्णय हुन्छ होला,’ ज्ञवालीले भने ।
विभागले आवेदन आह्वान गरेपछि चार हजार २४ जनाको आवेदन परेको थियो । जसमा तीन हजार ४६१ को स्वीकृत भएको थियो । ५६३ जनाको आवेदन रद्द गरिएको थियो । नक्कली कागजात पेस गरेको, सरकारी निकायबाट सम्बन्धन नलिई तालिम दिएको जस्ता कारण देखाउँदै विभागले उनीहरूको आवेदन रद्द गरिदिएको थियो ।
चौतर्फी रूपमा चासो व्यक्त भएपछि श्रम मन्त्रालयले छानबिन समिति गठन गरेको थियो । उक्त समितिले अझै प्रतिवेदन बुझाई सकेको छैन ।
इजरायलले लक्की ड्र गरेको तर, त्यसको नतिजा भने श्रम मन्त्रालयको छानबिन सकिएपछि मात्रै बुझाउने तयारी गरेको छ । ‘मन्त्रालयको छानबिन सकिएपछि मात्रै लक्की ड्र गरेको विवरण पठाउँछन् होला,’ मन्त्रालयका एक अधिकारीले नाम उल्लेख नगर्ने सर्तमा भने ।
इजरायलले पछिल्लो समय नेपालबाट श्रमिकहरू लग्दै आएको छ । यसअघि सन् २०२० मा एक हजारभन्दा बढी केयरगिभर लगेको थियो । यो पटक समेत दुई हजार जनाको लागि आवेदन माग गरेको हो । जसमा एक हजार जना पहिलो चरणमा जान पाउनेछन् । वैकल्पिकमा रहेका एक हजार जनालाई दोस्रो चरणमा माग र आवश्यकताका आधारमा लैजाने इजरायलको तयारी छ ।
उनीहरुले मासिक पाँच हजार ८८० सेकेल (इजरायली मुद्रा) न्यूनतम तलब पाउनेछन् । जुन नेपालको दुई लाखभन्दा बढी हुन आउँछ । इजरायल जाने कामदारको करार अवधि पाँच वर्षको हुनेछ । इजरायलले छिटो र छोटो प्रक्रियाबाट नेपाली कामदार लैजान खोजेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण