आय विवरण पेस गर्ने म्याद थप
मङ्गलबार, २५ मङ्सिर २०८१, १९ : २०

काठमाडौँ । सरकारले आय विवरण पेस गर्ने म्याद थप गरेको छ । आन्तरिक राजस्व विभागले मंगलबार एक सूचना जारी गर्दै आय विवरण पेस गर्ने म्याद पौष मसान्तसम्म थप गरेको जनाएको हो ।
विभागको २३ गतेको निर्णयअनुसार आय विवरण पेस गर्ने म्याद थप गरिएको जनाइएको छ ।
निजी क्षेत्रका विभिन्न व्यावसायिक र व्यापारिक छाता संगठनहरु तथा करदाताहरूबाट आय विवरण पेस गर्ने म्याद पौष मसान्तसम्म कायम गरिदिन अनुरोध गरिएकाले वार्षिक एक करोडभन्दा बढीको कारोबार गर्ने करदाताहरूले आय विवरण पौष मसान्तसम्म बुझाउनुपर्ने छ ।
यसअघि विभागले वार्षिक २५ करोडसम्म कारोबार गर्ने करदाताहरू र कारोबार भएका निकायहरूको सम्बन्धमा मंसिर मसान्तसम्म र वार्षिक २५ करोडभन्दा बढीको कारोबार गर्ने करदाताहरूको सम्बन्धमा पौष २० गतेसम्म आय विवरण पेस गर्न पाउने म्याद थप गरेको थियो ।