शुक्रबार, २१ मङ्सिर २०८१
ताजा लोकप्रिय
आईसीसी महिला टी–२० विश्वकप

श्रीलंकासँगै बंगलादेश पनि उपाधि होडबाट बाहिरियो

न्युजिल्यान्डको सेमिफाइनल सम्भावना कायमै
आइतबार, २७ असोज २०८१, १० : १४
आइतबार, २७ असोज २०८१

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई)मा जारी महिला टी–२० विश्वकपको शनिबार राति खेलिएको खेलमा दक्षिण अफ्रिका र न्युजिल्यान्ड विजयी भएका छन् । उक्त खेलपछि श्रीलंकासँग बंगलादेश पनि उपाधि होडबाट बाहिरिने निश्चित भएको छ ।

समूह ‘बी’ अन्तर्गतको खेलमा साबिक उपविजेता दक्षिण अफ्रिकाले दक्षिण एसियाली राष्ट्र बंगलादेशलाई सात विकेटले हरायो । टस जिती पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित ओभरमा तीन विकेट गुमाएर एक सय ६ रनमात्र बनाउन सक्यो ।

जवाफी ब्याटिङमा ओर्लिएको दक्षिण अफ्रिकाले भने १७.२ ओभरमै तीन विकेट गुमाएर विजय लक्ष्य पुरा गरेको थियो । दक्षिण अफ्रिकाको जितमा ओपनर ताजमिन ब्रिट्सले ४२ रनको योगदान गरिन् । उनले ४१ बलको सामना गरी पाँच चौका पनि हिर्काएकी थिइन् ।

बंगलादेशी बलर फाहिमा खातुनले दुई विकेट लिइन् । त्यसअघि बंगलादेशका लागि सोभना मोस्तरीले ३८ र कप्तान निगार सुल्तानाले अविजित ३२ रन बनाएका थिए । बंगलादेशका लागि साथी रानीले पनि १९ रन बनाएकी थिइन् ।

जितसँगै दक्षिण अफ्रिकाले सेमिफाइनल प्रवेशको सम्भावना पनि बलियो बनाएको छ । समूह ‘बी’ तालिकामा चार खेल खेलेको दक्षिण अफ्रिका ६ अङ्कसहित पहिलो स्थानमा आसीन छ । तीन खेल खेलेको वेस्ट इन्डिज चार अङ्कसहित दोस्रो र केवल दुई खेल खेलेको इङ्ल्यान्ड चार अङ्कसहित तेस्रो स्थानमा छन् ।

चार खेल खेलेको बंगलादेश भने दुई अङ्कसहित तालिकाको चौथो स्थानमा छ । दक्षिण अफ्रिकासँग पराजित भएपछि बंगलादेश पनि उपाधि होडबाट बाहिरिएको छ । अघिल्ला तीन खेलमै पराजित भएको स्कटल्यान्ड भने यसअघि नै उपाधि होडबाट बाहिरिइसकेको छ ।

यसैगरी, अर्को खेलमा न्युजिल्यान्डले श्रीलंकालाई आठ विकेटले पराजित गर्‍यो । जारी प्रतियोगितामा श्रीलंकाको प्रदर्शन निकै लज्जास्पद रह्यो । टस जिती पहिले ब्याटिङ रोजेको श्रीलंकाले निर्धारित ओभरमा पाँच विकेट गुमाएर एक सय १५ रन बनाएको थियो ।

388932

जवाफी ब्याटिङमा ओर्लिएको न्युजिल्यान्डले भने १७.३ ओभरमै केवल दुई विकेट गुमाएर एक सय १८ रन बनाउँदै विजय लक्ष्य पार गर्‍यो । न्युजिल्यान्डको जितमा ओपनर जर्जिया प्लिमरले अर्धसतकीय योगदान गरिन् । उनले ४४ बलमा चार चौकाको मद्दतले ५३ रन बनाइन् ।

एमेलिया केरले पनि किविज टोलीको खातामा अविजित ३४ रन थपिन् । कप्तान सोफी डेभिन १३ रनमा अविजित रहिन् । त्यसअघि पहिले ब्याटिङ गरेको श्रील्ंकाका लागि कप्तानसमेत रहेकी ओपनर चामरी आथापाथुले सर्वाधिक ३५ रन बनाएकी थिइन् ।

समूह ‘ए’ मा श्रीलंकाबाहेक (चार खेल) सबै टोलीले तीन–तीन खेल खेलेका छन् । ६ अङ्कसहित साबिक विजेता अस्ट्रेलिया पहिलो र चार अङ्कसहित भारत दोस्रो स्थानमा छन् । चार अङ्कसहित न्युजिल्यान्ड तेस्रो स्थानमा छ ।

तीन खेलबाट दुई अङ्क बटुलेको पाकिस्तान तालिकाको चौथो स्थानमा आसीन छ । पाकिस्तानको पनि अगाडि बढ्ने सम्भावना जीवितै छ । आफ्नो चारवटै खेलमा पराजित भएको श्रीलंका भने यसअघि नै उपाधि होडबाट बाहिरिइसकेको छ । दुवै समूहबाट अङ्क तालिकाको माथिल्लो स्थानमा रहने दुई–दुई टोली प्रतियोगिताको सेमिफाइनलमा पुग्ने प्रावधान रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप