केयरगिभरका लागि ‘लक्की ड्रमा’ परेका करिब १०० जनाको प्रमाणपत्रमा कैफियत
काठमाडौँ । इजरायलमा जानका लागि केयरगिभरमा आवेदन दिएर लक्की ड्रमा परेका करिब १०० जनाको प्रमाणपत्रमा कैफियत भेटिएको छ । आवेदन दिएर लक्की ड्रमा परेका चार हजार २४ जनामध्ये करिब १०० जनाको प्रमाणपत्रमा कैफियत भेटिएको छानबिनका क्रममा पाइएको हो ।
नक्कली प्रमाणपत्र पेस गरेको विषयमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले छानबिन गरेको थियो । मन्त्रालयका उपसचिव मेघनाथ रिमालको संयोजकत्वमा गठित समितिले प्रतिवेदन बुझाएको छ । छानबिनको क्रममा आवेदन दिएर छनौट सूचीमा परेका करिब १०० जनाको प्रमाणपत्रमा कैफियत भेटिएको समितिले जनाएको छ ।
कतिपयको उच्च शिक्षाको प्रमाणपत्र नदेखिएको, चारित्रिक प्रमाणपत्र नभएको, तालिम प्रदायक संस्था सुचीकृत नभएको, तालिम प्रमाणपत्रमा उल्लेख भएको राहदानी सो प्रमाणपत्रभन्दा पछिको मितिमा जारी भएको, तालिमको अवधि पूरा नभएको लगायत कैफियत भेट्टाएको हो । सोही आधारमा प्रतिवेदन तयार पारेर मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौलालाई बुझाएको छ । सचिव निरौलाले प्रतिवेदन अध्ययन गरेर आवश्यक निर्णय गर्नेछन् ।
मन्त्रालयको छानबिन चलिरहेकै बेला ईजरायलस्थित जनसङ्ख्या तथा अध्यागमन प्राविधिकरण (पीबा) ले लक्की ड्र गरेको थियो । भदौ १३ गते गरिएको लक्की ड्रबाट दुई हजार २०२ जनाको नाम छनोट गरेको थियो । तर, उक्त सूची हालसम्म पनि नेपाल पठाएको छैन । नेपालमा अनुसन्धान चलिरहेको र अनुसन्धान सकिएपछि त्यसको निर्णयका आधारमा सूची नेपाल पठाउने तयारी पीबाको छ ।
मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले समितिले छानबिन प्रतिवेदन पेस गरेको र अध्ययनपछि आवश्यक निर्णय गरिने बताए । समितिले छानबिनको क्रममा करिब १०० जनाको समस्या देखाएको प्रवक्ता घिमिरेले बताए ।
इजरायलले दुई हजार जना केयरगिभरको माग गरेको थियो । त्यसका लागि चार हजार २४ जनाको आवेदन परेको थियो । जसमध्ये वैदेशिक रोजजार विभागले तीन हजार ४६१ जनाको नाम छनोट गरेर गत साउन २१ गते ‘नेमचेक’ का लागि पीबालाई पठाएको थियो ।
विभागले पठाएको सूचीमाथि पीबाले समेत छानबिन गरेको थियो । पीबाले यसअघि इजरायल आए/नआएको, इजरालयमा कुनै क्रिमिनल हिस्ट्री भए/नभएको, कुनै आफन्त इजरायलमा रहे/नरहेको लगायतका विषयमा छानबिन गरेको थियो ।
उक्त छानबिनपछि पीबाले लक्की ड्र गरेको थियो । लक्की ड्रबाट दुई हजार २०२ जनाको नाम छनौट गरेको थियो । जसमा एक हजार १९६ महिला र एक हजार ६ जना पुरुष परेका छन् ।
आवेदन परेकामध्ये विभागले ५६३ जनाको आवेदन रद्द भएको थियो । तीमध्ये २४२ जनाको कागजात नपुगी रद्द गरिएको थियो भने ३२१ जनाको अन्य कारणले रिजेक्ट गरिएको थियो ।
त्यसपछि मन्त्रालयले छानबिन समिति गठन गरेको थियो । समितिले छानबिनको क्रममा यसअघि रद्द गरिएका तथा नक्कली प्रमाणपत्र पेस गरेका आवेदकहरू तथा संस्थासँग समेत सोधपुछ गरेको थियो ।
केयरगिभरका लागि आवेदन दिन नर्सिङ, सीएमए र अनमिको कोर्स पूरा नगरेकाहरूलाई ३ महिनाको केयरगिभर तालिम अनिवार्य गरिएको छ । तर, तालिम नै नदिई वा छोटो समय तालिम दिएर ३ महिने तालिम दिएको प्रमाणपत्र बिक्री गरेको पाइएपछि विभागले ती आवेदन रद्द गरेको थियो ।
केयरगिभरको तालिमका लागि ३० हजारदेखि ४० हजार रुपैयाँसम्म तिरेर सर्टिफिकेट किनेको पाइएको थियो ।