सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

न्युजिल्यान्डविरुद्धको तेस्रो टेस्ट क्रिकेट : भ्रमणकारी टोली इङ्ल्यान्ड हारतर्फ उन्मुख

सोमबार, ०१ पुस २०८१, १३ : १२
सोमबार, ०१ पुस २०८१

काठमाडौँ । भ्रमणकारी टोली इङ्ल्यान्ड घरेलु टोली न्युजिल्यान्डविरुद्धको तेस्रो तथा अन्तिम टेस्ट क्रिकेटमा हारतर्फ उन्मुख देखिएको छ । जितका लागि ६ सय ५८ रनको विशाल लक्ष्य पछ्याउँदै दोस्रो पाली खेल्न आएको इङ्ल्यान्डले तेस्रो दिन सोमबारको खेल सकिँदासम्म केवल १८ रनमा दुई विकेट गुमाइसकेको छ ।

इङ्ल्यान्डलाई जितका लागि थप ६ सय ४० रन आवश्यक छ । दोस्रो पालीमा इङ्ल्यान्डका ओपनर ज्याक क्रावली पाँच र बेन डकेट चार रन बनाउँदै आउट भए । तेस्रो दिनको खेल सकिँदासम्म ज्याकब बेथेल नौ र जो रुट शून्य रनमा अविजित छन् ।

दोस्रो पालीमा न्युजिल्यान्डका बलर म्याट हेनरी र टिम साउथीले एक–एक विकेट लिए । त्यसअघि न्युजिल्यान्डको टोली आफ्नो दोस्रो पालीमा चार सय ५३ रन बनाउँदै अलआउट भएको थियो । न्युजिल्यान्डका लागि दोस्रो पालीमा अनुभवी ब्याट्सम्यान केन विलियम्सनले शतक बनाए ।

विलियम्सनले एक सय ५६ रनको योगदान गरे । लामो समय क्रिजमा सँघर्ष गरेका विलियम्सनले दुई सय चार बलमा एक छक्का र २० चौका पनि हिर्काए । ३४ वर्षीय विलियम्सनले टेस्ट क्रिकेटमा बनाएको यो ३३औँ शतक हो ।

न्युजिल्यान्डका लागि ओपनर ब्याट्सम्यान विल योङले पनि अर्धशतकीय पाली खेले । उनले ६० रन बनाए । उनले ८५ बलको सामना गरी नौवटा चौका पनि हिर्काए । ३२ वर्षीय योङले टेस्ट क्रिकेटमा बनाएको यो १०औँ अर्धशतक हो ।

यसैगरी, ड्यारल मिचेलले पनि अर्धशतकीय पाली खेले । उनले पनि ६० रन बनाए । उनले ८४ बलको सामना गरी दुई छक्का र सातवटा चौका हिर्काएका थिए । ३३ वर्षीय मिचेलले टेस्ट क्रिकेटमा बनाएको यो १४औँ अर्धशतक हो ।

न्युजिल्यान्डका लागि तल्लो क्रमका ब्याट्सम्यान मिचेल सान्टनरले पनि ४९ रनको योगदान गरे । युवा ब्याट्सम्यान रचिन रविन्द्र र विकेटकिपर ब्याट्सम्यान टम ब्लन्डेलले ४४–४४ रनको योगदान गरे । टम अन्तिमसम्म अविजित रहे ।

कप्तान टम लाथमले टोलीको खातामा १९ रन थपे । इङ्ल्यान्डका बलर ज्याकब बेथेलले तीन विकेट लिए । बेन स्टोक्स र सोएब बसिरले पनि दुई–दुई विकेट हात पारे । म्याथ्यु पट्स, गस एटकिन्सन र जो रुटले पनि एक–एक विकेट कुम्ल्याए ।

त्यसअघि, इङ्ल्यान्डले आफ्नो पहिलो पालीमा एक सय ४३ रनमात्र बनाउन सकेको थियो । पहिलो पालीमा इङ्ल्यान्डका लागि जो रुटले सर्वाधिक ३२ रन बनाएका थिए । कप्तान बेन स्टोक्स २७ रन बनाउँदै आउट भएका थिए ।

न्युजिल्यान्डका बलर म्याट हेनरीले चार विकेट लिए । उनले १३.४ ओभरमा एक मेडन राख्दै ४८ रन खर्चिए । विल ओ’रुर्क र मिचेल सान्टनरले तीन–तीन विकेट हात पारे ।

त्यसअघि, टस हारी ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले पहिलो पालीमा तीन सय ४७ रन बनाएको थियो । पहिलो पालीमा न्युजिल्यान्डका लागि मिचेल सान्टनरले ७६ रनको योगदान गरेका थिए । उनले एक सय १७ बलको सामना गरी दुई छक्का र १० चौका पनि हिर्काए ।

न्युजिल्यान्डका लागि पहिलो पालीमा ओपनर टम लाथमले पनि ६३ रनको योगदान गरे । उनले एक सय ३५ बलको सामना गरी नौ चौका पनि हिर्काएका थिए । केन िविलियम्सनले ४४ र विल योङ्ले ४२ रन बटुलेका थिए ।

पहिलो पालीमा इङ्ल्यान्डका बलर म्याथ्यू पट्सले चार विकेट लिएका थिए । उनले २८.१ ओभरमा सात मेडन राख्दै ९० रन खर्चिएका थिए । गस एट्किन्सनले तीन, ब्राइडन कार्सले दुई र बेन स्टोक्सले एक विकेट हात पारे ।

तीन टेस्टको शृंखला भने भ्रमणकारी टोली इङ्ल्यान्डले यसअघि नै जितिसकेको छ । पहिलो टेस्टमा इङ्ल्यान्ड आठ विकेटले विजयी भएको थियो । दोस्रो टेस्टमा पनि इङ्ल्यान्डले न्युजिल्यान्डलाई तीन सय २३ रनले पराजित गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप