पूर्वसभामुख ढुङ्गानाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि सानो गौचरणमा

काठमाडौँ । पूर्वसभामुख दमननाथ ढुङ्गानाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि ज्ञानेश्वरस्थित सानो गौचरणमा ल्याइएको छ । कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत पूर्वसभामुख ढुङ्गानाको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा ८३ वर्षको उमेरमा आइतबार दिउँसो निधन भएको थियो ।
त्यसलगत्तै ढुङ्गानाको पार्थिव शरीर त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालस्थित शव गृहमा राखिएको थियो । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित विभिन्न राजनीतिक दलका नेता तथा समाजका विभिन्न क्षेत्रका व्यक्तिहरू अस्पतालमा आई उनीप्रति श्रद्धाञ्जली प्रकट गर्ने कार्यक्रम छ ।
अहिले सानो गौचरणमा सर्वसाधारणको बाक्लो उपस्थिति रहेको छ । सानो गौचरणमा श्रद्धाञ्जलीपछि पशुपति आर्यघाटमा उनको अन्त्येष्टि गरिनेछ । नेपाल सरकारले राजकीय सम्मानका साथ पूर्वसभामुख ढुङ्गानाको अन्त्येष्टि गर्ने निर्णय गरिसकेको छ ।
नेपालमा बहुदलीय व्यवस्था, लोकतन्त्र, शान्ति र मानवअधिकारका पक्षमा जीवनपर्यन्त वकालत गरिरहेका ढुङ्गानाले मुलुकमा विगतको माओवादी सशस्त्र द्वन्द्व अन्त्य गरी शान्ति बहाली गर्नसमेत महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
राजनीति क्षेत्रमा देखिएका विकृति र विसङ्गतिबारे स्पष्ट र खरो रूपमा प्रतिक्रिया दिँदै आएका उनी संविधान र कानुनका ज्ञाता थिए । विसं २०४८ मा काठमाडौँ निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि उनी प्रतिनिधिसभाको सभामुख बनेका थिए ।
नेपालको संसदीय व्यवस्था र प्रजातान्त्रिक मूल्य मान्यतालाई संस्थागत गर्न उनको उल्लेखनीय योगदान छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आइएमई पे र खल्तीबिचको मर्जरमा राष्ट्र बैंकले दियो अन्तिम कारोबारको स्वीकृति
-
हरित अर्थतन्त्रको प्रवर्द्धनमार्फत आर्थिक वृद्धिका चुनौतीको सामना गर्नसक्छौँ : उपप्रधानमन्त्री पौडेल
-
सर्पले डसेर १३ वर्षीय किशोरको मृत्यु
-
१४ सरकारी अस्पतालबाट सहुलियतमा क्यान्सरको उपचार हुने
-
बीसीसीआईले कोची टस्कर्सलाई ५३८ करोड भारु क्षतिपूर्ति तिर्नुपर्ने
-
कृषाको ‘जहाजैमा’मा जापानीज अभिनेत्री रजेलले अभिनय गर्ने