रास्वपाले कसलाई बनाउँदै छ महामन्त्री र प्रवक्ता ?
काठमाडौँ । पार्टी प्रवक्ता समेत रहेका महामन्त्री डा. मुकुल ढकाललाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले नयाँ महामन्त्री नियुक्त गर्न ढिलाइ गरेको छ ।
हाल सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीले कार्यवाहक महामन्त्रीको जिम्मेवारी सम्हालिरहेका छन् । यस्तै मनिष झाले कार्यवाहक प्रवक्ता भएर भूमिका निर्वाह गरिरहेका छन् । तर‚ पार्टीले न त उनीहरूलाई दुबैलाई पूर्ण जिम्मेवारी दिएको छ न त नयाँ महामन्त्री र प्रवक्ता नियुक्त गरेको छ ।
रास्वपाले असोज १ र २ गते राष्ट्रिय भेलाको आयोजना गरेको छ । सोही भेलाको तयारी स्वरूप पार्टी सबै प्रदेशमा भेला र छलफलमा पार्टी नेतृत्व व्यस्त छन् । हालसम्म ४ प्रदेशको भेला सम्पन्न भइसकेको अवस्था छ । उपसभापति डोलप्रसाद(डीपी) अर्यालले असोजको राष्ट्रिय भेलाअघि महामन्त्री र प्रवक्तामा नयाँ जिम्मेवारी दिने कुनै तयारी पार्टीले नगरेको बताए ।
‘राष्ट्रिय भेला अघि नयाँ जिम्मेवारी तोकेर जाने कुनै तयारी छैन‚’ अर्यालले रातोपाटीसँग भने । पार्टीमा कवीन्द्र बुर्लाकोटी‚सुमना श्रेष्ठ र विपिन आचार्य तीन सहमहामन्त्रीहरू छन् । उनीहरूमध्ये अहिले बुर्लाकोटी कार्यवाहक महामन्त्री भएर काम गरिरहेका हुन् । उनी सहित महामन्त्रीमा आकांक्षा आचार्य र श्रेष्ठले पनि देखाएका छन् ।
यस्तै‚ पार्टी प्रमुख सचेतक सन्तोष परियार‚ सांसद शिशिर खनाल पनि महामन्त्रीको आकांक्षी भएको पार्टीका एक नेता बताउँछन् । यसबाहेक अन्य केन्द्रीय र संसदीय राजनीतिमा सक्रिय पार्टी नेताहरू महामन्त्री बन्ने आकांक्षा पालेर बसेका छन् । त्यसैले पनि कसलाई महामन्त्री बनाउने भन्नेमा पार्टीभित्र बहस भने जारी रहेको बुझाइ ती नेताको छ ।
सहायक प्रवक्ता प्रतिभा रावल, अनुशासन समितिका उपप्रमुख यज्ञमणि न्यौपाने लगायतले समेत महामन्त्रीमा आकांक्षा राखेको ती नेताले बताए । न्यौपानेले महामन्त्रीका लागि जिम्मेवारी पाएमा पार्टीलाई गति दिनेगरी काम गर्ने बताउँदै आएका छन् । प्रवक्तामा भने कार्यवाहक प्रवक्ता झाले नै रुचि देखाएका छन् ।
‘दुई पदमा मनोनीत गरिँदा सभापति र उपसभापतिको फरक फरक लाइन पनि देखिने खतरा छ । यसबाहेक थप भन्न सकिँदैन‚’ एक नेताले रातोपाटीसँग भने । उनका अनुसार पार्टीभित्र छलफल भए पनि अन्तिम निर्णयको अधिकार सभापति रवि लामिछानेलाई छ । त्यसैले सभापति लामिछानेले रुचाएको व्यक्तिनै महामन्त्री र प्रवक्ता बन्नेछन् ।
पार्टी कार्यवाहक महामन्त्री कवीन्द्र वुर्लाकोटीले कसलाई जिम्मेवारी दिने सभापति लामिछानेको क्षेत्राधिकार भित्र पर्ने विषय भएको प्रतिक्रिया दिए ।
‘यो सभापतिज्यूको क्षेत्राधिकारभित्र पर्छ । थप गृहकार्य भएको जस्तो लाग्दैन‚’ उनले भने‚‘कार्यवाहक नै रहँदा पनि अहिलेको काम कारबाही एकदम राम्रो ढङ्गले चलेको छ कतै गाह्रो समस्या परेको छैन । त्यसैले यो विषय हतार गरिहाल्न पर्छ भन्ने चाहिँ लाग्दैन ।’
पार्टी संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले भने वैशाखमा हुने महाधिवेशनसम्म कार्यवाहकै भरमा पार्टी जान सक्ने सङ्केत गरे । ‘महाधिवेशन सम्म यसरी नै जान पनि सक्छ । अहिले यो विषय छलफलमा छैन‚’ उनले भने ।
यसअघि रास्वपाले पार्टी अनुशासन विपरीत काम गरेको भन्दै पार्टी महामन्त्री र प्रवक्ताको जिम्मेवारी खोस्दै डा. मुकुल ढकाललाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरिसकेको थियो ।