झापामा सात करोडको सौर्य विद्युत् उत्पादन
झापा । सौर्य ऊर्जा उत्पादन गर्दै आएको झापा इनर्जी लिमिटेडले नौ महिनामा रु सात करोड ११ लाख ३८ हजार सात सय १० मूल्य बराबरको विद्युत् उत्पादन गरेर नेपाल विद्युत् प्राधिकरणलाई बिक्री गरेको छ । शिवसताक्षी नगरपालिका–४ बुलुचोकमा उक्त कम्पनीको सौर्य विद्युत् परियोजना सञ्चालनमा रहेको छ । गत वर्षको माघ २३ गते प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त परियोजनाको उद्घाटन गरेका थिए ।
कम्पनीका प्रबन्ध सञ्चालक सुभाष भट्टराईले गत वर्षको माघ १० गतेदेखि विद्युत् उत्पादन सुरु गरेको बताए । गत माघ १० गतेदेखि यस वर्षको कात्तिक २० गतेसम्मको अवधिमा परियोजनाले एक करोड १९ लाख सात हजार सात सय ८१ युनिट विद्युत् उत्पादन गरेको उनले जानकारी दिए ।
परियोजनाबाट उत्पादित विद्युत् नजिकै रहेको नेपाल विद्युत् प्राधिकरणको बुलुचोक सबस्टेसनमार्फत राष्ट्रिय ग्रिडमा जोडिने गरेको छ । परियोजनाको १० मेगावाट विद्युत् उत्पादन क्षमता रहेको छ । हिउँदभन्दा वर्खे अवधिमा चर्को घाम लाग्ने भएकाले सौर्य विद्युत् बढी मात्रामा उत्पादन हुने गरेको छ ।
“हिउँदमा अधिकतम दैनिक ५९ हजार युनिटसम्म उत्पादन भएको छ”, कम्पनीका प्रबन्ध सञ्चालक भट्टराईले भने, “तर, बर्खाको चर्को घाम लागेका बेला दैनिक एक लाखभन्दा बढी युनिट विद्युत् उत्पादन हुने गर्दछ ।”
प्राधिकरणले विद्युत् खरिद सम्झौता बमोजिम कम्पनीबाट उत्पादित विद्युत्प्रति युनिट सात रुपैयाँ ३० पैसाका दरले खरिद गर्दै आएको छ । शिवसताक्षी–४ बुलुचोकमा कम्पनीले खरिद गरेको २२ बिघा जग्गामा परियोजना रहेको छ । त्यहाँ सूर्यको प्रकाशबाट आउने किरणलाई संश्लेषण गर्नका लागि ठूलो क्षेत्रफलमा सौर्य प्यानल राखिएका छन् ।
प्रबन्ध सञ्चालक भट्टराईका अनुसार परियोजनामा रु ८७ करोड लगानी भएको छ । त्यसमा माछापुच्छ्रे बैंक र हिमालयन बैंकले रु ६२ करोड ऋण लगानी गरेका छन् । जनस्तरबाट पुँजी सङ्कलन गरी स्थापना गरिएको झापा इनर्जी लिमिटेडमा विद्युत् उत्पादन गर्ने एक मात्र परियोजना हो । यसमा आठ सय सर्वसाधारणको रु ५० हजारदेखि रु ५० लाखसम्म शेयर लगानी रहेको छ ।
परियोजनामा दुई इन्जिनियरसहित १२ जनाले स्थायी रोजगारी प्राप्त गरेका छन् । विद्युत् उत्पादन प्रणाली स्वचालित भए पनि परियोजनास्थलको रेखदेख र आवश्यक मर्मत सम्भारका लागि कर्मचारी दिनरात खटिने गरेको भट्टराईले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा बसपार्क निर्माणका लागि स्थानीय आफैँले हटाउन सुरु गरे संरचना (तस्बिरसहित)
-
बलियो संघीयताको माग गर्दै जनमतले माइतीघरमा प्रदर्शन गर्ने
-
मोबाइलसँगै नष्ट भयो जन्मदर्ता पनि, प्रशासनले सुनेन अभिभावकको आग्रह
-
दक्षिण सुडानमा द्वन्द्व चर्किँदा तीन लाखभन्दा बढी विस्थापित
-
अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु
-
देश नयाँ राजनीतिक संस्कारतर्फ अघि बढ्दैछ : सञ्चारमन्त्री तिमिल्सिना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण