शुक्रबार, ११ माघ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
भक्तपुर हत्याकाण्ड

विष्णुकुमारीको हत्यारा खोज्दा पुराना ६ वटा घटना सुल्झिए

तर, १०० जनामाथि अनुसन्धान गर्दा पनि सुल्झिएन भक्तपुर हत्याकाण्ड
मङ्गलबार, २५ मङ्सिर २०८१, १३ : ३०
मङ्गलबार, २५ मङ्सिर २०८१

काठमाडौँ । कार्तिक २८ मा साँझ भक्तपुरको दरबार स्क्वायरमा ९४ वर्षीया विष्णु कुमारी त्वयना मृत फेला परिन् । आफू बस्ने घरको तेस्रो तलामा उनी मृत अवस्थामा भेटिएकी हुन् ।

हत्या भएको एक महिनासम्म पनि प्रहरीले आरोपीको पहिचान गर्न सकेको छैन । उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसन्धान अधिकृतहरूले त्यसबारे अनुसन्धान गरिरहेका छन् । 

घरको दुईतला भाडामा लगाएर त्वयना एक्लै तेस्रो तलामा बस्थिन् । हत्याराले दुवै खुट्टा बाँधेर मुखमा कपडा कोचेर उनको हत्या गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । हत्यापछि कानमा लगाएको ८ आनाको सुनको रिङ र थैलीमा भएको पैसा हत्यामा संलग्नले लुटेर लगेको भेटिएको छ । अनुसन्धानमा संलग्न एकजना अधिकृत भन्छन्, ‘थैलीको नगद र सुन लुटेको देखिन्छ ।’

विष्णु कुमारीको हत्यारा खोज्दै प्रहरीले अहिलेसम्म १ सय जनामाथि अनुसन्धान गरिसकेको छ । तर, उनीहरूबाट हत्याबारे कुनै पनि क्लु नभेटिएको प्रहरी अधिकृतहरू बताउँछन् । त्वयनाको हत्याबारे अनुसन्धान गर्दा थप ६ वटा पुराना घटना भने सुल्झिएका छन् ।

हत्या अनुसन्धानको क्रममा पक्राउ परेकाहरूमध्ये ५ वटा पुराना चोरीको घटनामा फरार र एउटा लागुऔषधको घटनामा संलग्न फरार आरोपी पक्राउ परे । जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डीराज नेउपाउने भन्छन्, ‘पुराना घटनामा फरार आरोपीहरू सो घटना अनुसन्धानको क्रममा खुलेका छन् ।’ प्रहरीका अनुसार ६ वटा पुरानो घटना सुल्झिएको छ ।

  • चोर र लुटेरा केन्द्रित अनुसन्धान

घरको दुईतला भाडामा लगाएर त्वयना एक्लै तेस्रो तलामा बस्थिन् । उनका ४ भाइ छोरा र बुहारी सूर्यविनायकमा बस्छन् । भक्तपुर नगरपालिका–३ दरबार स्क्वायरमा उनको अर्को पनि घर छ । दुवै घरको भाडा त्वयनाले नै उठाउँथिन् । आफू बस्ने घरको ६ हजार ५ सय र अर्को घरको २० हजार भाडा आउँथ्यो । उनको वृद्धभत्ता पनि आउँथ्यो ।

दुवै खुट्टा बाँधेर मुखमा कपडा कोचेर उनको हत्या गरेको हुनाले चोरी र लुट्ने व्यक्तिले हत्या गरेको आशङ्का गरिएको छ । प्रहरीले सो घटनाको अनुसन्धान चोर र लुटेरामा केन्द्रित गरेको छ । ‘चोरी गर्दै हिँड्नेहरू र लुटेरामा हाम्रो अनुसन्धान केन्द्रित छ’ अनुसन्धानमा संलग्न एकजना अधिकृत भन्छन्, ‘तर, अहिलेसम्म कुनै पनि क्लु भेटिएन ।’

उपत्यका अपराध अनुसन्धान कार्यालयका डीएसपीद्वय रुगम कुँवर र सुवास बुढाथोकीले अनुसन्धानको नेतृत्व गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप