क्रिकेट वर्ल्ड कप लिग–२ : सन्दीपको अमेरिका भिसाबारे के भन्छन् सचिव खड्का ?
काठमाडौँ । नेपाली क्रिकेट टोलीले निकट भविष्यमा क्यानडा र अमेरिकामा आईसीसी क्रिकेट वर्ल्ड कप लिग–२ अन्तर्गतको शृङ्खला खेल्दैछ । भविष्यमा एकदिवसीय मान्यता कायम राख्न पनि नेपालका लागि लिग–२ शृङ्खला निकै महत्त्वपूर्ण छ ।
प्रतियोगितामा सहभागी हुन क्यानडा प्रस्थान गर्ने टोलीको बिदाइ पनि क्यानले गरिसकेको छ । नेपाली टोली क्यानडामा लिग–२ शृङ्खला खेलेर अमेरिका प्रस्थान गर्ने कार्यक्रम छ । तर, नेपाली टोलीका प्रभावशाली लेग–स्पिनर सन्दीप लामिछानेको अमेरिकाको भिसा (प्रवेशाज्ञा) भने अझै आएको छैन ।
सन्दीपले क्यानडामा लिग–२ शृङ्खला खेल्ने भने निश्चित भइसकेको छ । क्यानका सचिव पारस खड्काले अमेरिकामा हुने लिग–२ प्रतियोगितामा पनि सन्दीप सहभागी हुने विश्वास व्यक्त गरे । उनले सन्दीपको अमेरिकाको भिसाका लागि प्रयास भइरहेको बताए ।
खेलाडी बिदाइ कार्यक्रममा सञ्चारकर्मीद्वारा सोधिएको एक प्रश्नको जवाफमा सचिव पारसले भने, ‘सन्दीपको भिसाका लागि प्रक्रिया अगाडि बढिसकेको छ । सबैतिरबाट जवाफ पनि सकारात्मक आएको छ । सन्दीपले अमेरिकाको भिसा पाउनेमा हामी आशावादी छौँ ।’
उनले सन्दीपविरुद्ध न्यायालयमा चलेको मुद्दाको पनि किनारा लागिसकेकाले अमेरिकाले उनलाई भिसा दिने विश्वास व्यक्त गरे । ‘न्यायालयले सन्दीपविरुद्ध चलेको मुद्दाको निर्णय पनि गरिसकेको छ । त्यसैले भिसामा कुनै समस्या हुँदैन भन्ने हाम्रो विश्वास छ,’ उनले भने ।
यसअघि अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रूपमा आयोजित आईसीसी टी–२० विश्वकप खेल्न अमेरिकाले सन्दीपलाई भिसा दिन अस्वीकार गरेको थियो । सचिव खड्काले आईसीसी क्रिकेट वर्ल्ड कप लिग–२ मा नेपाली टोलीले गतिलो प्रदर्शन गर्ने विश्वास पनि व्यक्त गरे ।
उनले क्यानडा भ्रमणका क्रममा नेपालले लिग–२ शृङ्खलाअघि एउटा अभ्यास खेल खेल्ने जानकारी पनि दिए । क्यानडामा लिग–२ शृङ्खला सकिएपछि नेपालले क्यानडा र ओमानसँग त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय शृङ्खला खेल्ने जानकारी पनि उनले दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जुम्लामा दसैँको समयमा मात्रै १६ करोडभन्दा बढीका भेडा तथा खसीबोकाको कारोबार
-
सुत्नुअघि ग्लीसिरिनमा यसलाई मिसाएर अनुहारमा लगाउनुस्, हट्नेछ सबै चाउरी
-
सर्वाधिक मेडन ओभरको कीर्तिमान : चर्चित खेलाडीभन्दा नसुनिएका नाम बढी !
-
काठको अवैध ओसारपसार गरिरहेको अवस्थामा ट्याक्टरसहित एकजना पक्राउ
-
इजरायलमा ड्रोन आक्रमण : ४ सैनिकको मृत्यु, ६० जनाभन्दा बढी घाइते
-
यस्तो छ आज तरकारी तथा फलफूलको मूल्यसूची